२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

महानगरका अधिकांश फार्मेसी अवैध, १० दिनभित्र प्रक्रिया पूरा गर्न अल्टिमेटम

काठमाडौं महानगरभित्रका अधिकांश फार्मेसीहरूमा अवैध रुपमा औषधीको बिक्री वितरण हुने गरेको पाइएको छ।

काठमाडौँ महानगरपालिका अन्तर्गत स्वास्थ्य विभागले गरेको अनुगमन क्रममा यस्तो भेटिएको हो। विभागले एक महिनाको अवधिमा महानगरभित्रका ६२ फार्मेसी अनुगमन गरेको थियो। 

सो क्रममा महानगरभित्रका विभिन्न फार्मेसीहरूमा नार्कोटिक औषधीहरू प्रेसक्रिप्सन बिना नै विक्री वितरण हुने, दर्ता विना फार्मेसी सञ्चालन, प्रेसक्रिप्सन बिना औषधीहरू विक्री वितरण हुने गरेको भेटिएको हो। नार्कोटिक, यान्टिबायोटिक जस्ता औषधी प्रेसक्रिप्सन बिना बिक्री गर्नु गैरकानुनी कार्य हो।

अवैध रुपमा सञ्चालित फार्मेसीहरुलाई दश दिनभित्र सुधार गर्न महानगरले चेतावनी पत्र पठाएको महानगरपालिका स्वास्थ्य विभागका प्रमुख राम प्रसाद पौडेलले बताए। उनले सो अवधिमा सुधार नभए कडा कारबाहीमा उत्रिने चेतावनी दिए।

‘जथाभावी बिक्री हुने औषधीका कारण जनस्वास्थ्यमा नकारात्मक असर पर्छ, यसको नियमनमा महानगर कडाइपूर्वक अघि बढ्दै छ’ प्रमुख पौडेलले भने।

पौडेलका अनुसार महानगरभित्र सञ्चालित फार्मेसीहरुलाई जनस्वास्थ्य प्रति जिम्मेवार बनाउन चार महिनादेखि महानगरले अनुगमन सुरु गरेको थियाे।

अनियमित रुमपा औषधी बिक्री वितरण गर्ने फार्मेसीहरुलाई महानगरले पहिलो चरणमा सचेत पत्र पठाएको बताउँदै पुन: यस्ता गल्ती भेटिएमा  ‘जनस्वास्थ्य ऐन २०८०’ अनुसार थप कारबाही  प्रकिया अघि बढाउने तयारी भएको उनले जानकारी दिए।

ऐन अनुसार पहिलो चरणमा सचेत गराउने, दोस्रो चरणमा महानगरबाट पाउने सुविधा बन्द गर्ने र तेस्रो चौथो चरणमा फार्मेसी नै बन्द गर्ने जस्ता सजायको व्यवस्था छ।

फार्मेसी नियमनको कार्यलाई महानगरले नियमित अनुगमन गरी कानुनी दायराभित्र ल्याउने योजना रहेको प्रमुख पौडेलले बताए।

प्रकाशित: २० मंसिर २०८० १५:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App