२३ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

गर्मीसँगै बढ्यो ‘फुड पोइजन’

गर्मी सुरु भएसँगै मानिसमा स्वास्थ्य समस्या बढ्दै गएको छ। खासगरी काठमाडौंमा विवाह, व्रतबन्ध लगायत भोजभतेरमा खाँदा बिरामी हुने क्रम बढेको छ। सामूहिक रूपमै बिरामी हुँदा मेडिकलबाट औषधि किनेर खाए पनि निको नभएपछि उपचारका लागि अस्पताल आउन थालेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ।

गत साता उपचारका लागि पुगेका एक युवकले घटनाबारे जानकारी दिएको अस्पतालका अनुसन्धान शाखाका संयोजक डा. शेरबहादुर पुनले बताए। उनका अनुसार भोजको पहिलो दिन खाना खाने सबैजसो बिरामी परे। दोस्रो दिनको भोजमा कोही सहभागी भएनन्। भोज खाएकामध्ये २२ जना बिरामी परेका हुन्। उनका अनुसार ११ जनाको अवस्था गम्भीर छ। ती युवक आइतबार थप उपचारका लागि टेकु अस्पताल पुगेका थिए।

डा. पुनका अनुसार गत साता उपचारका लागि युवक अस्पताल पुगेका थिए। ती युवक फलोअपका लागि अस्पताल आएका थिए। उनीसहित २२ जनालाई पेट दुख्ने, बान्ता हुने, झाडापखाला लाग्ने समस्या भएको थियो। उनीहरू सबैले व्रतबन्धको भोज खाएका थिए। गर्मी मौसममा प्रायः ‘फुड पोइजन’को समस्या हुने र त्यसमा पनि विवाह, व्रतबन्ध लगायतको भोजमा सहभागी भएकाहरूमा यस्तो समस्या बढी देखिने चिकित्सक बताउँछन्।

गर्मी बढेसँगै फुड पोइजनका समस्या लिएर दैनिक औसतमा एक दर्जन बिरामी उपचारमा आइरहेको वीर अस्पताल मेडिसिन विभागले जनाएको छ। विभागका प्रमुख डा. धुव्र गैरेका अनुसार विवाह, व्रतबन्धमा सहभागी भएकाहरूमा फुड पोइजनको समस्या बढी आएको देखिन्छ। उनीहरूमा वाकवाकी लाग्ने, झाडापखालाले सताउने र पेट दुख्ने समस्या देखिएका छन्। गाह्रो परेपछि उनीहरू उपचारका लागि अस्पताल आउने गरेका हुन्।

चिकित्सकहरूका अनुसार उपत्यकामा गर्मी लागेपछि हरेक वर्ष फुड पोइजनको समस्या देखा पर्छ। उपत्यकामा पिउने पानी, खाजा तथा खानाको सेवा दिने खाजा पसल, क्याटरिङहरूले खाना र पानीको उचित सफाइ कायम नराखेका कारण यस्तो समस्या आउनुको मुख्य कारण हो।

उपत्यकामा गरिने भोजभतेरमा प्रयोग हुने सलाद, धनियाँ लगायत काँचै खाइने वस्तु प्रायः नजिकैको दूषित खोलामा पखालेर ल्याइएका हुन्छन्। त्यस्ता वस्तु प्रयोगअघि राम्रोसँग नपखालिँदा त्यो खाने मानिसमा जीवाणुको संक्रमण हुन्छ। खानेपानी पनि सफा नहुने समस्या छ। गर्मीले खाना पनि छिट्टैे बिग्रन्छ। यी विविध कारणले गर्दा भोजभतेरका खानेकुराबाट फुड पोइजनको समस्या हुने गरेको डा. गैरेले बताए।

‘दूषित खोलामा पखालेर ल्याइएका मुला, गाजर, धनियाँ आदिलाई बाँड्नुअघि राम्रोसँग पखालिँदैन, त्यस्तै खान दिइन्छ,’ उनले भने। धनियाँ, गाजरसँगै खोलाको दूषित पानीमा हुने जीवाणु पेटमा पर्छ र मानिसहरू बिरामी हुन्छन्। गर्मी मौसममा उपत्यकाका खाजाघरहरूमा पर्याप्त सरसफाइको व्यवस्थापन गरिएको पाइन्न। यसले गर्दा गर्मीसँगै ‘फुड पोइजन’को समस्या देखिने गरेको डा. पुन बताउँछन्।

‘खाजा पसलमा प्रयोग हुने पानी जारका हुन्छन्। जारमा राखिने सबै पानीको गुणस्तर राम्रो हुन्छ भन्ने हुन्न,’ उनले भने। नेपालमा पहिलेको तुलनामा यस्ता बिरामी कम आउने गरे पनि झाडापखालाका बिरामी भने आइ नै रहेको हेल्पिङ हेन्ड्स अस्पतालका निर्देशक डा. गुप्ताबहादुर श्रेष्ठले बताए।

खाद्य तथा गुण नियन्त्रण विभागले खाना तथा खाजाको सेवा दिने निकायहरूको अनुगमन तथा मापदण्ड पालनाको कमीले अहिले पनि कतिपय ठाउँमा स्वच्छ पानी र खाना उपलब्ध हुने नगरेको डा. गैरे बताउँछन्। ‘खाद्य तथा गुण नियन्त्रण विभागले यसलाई हेर्नुपर्ने हो तर कडा नियमन भएको पाइन्न,’ उनले भने।

खाद्य तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जन भने विभागले गुनासो आए स्थानीय सरकारसँग मिलेर प्राविधिक तहमा अनुगमन गर्ने गरिएको बताए। खाद्य निर्देशिकाअनुसार खाजाखाना उपलब्ध गराउने रेस्टुरेन्ट, खाजा पसल, ब्यांक्वेट आदिको अनुगमनका लागि विभिन्न २० वटा विधाभित्र रहेर भान्छा, भाँडाकुँडा, भण्डारण, सरसफाइ, पानी, कच्चा पदार्थलगायतको अवस्थाबारे अनुगमन गरिन्छ।

हरेक वर्ष विभागले देशभरमा ६ हजार पटक यस्तो अनुगमन गर्ने गरेको बताए। तर यस्ता खाद्यान्न पसल सञ्चालनका लागि अनुमति तथा दर्ता दिने प्रक्रिया स्थानीय निकायबाट हुने गर्छ।

यस्तो गर्मीजन्य रोगको नियन्त्रणका लागि उपभोक्तामा स्वच्छता र सफाइको जनचेतना आवश्यक छ नै, खानाको सेवा दिनेहरूले मादपण्ड कडाइपूर्वक पालना गर्नुपर्ने चिकित्सकले सुझाएका छन्। यसका साथै गर्मी याममा बासी सडेगलेका खाना नखाने, उमालेको पानी पिउने, सलाद तथा धनियाँ या काँचै खाने खानेकुरा राम्रोसँग पखालेर मात्र खाने, हातको सफाइमा ध्यान दिने गरे यस्ता संक्रामक रोगबाट बच्न सकिने चिकित्सकहरू सुझाउँछन्।

प्रकाशित: १४ वैशाख २०८१ ०७:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App