१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

दोषीमाथि कारबाही नभए आन्दोलन जारी

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणविरुद्ध आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीले दोषीमाथि कारबाही गरेको अनुभूति नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन्।

स्वास्थ्य सुरक्षा संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरेले सरकारले कच्चा कुरा गरेर स्वास्थ्य क्षेत्रलाई अल्मलाउन खोजेको आरोप लगाए। सरकारले एकातिर स्वास्थ्य सुरक्षाको सुनिश्चतता गर्छु भन्ने अर्कातिर आक्रमणमा संलग्न दोषीलाई धरौटीमा छाडेको र मणिपाल कलेज घटनामा संलग्न सयौंलाई कारबाही नगरेको उनको आरोप छ।

संयोजक घिमिरेका अनुसार गृहमन्त्रीले सुरक्षाको वातावरण बनाउने घोषणा गरे पनि व्यवहारमा उल्टो काम गरिरहेको घिमिरेको आरोप छ। ‘हामीलाई सुरक्षा दिन्छौं भन्नुभयो, तर कञ्चनपुर घटनामा संलग्न तीनजनालाई धरौटीमा छाडियो, कसरी कारबाही भयो?’, उनले प्रतिप्रश्न गरे।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ तथा त्यसको संशोधन २०७९ अनुसार अपराधमा संलग्न व्यक्तिलाई धरौटीमा छाड्न नपाइने व्यवस्था गरेको भए पनि ऐनविपरीत सरकारले धरौटीमा छाड्नुले सरकारसँग विश्वास नभएको बताए। ‘सरकारले कच्चा कुरा गर्नुभएन, हामीलाई विश्वास हुने गरी कारबाही अघि बढोस्’, उनले भने। ‘कम्तीमा दोषीलाई कारबाही गरी जेल चलान हुनुपर्‍यो, त्यसपछि हामी काममा फर्कन्छौं’, उनले भने।

देशमा फैलिँदो गुन्डागर्दी नियन्त्रणमा सरकारले ध्यान नदिनु, स्वास्थ्य संस्थामा बिरामीको अनुपातमा चिकित्सकको दरबन्दी नहुनु, कामको अवधि तोकेभन्दा बढी हुनुजस्ता कारणले आवासीय चिकित्सक, मेडिकल अफिसर, नर्स, प्यारामेडिक्स लगायतका स्वास्थ्यकर्मीले शान्त वातावरणमा काम गर्न नपाउनुले पनि उचित सेवा दिन नसकेको उनले बताए।

‘कार्यस्थलको तनावपूर्ण वातावरणले स्वास्थ्यकर्मी बिरामी पक्षसँग शालीन व्यवहार गर्न नसक्ने अवस्थामा पुग्छन्, यसको पनि अन्त्य हुनुपर्छ’, उनले भने। स्वास्थ्य संस्थामा स्वस्थ वातावरण सिर्जना गर्न सरकारले विश्व स्वास्थ्य संगठनले तोकेको अनुपातमा चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको दरबन्दी तुरुन्त माग गर्नुपर्ने संघर्ष समितिले अगाडि सारेको छ।

सुरक्षा अनुभूति हुने गरी सरकारले कारबाही सुरु गरेमा चिकित्सक काममा फर्कन सक्ने समितिको दाबी छ। सरकारको हचुवा व्यवहारका कारण स्वास्थ्यकर्मी सुरक्षा संघर्ष समितिले शनिबार पनि विरोध प्रदर्शन जारी राख्ने जनाएको छ। समितिका अनुसार सो प्रदर्शनमा स्वास्थ्यकर्मी, देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीको ऐक्यबद्धता र सहभागितासमेत रहने छ।

प्रकाशित: १३ आश्विन २०८० ०२:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App