१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

के तपाइ दाँतको उपचारमा जादै हुनुहुन्छ ? मुख बांगो होला नी !

फाइल तस्बिर

डडेल्धुराकी २५ वर्षीया सम्झना पन्तका दाँत अमिल्दा थिए। दाँत देखाउन उनी गत असारमा महेन्द्रनगरस्थित विष्ट मेडिकलमा पुगिन्। मेडिकलकी ईश्वरी विष्टले उनको दाँत तारले बाँधिदिइन्। दाँत उपचारका नाममा उनको ८० हजार रूपैयाँ खर्च भयो। ६ महिनापछि उनले दाँतबाट तार निकालिन्। दाँत त सिधा भएनन् नै, उल्टै तलमाथि नजोडिने, मुख बांगो हुनेजस्ता समस्या देखिए।

मिलाउने नाममा ईश्वरीले सम्झनाका चारवटा दाँत पनि निकालिदिइन्। दाँत झन् बिग्रेपछि उक्त मेडिकलप्रति पन्तको विश्वास टुट्यो। उनले उपचारमा संलग्न विष्टलाई मेडिकल काउन्सिलमा दर्ता भएको प्रमाण देखाउन भनिन्। उनले काउन्सिलमा दर्ता भएको नम्बर दिइन्। र, पन्तलाई उपचारमा लागेको आधा पैसा फिर्ता दिने पनि बताइन्।

पन्त ईश्वरीले दिएको नम्बर भिडाउन नेपाल मेडिकल काउन्सिल पुगिन्। तर त्यो नम्बर कतै दर्ता भएको देखिएन। खोजी गर्दै जाँदा ईश्वरीले दाँत उपचारसम्बन्धी ६ महिनाको तालिम मात्र लिएको पाइयो। पन्तले आफूलाई ठगेको भन्दै कात्तिकमा ईश्वरीमाथि कारबाहीको माग गर्दै उजुरी दिइन्।  

तर अहिलेसम्म मेडिकल काउन्सिलले उजुरीउपर कारबाही गरेको छैन। नबुझेकै कारण आफू ठगिएको पन्तको भनाइ छ। ‘सेतो पोसाकमा मेरो उपचार भएको थियो। सामान सबै दाँत उपचारका थिए तर सेवा दिने व्यक्ति नक्कली भन्ने थाहा भएन,’ उनले भनिन्।

दाँत उपचारका नाममा निजी डेन्टल क्लिनिकबाट ठगिने पन्त एक्ली भने होइनन्। निजी अस्पतालमा दाँतमा तार बाँध्दा उल्टै दाँत बिग्रेको र किराले खाएको ठाउँमा निश्चित गरी दाँत भर्ने क्रममा भाँती नपुर्‍याउँदा झन् समस्यामा परेको गुनासो गर्ने धेरै छन्। दाँत टेढो, बांगो, बिग्रिएको छ भने मिलाउने चाहना सबैको हुन्छ। तर दाँत मिलाउन, भर्न निजी क्लिनिकमा पुगेका कतिपयको उपचारका नाममा उल्टै बिग्रिएको पाइएको छ। निजी डेन्टल क्लिनिकमाथि दाँतमा तार बाँध्ने र दाँत फिक्स गर्ने नाममा झन् बिगार्ने गरेको आरोप लाग्न थालेको छ।  

काउन्सिलका अनुसार यस वर्ष दाँतको गलत उपचार गरिदिएको भन्दै कारबाहीको माग गर्ने १५ जना पुगेका छन्। यसरी कारबाहीका लागि उजुरी दिने काठमाडौँ उपत्यकासहित बाहिरका पनि छन्।

गत पाँच वर्षको अवधिमा ६० जनाले दाँतको गलत उपचार गरिदिएको भन्दै कारबाहीका लागि उजुरी हालेको जानकारी काउन्सिलका सदस्य डा। प्रणय शाक्यले दिए। शाक्यका अनुसार धेरैजसो आकर्षक देखिने डेन्टल क्लिनिकमा अदक्ष स्वास्थ्यकर्मीले उपचार गर्दा ठगिएका छन्। ‘कतिपयलाई निश्चित दाँत राखिदिन्छु भनेर नक्कली दाँत राखिदिएको पाइएको छ,’ शाक्यले भने। कतिपय उपचारका नाममा धेरै पैसा असुलेका उजुरी छन्। केही उजुरी बांगो दाँत मिलाउन तार बाँध्दा झन् समस्या भएको भन्ने छन्।

डा.शाक्यका अनुसार देशैभरि खुलेका आकर्षक देखिने डेन्टल क्लिनिकबाट उपचारका नाममा ठगी भइरहेको पाइएको छ। यस्ता क्लिनिकमा सेतो कोट लगाएर बसेकाको हैसियत नबुझीकन उपचार गराउँदा पनि समस्या आएको शाक्य बताउँछन्। ‘हामी सेतो कोट लगाएको देख्यो कि आँखा चिम्लेर विश्वास गर्छौँ,’ उनले भने, ‘क्लिनिकमा जानेबित्तिकै काउन्सिलबाट प्राप्त लाइसेन्स मागिहाल्नुहोस्, कहिल्यै ठगिनुपर्दैन।’

काउन्सिलमा उजुरी परेपछि प्रहरीलाई कारबाहीका लागि सिफारिस गरे पनि खासै प्रगति नभएको उनले बताए। काउन्सिलबाट चिकित्सा कर्म गर्न अनुमतिपत्र नलिएकालाई कारबाही गर्ने अधिकार काउन्सिललाई छैन। गलत उपचार गर्ने धेरैजसो काउन्सिलबाट अनुमति नलिएका चिकित्सक र स्वास्थ्यकर्मी हुन्छन्।

डा.शाक्यका अनुसार दाँतको विशेष उपचार गर्न अर्थोडेन्टिस्ट तहको योग्यता हासिल गरेको हुनुपर्छ। तर नेपालमा सबै उपचार स्नातक तहसरह अध्ययन गरेका र सामान्य दाँत भर्ने स्वास्थ्यकर्मीबाटै हुँदा समस्या आएको उनको बुझाइ छ। नेपालमा सञ्चालित डेन्टल क्लिनिकहरूको अनुपातमा अर्थोडेन्टिस्ट विशेषज्ञको सङ्ख्या अत्यन्त न्यून छ।

प्रकाशित: १७ फाल्गुन २०८० १२:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App