१९ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

‘अप्रेसन क्वाक’ छलेका सांसद शर्मा ‘अपरेसन चार्ली फक्सट्रोट’ मा पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आठ वर्षअघि नै सुनिल शर्माको शैक्षिक प्रमाणपत्र नक्कली भएको प्रमाणित गरे पनि बिहीबार मात्रै अनुसन्धानका लागि उनलाई पक्राउ गरेको छ। सिआइबीले नेपाली कांग्रेसका सांसद एवं मेडिकल व्यवसायी शर्मालाई आइएस्सीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपमा पक्राउ गरिएको जनाएको छ। शर्मालाई सिआइबीको टोलीले उनको काठमाडौं गोल्फुटारस्थित घरबाट पक्राउ गरेको हो। प्रहरीले उनीसँगै डा. रञ्जितकुमार यादव, डा. अमित चौधरी, डा. रामबाबु यादव र डा. एलिना शाहलाई पनि नक्कली प्रमाणपत्र धारण गरेको आरोपमा पक्राउ गरेको छ।

२०७३ सालमा सिआइबीका तत्कालीन प्रमुख डिआइजी नवराज सिलवालले ‘अप्रेसन क्वाक’सञ्चालन गर्दा फरार रहेका शर्मा हाल सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले नक्कली शैक्षिक प्रमाणपत्रहरूको अनुसन्धान गर्न सञ्चालन गरेको ‘चार्ली फोक्टर’मा फेला परेका हुन्। एआइजी बज्राचार्यका अनुसार नक्कली डाक्टर र नक्कली शैक्षिक प्रमाणपत्रधारी खोज्न सिआइबीले अपरेसन ‘चार्ली फोक्टर’सञ्चालन गरेको छ। यसै अपरेसनअन्तर्गत शर्मा पक्राउ परेका हुन्। ‘पुराना मुद्दाहरूमाथिको अनुसन्धानलाई निरन्तरता दिएका छौं, उहाँ पक्राउ पर्नुभयो, अरू पनि पक्राउको सूचीमा हुनुहुन्छ,’एआइजी बज्राचार्यले भनिन्। एमबिबिएस अध्ययनका लागि शर्माले पेस गरेको आइएस्सीको प्रमाणपत्रमा उनी आफैंले नम्बर थपेको प्रहरी स्रोतको दाबी छ। अर्को स्रोतका अनुसार उनले भारतीय कलेजबाट आइएस्सीको नक्कली प्रमाणपत्र ल्याएका थिए। ‘यसबारे राष्ट्रिय परीक्षा बोर्ड र मेडिकल काउन्सिलमा समेत बुझ्दा रेकर्डमा नभेटिएपछि पुराना फाइलहरू अध्ययन गर्दा उहाँमाथि अनुसन्धान गर्नुपर्ने देखियो,’ सिआइबी स्रोतले भन्यो, ‘छानबिनपछि सबै खुल्छ।’

सिआइबीले २०७३ जेठमा अप्रेसन क्वाक सञ्चालन गरेको थियो तर शर्मा भेटिएनन्। उनलाई फरारको सूचीमा राखियो। सोही वर्ष दोस्रो चरणअन्तर्गत असार ४ गते २६ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरू पक्राउ पर्दा शर्मालाई नियन्त्रणमा लिन सकिएको थिएन।  

पक्राउ पर्ने थाहा पाएपछि त्यतिबेला शर्मा जापान भागेका थिए। त्यतिबेला प्रहरीले अपरेसन क्वाकमार्फत पिछा गर्न थालेपछि उनी नेपाली कांग्रेसका तत्कालीन महामन्त्री डा. शशांक कोइराला र माओवादीका नेता वर्षमान पुनसम्म पुगेका थिए। त्यतिबेला उनलाई खोज्न प्रहरी दुबईसम्म पुगेको बुझिएको छ।

प्रवीणता प्रमाणपत्र तहको विज्ञान संकायतर्फ नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा सांसद डा. सुनिल शर्मालाई पक्राउ गरिएको जानकारी सिआइबीले प्रतिनिधिसभाका सभामुखलाई गराएको छ।  

शर्मा मोरङ क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले संसद्मा केही दिनअघि सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको संलग्नता भएको दाबी गर्दै राजीनामा मागेका थिए। उनले संसद्मा ‘चर्को कुरा गरेको’भन्दै नेपाली कांग्रेस संस्थापन पक्ष र माओवादीका नेताहरू असन्तुष्ट थिए। विगतमा माओवादी केन्द्रका नेता वर्षमान पुनका प्रिय रहेका शर्माले आफ्ना सहकर्मीहरूलाई तत्कालीन माओवादी जनसंगठन वाइसिएल लगाएर नोबेल मेडिकल कलेज हत्याएका थिए। सन् २००७ मा चीन गएर एमबिबिएसको सर्टिफिकेट ल्याएका शर्माले आफ्नै कलेजमा इन्टर्न गरेको स्रोतको दाबी छ।

पक्राउबारे संसद्लाई जानकारी

सिआइबीले कांग्रेस सांसद शर्मालाई पक्राउ गरिएको विषयमा प्रतिनिधिसभाका सभामुखलाई जानकारी गराएको छ। प्रतिनिधिसभा सदस्य शर्मालाई पक्राउ गरेको जानकारी सिआइबीले संविधानको धारा १०३ को उपधारा ६ बमोजिम सभामुख देवराज घिमिरेलाई गराएको हो। कुनै फौजदारी अभियोगमा कुनै सांसद पक्राउ परे पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई दिनुपर्ने संविधानमा उल्लेख छ। भारतको एक संस्थाबाट प्रविणता प्रमाणपत्र तहको नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा उनलाई पक्राउ गरिएको जानकारी सिआइबीले सभामुखलाई सम्बोधन गरी पठाएको पत्रमा गराइएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानो ठिमी, भक्तपुरको साउन ६ गतेको पत्रका आधारमा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको सिआइबीले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८० ००:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App