रोग पहिचान र उपचारमा सहयोग पुग्ने हिसाबले गुगलको ‘डिपमाइन्ड’ले रोगका लागि जिम्मेवार वंशाणुगत संरचना पहिचान गर्न सफल भएको छ।
कृत्रिम वौद्धिकता (एआई)को क्षेत्रमा काम गरिरहेको गुगलकोे भगिनी संस्था ‘डिपमाइन्ड’का अनुसन्धानकर्ताले एआईको प्रयोगमार्फत रोगका लागि जिम्मेवार हुनसक्ने वंशाणुगत संरचना यकिन गर्न सफल भएका हुन्।
मानिसको हरेक कोषभित्र हुने डिएनएमा हुने परिवर्तनका कारण रोग लाग्नसक्ने भएको सन्दर्भमा अनुसन्धानकर्ताले डिएनमा हुने ८९ प्रतिशत उत्परिवर्तन (म्युटेसन)लाई पहिचान गरेका छन्। रोगको पहिचान र उपचारमा हुन सक्ने उपयोगका कारणले यो खोजलाई सम्बद्ध वैज्ञानिकहरूले ‘निकै ठूलो वैज्ञानिक फड्को’ मानेका छन्।
‘यसले रोग लाग्न सक्ने अंग पत्ता लगाउन क्लिनिकल अनुसन्धानकर्तालाई ठूलो सहयोग पुग्नेछ,’ युरोपियन मोक्यिुलर बायोलोजी ल्याबोरेटरीका उपप्रमुख प्राध्यापक इवान बिमेले बिबिसीलाई बताएका छन्।
डिपमाइन्डले मानव डिएन स्ट्रान्डका संरचनालाई परीक्षण गरेर रोगको सम्भावना आकलन गरेको छ। सबै जीवित प्राणीको कोषमा डिएन हुन्छ र यो एडेनाइन (ए), सिटोसाइन (सी), ग्याएनाइन (जी) र थिमाइन(टी) नाम गरेका चारथरी रसायनहरूको ब्लकबाट निर्माण भएको हुन्छ। मानव भ्रुण विकास हुने क्रममा यी चार अक्षर अर्थात् ए, सी, जी र टीले मानव कोषका अत्यावश्यक रहने प्रोटिन निर्माण गर्छन्। शरीरका विभिन्न तन्तु र अंग बनाउन डिएनबाट निर्मित प्रोटिनको अहम् भूमिका हुन्छ।
डिएनका यी चार अक्षरहरू उपयुक्त अर्डरमा नहुँदा शरीरका कोषिका र तन्तुहरू सही हिसाबले निर्माण नहुने र यसले गर्दा रोगको विकास हुने मानिएको छ। वंशानुगत रूपमा यो घटबढी सन्तानमा सर्न सक्छ। गत वर्ष गुगलको ‘डिपमाइन्ड’ले मानव शरीरमा हुने अधिकांश प्रोटिनको आकार सार्वजनिक गरेको थियो। ‘अल्फामिसेन्स’ नाम दिइएको ‘डिपमाइन्ड’को नयाँ प्रविधीले सम्वद्ध मानव कोषिकामा रहेका डिएनका यी अक्षरले सही आकार दिन्छन् वा दिँदैनन् भन्न सक्छ। सही आकार नभएको अवस्थामा यसले रोग निम्त्याउन सक्छ।
अहिलसमम मानव डिएनको कुन भागले अनुवांशिक रोग निम्त्याउन सक्छ भन्ने विषयमा सीमित ज्ञान उपलब्ध छ। हालसम्म यस्ता रोगका लागि जिम्मेवार डिएनका अक्षर (अल्फावेट)मा हुने परिवर्तनको शून्य दशमलव एक प्रतिशत परिवर्तनलाई मात्र लिपिवद्ध गरिएको छ। गुगल डिपमाइन्डका पुसमित कोहलीले नयाँ मोडलले यसलाई बढाएर ८९ प्रतिशत पु¥याएको दाबी गरेका छन्।
हाल, रोगका लागि जिम्मेवार क्षेत्र पत्ता लगाउन मानव डिएनमा रहेका अर्बांै रसायनिक संरचनागत ब्लकमा खोजबिन गर्नुपर्ने बाध्यता रहेको चर्चा गर्दै कोहलीले अब यो स्थितिको अन्त्य भएको बताए।
‘सम्भावित रोगका लागि जिम्मेवार डिएनको पहिचान भएपछि अब अनुसन्धानकर्ताहरूले आफूलाई जानकारी नभएका क्षेत्रमा ध्यान दिन सक्छन्,’ उनी भन्छन्। प्रसिद्ध वैज्ञानिक जर्नल ‘साइन्स’मा प्रकाशित यो विधिलाई बेलायतको जेनोमिक्स इङ्ल्यान्डले पनि स्वीकार गरिसकेको छ। जेनोमिक्स इंल्यान्डले बेलायतका स्वास्थ्य निकाय एनएसएससँग मिलेर काम गर्छ। जेनोमिक्स इङ्ल्यान्डका उपप्रमुख डा. इलेन थोमसले नयाँ विकासले सबैभन्दा बढी स्वास्थ्य क्षेत्र लाभान्वित हुने बताए।
‘यो नयाँ विधिले तथ्यांकमा नयाँ दृष्टिकोण दिएको छ। अनुवांशिक तथ्यांकले बिरामी र उपचारमा संलग्न क्लिनिकल टिमलाई ठूलो सहयोग पुग्नेछ। आगामी दिनमा मोलुकुलर बायोजोली र लाइफ साइन्सका लागि एआई अत्यन्त ठूलो अंग हुने धारणा युरोपियन मोलिक्युलर बायोलोजी ल्याबोरेटरीका उपप्रमुख प्राध्यापक इवान बिमेको छ। ‘यो विकासक्रम कहाँसम्म पुगेर टुंगिन्छ भनेर अहिल्यै भन्न सकिन्न तर हामीले गर्ने हरेका कार्यमा यसले परिवर्तन ल्याउनेछ,’ इवान बिमे थप्छन्।
बिबिसी
प्रकाशित: ७ आश्विन २०८० ०२:०९ आइतबार