१२ श्रावण २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

क्यान्सर उपचारमा कहाँ छ कमजोरी?

विश्व क्यान्सर दिवस

मुलुकमा क्यान्सरको उपचार प्रभावकारी हुन नसकेको विज्ञ चिकित्सकहरूले औंल्याएका छन्। उनीहरूले जनशक्तिदेखि उपकरण र जनचेतना विस्तारदेखि सेवाको वितरणमा कमी हुँदा उपचार प्रभावकारी हुन नसकेको बताएका हुन्।

वीर अस्पताल अन्कोलोजी विभाग प्रमुख डा. विवेक आचार्यले क्यान्सर उपचारमा भएको कमजोरीकै कारण बिरामी अन्तिम चरणमा अस्पतालमा पुग्ने र बचाउन नसकिने अवस्था रहेको बताए।

उनका अनुसार सुरु चरणमै पहिचान भए क्यान्सर निको हुन्छ। क्यान्सरका बिरामी ढिला अस्पताल पुग्दा पनि उपचार प्रभावकारी हुन नसकेको उनले बताए। ‘पहिलो र दोस्रो चरणमै उपचार पाएमा बिरामी निको हुन्छ,’ उनले भने, ‘तर धेरै बिरामी तेस्रो र चौथो चरणमा चिकित्सकको सम्पर्कमा पुग्छन्। यो चरणमा पुगेका ३० प्रतिशत निको हुन्छन् भने बाँकी ७० प्रतिशतको जीवन लम्ब्याउने उपचार मात्र हुन्छ, केही समयपछि मृत्यु हुन्छ।’

सन् २०२० को ग्लोबोक्यान तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष २० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन्। अहिले उपचारमा रहेका क्यान्सर बिरामीमध्ये ६० प्रतिशतजति ढिला गरीकन अस्पताल पुगेका छन्।

तथ्यांकअनुसार सन् २०२० मा २० हजार नयाँ क्यान्सरका बिरामी पहिचान भएकोमा १३ हजार ६२९ जनाको मृत्यु भएको थियो। सन् २०३० सम्म प्रतिवर्ष २८ हजार ११५ जना बिरामी पहिचान भएमा १८ हजार ९४८ जनाको मृत्यु हुने आकलन गरिएको छ।

दक्ष जनशक्ति र चेतना अभाव

डा. आचार्यका अनुसार क्यान्सरका ५० प्रतिशतभन्दा बढी बिरामीको पहिचान भएको छोटो समयमै मृत्यु हुनुमा मुलुकको उपचार पद्धतिमा रहेको कमजोरी मुख्य कारण मानिएको छ।

खासगरी दक्ष जनशक्ति, उपचार केन्द्र, उपकरण र जनचेतनाको कमीका कारण प्रभावकारी उपचार हुन नसकेको उनको अनुभव छ। क्यान्सर उपचारमा विशिष्ट तालिमप्राप्त जनशक्ति अन्कोसर्जन, वे्रस्ट सर्जन, घाँटीको सर्जन, ग्यास्ट्रोसर्जन, गाइनोअन्कासर्जन, युरो सर्जन, सार्कोमा सर्जन, रेडियसन अन्कोलोजिस्ट, मेडिकल अन्कोलोजिस्ट, हेमाटोअन्कोलोजिस्ट, बालक्यान्सर विशेषज्ञ, अन्को नर्स र उपकरण चाहिन्छ।

विशिष्ट जनशक्ति अभावमा नेपालमा सामान्य शल्यचिकित्सकले क्यान्सरको शल्यक्रिया गर्दा राम्रो परिणाम नआउने डा. आचार्यले बताए। ‘क्यान्सर कसरी फैलिन्छ भन्ने थाहा पाउन भिन्नै अध्ययन गरेको शल्यचिकित्सक हुनु पर्छ,’ उनले भने।

त्यसैगरी क्यान्सर उपचारमा मेडिसिन फिजिसिस्ट, न्युक्लिियर मेडिसिन, प्याथोलोजिस्ट, मेडिकल फिजिसिस्ट, रेडियोथेरापी टेक्नोलोजिस्ट, फिजियोथेरापिस्ट, स्पिच थेरापिस्ट, पोषणविद्लगायत जनशक्ति चाहिन्छ। तर नेपालमा यस्तो जनशक्ति पनि कमी छ। 
उपकरण र प्रयोगशालामा कमी त्यसैगरी सबै क्यान्सर सेन्टरमा आवश्यक उपकरण र प्रविधि नहुँदा पनि प्रभावकारी उपचार हुन नसकेको आचार्यले बताए।

उनका अनुसार जनसंख्या अनुपातमा परीक्षण र उपचार उपकरण हुनुपर्नेमा नेपालमा त्यस्तो छैन। बाँकेको खजुरास्थित शुशील कोइराला प्रखर अस्पतालमा भएको रेडियोलोजी मेसिनसमेत सञ्चालनमा आउन सकेको छैन। ‘प्रविधिक समस्या भन्दै भएको मेसिनको उपयोग भएको देखिँदैन, सानो कमजोरी पनि सुल्झाउन सक्दैनौं हामी,’ उनले भने।

त्यहाँको रेडियोलोज मेसिन सञ्चालनमा नआउँदा चितवनदेखि पश्चिमका क्यान्सरका विरामी प्रभावित भएको उनले बताए। ‘अहिले वीर अस्पतालमा चार महिनाका लागि उपचार पालो बुक भइसकेको छ, चार महिनासम्म कुर्नुपर्दा क्यान्सर फैलिएर चौथो चरणमा पुग्न सक्छ,’ उनले भने।

अहिलेसम्म सरकारी अस्पतालमा पेट स्क्यान मेसिन छैन। यसकारण पनि बिरामी निजी अस्पतालमा महंगोे उपचार लिन बाध्य भएको उनले बताए। उनका अनुसार कतिपयले निजी अस्पतालमा यस्तो महँगो उपचार गराउन सक्दैनन्।

क्यान्सर उपचार केन्द्रको कमी

नेपालको जनसंख्या र भौगोलिक अवस्थाअनुुसार क्यान्सर उपचार केन्द्र पनि कमी छन्। भएका उपचार केन्द्रमा पनि पर्याप्त उपकरण र जनशक्ति नहुँदा बिरामीले चाहेको समयमा सेवा पाउन सकेका छैनन्।

अहिले नेपालमा निजी र सरकारीसहित १३ वटा क्यान्सर उपचार केन्द्र छन्। पूर्वाञ्चलमा दुइटा, काठमाडौंमा सरकारीस्तरमा तीनटा र निजी क्षेत्रमा तीनटा क्यान्सर उपचार केन्द्र छन्। चितवनदेखि उता क्यान्सर सेन्टर सक्रिय नहुँदा पश्चिममका बिरामी महँगो खर्च गरेर काठमाडौं आउनुपरेको छ।

घरबाट टाढा पुगेर महंगो उपचार गराउनुपर्दा ९० प्रतिशत बिरामीले बीचैमा उपचार छाडने गरेको चिकित्सक बताउँछन्। सातै प्रदेश र जिल्लास्तरमा क्यान्सर उपचार केन्द्र र प्रयोगशाला स्थापना गर्नुपर्ने, र दक्ष जनशक्ति उत्पादन गरी खटाइनुपर्ने डा. आचार्य सुझाउँछन्। ‘जिल्ला र प्रादेशिक अस्पतालका जनशक्तिलाई क्यान्सरसम्बन्धी तालिम र सक्षम बनाउन सके क्यान्सर समयमै पहिचान र उपचार हुन्छन्,’ उनले भने।

जनचेतनामा कमी

नेपालमा जनचेतनाको कमीले पनि क्यान्सर समयमै पहिचान हुन नसकेको चिकित्सकले औंल्याएका छन्। उनीहरूका अनुसार क्यान्सरबाट जोगिने जीवनशैैली अपनाउने, जोखिम समूहले समयमै परीक्षण गर्ने, स्वस्थ जीवनशैली अपनाउने गरेको देखिँदैन। ‘धूमपान गर्ने बढेका छन्, उनीहरू क्यान्सरको जोेखिममा छन्,’ स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगिता मिश्रले भनिन्। ‘चुरोट मदिरा सेवन गर्ने व्यवहारमा अहिले पनि सुधार आएको छैन, सेवन नगर भन्नेले उल्टै गाली खान्छन्,’ डा. आचार्यले भने।

क्यान्सर उपचारमा देखिएको कमी हटाउन नसकेमा नेपालको दीगो विकास लक्ष्य २०३० पूरा हुन नसक्ने विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश सम्बोजिराओ पाण्डवले बताए। क्यान्सर लागिसकेपछि उपचार गर्ने विषय चुनौतीपूर्ण रहेकाले रोकथाममै जोड दिन उनले सुझाए। ‘स्वस्थ जीवनशैली अपनाउँदा र धूमपान नगर्दा रोकथाम गर्न सकिन्छ,’ उनले भने।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. मिश्रले क्यान्सर उपचारमा रहेको कमी हटाउन स्वास्थ्य मन्त्रालयले प्रयास गरेको र अब क्यान्सर रणनीति २०८०÷०८७ बनाएरै लागु गर्ने बताइन्। ‘जनशक्ति र उपकरणमा रहेको कमी पनि पूरा गर्ने प्रयास हुनेछ,’ उनले भनिन्। उनका अनुसार जनचेतना जगाउन पनि सरकारले प्रयास गरिरहेको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले नेपालमा क्यान्सरकोे रोकथाम तथा उपचार प्रभावकारी बनाउन आवश्यक कदम चालिएको बताए।

‘अब नियमित खोपमै एचपिभी’

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभीलाई सरकारले नियमित खोप कार्यक्रममा समेट्ने भएको छ। विश्व क्यान्सर दिवसका अवसरमा आइतबार स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. संगीता मिश्रले यस्तो बताएकी हुन्। ‘महिलामा बढी देखिने पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अब नियमित कार्यक्रममा समावेश गर्छौं,’ उनले भनिन्।

डा. संगीता मिश्र

एचपिभीलाई पनि नियमित खोपमै समेट्नअन्तर्राष्ट्रिय खोप अभियान संस्था ‘गाभी’सग प्रस्ताव राखिएको र सकारात्मक संकेत मिलेको जानकारी उनले दिइन्। उनका अनुसार यो वर्षको अन्त्यसम्म सबै किशोरीलाई पुग्नेगरी खोप ल्याउने तयारी छ।

यो खोप १४ वर्षभित्रका किशोरीलाई दिन मिल्छ। यो उमेर समूह कटेका महिलाको हकमा पाठेघरमा हुने ह्युमन पेपिलोमा भाइरसको जाँच गर्ने व्यवस्था मिलाइएको उनले बताइन्। पेपिलोमा भाइरस पत्ता लागेपछि उपचार गर्न आवश्यक मेसिनको उपलब्धता र पहुँचका लागि प्रयास भइरहेको जानकारी उनले दिइन्।

प्रकाशित: २२ माघ २०८० ०७:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App