६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

पश्चिम नेपालमै क्यान्सरको उपचार

पाटनखोडपे–९ भट्याड बैतडीकी ३९ वर्षीया जानकी विष्ट क्यान्सर रोगको परीक्षण गर्न चितवन पुग्नु पर्‍यो। पश्चिममा क्यान्सर अस्पताल नहुँदा टाढाको दुरीमा रहेको चितवन पुग्नु पर्ने बाध्यता पनि थियो। पश्चिममा क्यान्सर  अस्पताल नहुँदा टाढाको दुरीमा रहेको चितवन पुग्नु पर्ने बाध्यता पनि थियो। पाठेघरमा क्यान्सर भएकी उनी अहिले पश्चिम नेपालको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा नियमित उपचार गराइरहेकी छिन्। उनीजस्तै सुर्खेतकी हिरी कामीलाई पनि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सहजता बनाएको छ। चितवनमा उपचार गरिरहेकी उनी अहिले खजुरामै उपचार गर्छिन्।

चितवन टाढा हुँदा खजुरामा रिफर गर्न लगाएर आएको हिरीका श्रीमान् तस्बिर विकले जनाए। ‘पश्चिम क्षेत्रको खजुरामै क्यान्सर अस्पताल भएपछि पूर्वतिर जानै परेन,’ उनले भने, ‘घरबाट पायक पर्ने ठाउँमा क्यान्सरको उपचार पाउँदा खुसी लागेको छ।’ जानकी र हिरी मात्र होइन अहिले पश्चिम नेपालबाट क्यान्सरको उपचार तथा परीक्षण गर्न पूर्व जानु पर्दैन। क्यान्सर भए नभएको उपचार गर्न टाढा जानुपर्ने पश्चिमका नागरिकको बाध्यता अहिले हटेको छ। 

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले क्यान्सर रोगको उपचार गर्न थालेपछि अहिले यस क्षेत्रका नागरिकले सहज छ। पहिला क्यान्सर परीक्षण गर्नसमेत पूर्व जानुपर्ने अवस्था भएको भन्दै धनगढीका जयदेव ओझाले भने, ‘अहिले त्यस्तो अवस्था रहेन।’ उनले आफ्नो छोरी मञ्जुलाई चितवन अस्पतालबाट रिफर गरेर थप उपचारका लागि खजुरामै ल्याएका छन्। ‘घर पायक पर्ने भएकाले मैले थप उपचारका लागि छोरीलाई खजुरामा ल्याएको छुँ। अहिले घर आवतजावत गर्न सजिलो भएको छ।’ खजुरामै क्यान्सरको उपचार हुन थालेपछि बेलाबेला चितवन जानु पर्ने झन्झट टरेको उनी बताउँछन्।

पश्चिमेलीका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पताल वरदान भएको छ। अहिले यहाँ भौतिक संरचना र अन्य प्रविधि जडान गरिएको छ। अस्पताल सञ्चालन भएको लामो समयपछि उपचार सुरु भएको उक्त अस्पतालमा अहिले दैनिक ठूलो संख्यामा बिरामीको भिड लाग्ने गर्छ।

बिरामीलाई आकर्षण गर्न सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले ज्येष्ठ नागरिकका लागि विशेष योजनासमेत ल्याएको छ। नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार र स्वास्थ्य बिमाबाट प्राप्त हुने सुविधा सकिएका ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक बिरामीहरूलाई शुल्कमा ५० प्रतिशत अस्पताल विकास समितिले व्यहोर्ने गरी छुटको व्यवस्था गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र मल्लले जनाए। 

त्यस्तै गरिब, असहाय तथा विपन्न वर्गका बिरामीलाई निःशुल्क उपचार र बेड चार्जमा १० प्रतिशत छुट गरिएको छ। यसले यहाँ बिरामीको आकर्षण बढ्ने अपेक्षा गरिएको छ। उनका अनुसार उक्त अस्पतालमा पश्चिम नेपालमै पहिलो पटक पोजेटिभ प्रेसर (आइसीयु) सेवा सुरु भएको छ। सुविधा सम्पन्न एम्बुलेन्स, स्टाफ बस, अस्पतालका लागि जिप सञ्चालनमा रहेको उनको भनाइ छ। बर्सेनि क्यान्सर अस्पतालमा बिरामीको संख्या बढ्दै गएको छ।आर्थिक वर्ष २०७८/०७९ मा २५ हजार एक सय ८१ जनाले स्वास्थ्य परीक्षण गराएका छन् भने अघिल्लो अर्थात २०७९/०८० २९ मा हजार दुई सय ५५ जनाले सेवा लिएको अस्पताल विकास समितिका अध्यक्ष मल्लले जनाए।

‘क्यान्सर अस्पतालको प्रचारप्रसार हुन सकेको छैन,’ उनले भने, ‘यसका लागि पश्चिमका प्रदेश लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकार र स्थानीय तहले पनि चासो दिनुपर्छ।’ साथै उनले जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको बताए। ‘हामीसँग पर्याप्त जनशक्ति छैन,’ उनी भन्छन, ‘केन्द्र सरकारसँग चार सय जनाको दरबन्दी माग गरेका छौँ।अहिलेसम्म त्यसको विषयमा केही आएको छैन।’

प्रकाशित: २७ भाद्र २०८० १३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App