२० वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्दै भेरी अस्पताल

नेपालगन्जस्थित भेरी अस्पताल। तस्बिर: नागरिक

नेपालगन्जस्थित भेरी अस्पतालमा क्यान्सर पत्ता लगाउन गरिने जाँच ‘हिस्टो प्याथोलोजी’ सेवा सुरु गर्ने तयारी गरिएको छ। उक्त सेवा सुरु गर्न क्यान्सर जाँच गर्ने मेसिन समेत अस्पतालले खरिद गरिसकेको छ।

अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाहले अब चाडै नै हिस्टो प्याथोलोजी सेवा सुरु गरिने बताए।

‘क्यान्सर पत्ता लगाउन जाँच गरिने हिस्टो प्याथोलोजी सेवा भेरी अस्पतालमा हामी सुरु गर्दैछौं, यसका लागि आवश्यक प्रक्रिया अगाडी बढिसकेको छ,’ उनले भने। सेवा सुरु गर्न हिस्टो प्याथोलोजी मेसिन आइसकेको शाहले बताए।

राष्ट्रिय प्रयोगशालाको हस्तान्तरण फारम अनुसार उक्त मेसिनको मुल्य करिब २६ लाख रुपैयाँ रहेको बताइएको छ। मेसिन जडान भएपछि अब बिरामीहरु चर्को शुल्क तिरेर बाहिर जानुपर्ने बाध्यता हट्ने अस्पताल विकास समितिका अध्यक्ष शाहको विश्वास छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझीले मेसिन आईसकेकाले चाडै सुरु गर्ने प्रक्रियामा रहेको बताए।

‘हिस्टो प्याथोलोजी मेसिन आईसकेको छ, अब यसलाई ‘इन्स्टलेशन’ गरेर चलाउने तयारीमा छौं,’ डा. रायमाझीले सोमबार नागरिक न्युजसँग भने।

सेवा सुरु गर्नुअघि आवश्यक जनशक्तीलाई तालिम दिइएने मेसु रायमाझीले सुनाए। हिस्टो प्याथोलोजी सेवालाई अस्पतालभित्र अलग्गै कोेठाबाट सञ्चालन गर्ने योजना रहेको उनको भनाई छ।

अस्पतालले हाल आपतकालिन प्रयोगशाला जाँच २४ सै घण्टा र ओपिडी प्रयोगशाला बिहान १० बजेदेखी अपरान्ह ५ बजेसम्म सञ्चालन गर्दै आएको छ। प्रयोगशालामा दैनिक चार सय जनाले परिक्षण गराउँछन्।

अस्पतालका प्रयोगशाला इन्चार्ज प्रशन्न मिश्रले पनि चाडै नै हिस्टो प्याथोलोजी सेवा सुरु हुने बताए।

‘हिस्टो प्याथोलोजी सेवा बिस्तार गर्ने प्रक्रिया अगाडी बढिसकेको छ, मेसिन खरिद गरेर ल्याईसकेका छौं,’ उनले भने ‘भेरीमा यो सेवा सुरु भएपछि क्यान्सर सम्बन्धी बिरामीलाई पनि धेरै राहत मिल्नेछ।’

हाल बाँकेमै सरकारी स्तरमा खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा पनि हिस्टो प्याथोलोजी सेवा सञ्चालनमा छ।

भेरीमा पनि यो सेवा सुरु भएपछि बिरामीले थप राहत पाउने अस्पताल प्रशासनले जनाएको छ। ‘यो मेसिनले मुख्य रुपमा क्यान्सर रोग पत्ता लगाउने काम गर्छ,’  प्रयोगशाला इन्चार्ज मिश्रले भने।

प्रकाशित: २५ भाद्र २०८० १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App