१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

घट्यो बहिरङ्ग र इमर्जेन्सी सेवाको टिकट शुल्क

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ।

बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताइन्। उनका अनुसार बहिरङ्ग सेवा रु ५० र इमर्जेन्सी सेवाबापतको शुल्क रु एक सय कायम गर्ने निर्णय गरिएको छ। बहिरङ्ग सेवा र इमर्जेन्सी सेवामा घटाइएको शुल्क यही माघ ८ गतेबाट लागू गरिने उनले बताइन्।

यसअघि बहिरङ्ग सेवा शुल्क रु सय र इमर्जेन्सी सेवा शुल्क रु चार सय रहेको थियो। यस्तै बीमा बोर्डले कुनै पनि स्वास्थ्य सुविधा नलिएका बीमितलाई नवीकरण गर्दा १० प्रतिशत छुट दिने निर्णय गरेको छ। बोर्डका सूचना अधिकारी कँडेलले नियमितरुपमा स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरिमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका वीमितलाई नवीकरण गर्दा १० प्रतिशत रकम छुट गरिएको बताइन्।

पाँच जनाको परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु तीन हजार पाँच सयको योगदान रकम तिरेपछि रु एक लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ।

अहिलेसम्म कूल ७४ लाख ६६ हजार सात जना बीमामा आबद्ध रहेका र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएका तथा ४८ लाख ५९ हजार पाँच सय १५ वीमितले नवीकरण गर्ने गरेका छन्।

यसैगरी स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा सुरु हुने समय पनि घटाउने निर्णय गरिएको छ। सूचना अधिकारी कँडेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा सुरु हुने समय तीन महिनाको रहेकामा त्यसलाई घटाएर दुई महिना कायम गरिएको छ।

यसैगरी बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपचारबापतको शोधभर्ना रकम दुई÷दुई महिनामा उपलब्ध गराउने निर्णयसमेत गरेको छ। रासस

प्रकाशित: ४ माघ २०८० ०१:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App