९ मंसिर २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

रामेछापमा लम्पी स्किन: ३८१ चौपाया मरे, २१ हजार संक्रमित

रामेछापमा लम्पी स्किन संक्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन्। यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया संक्रमित भएका छन्।

लम्पी स्किन रोगबाट रामेछाप नगरपालिकामा ७५, मन्थली नगरपालिकामा ४०, गोकुलगंगा गाउँपालिकामा १, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले जनाएको छ।

रामेछाप नगरपालिकामा हालसम्म दुई हजार एक सय ९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार दुई सय, गोकुलगंगामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार छ सय ३५ पशुमा लम्पी स्किन संक्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईले बताए।

दोरम्बा सैलुङ गाउँपालिकामा भने लम्पी स्किनबाट हालसम्म के कति पशुचौपाया प्रभावित भए भन्नेबारे कुनै तथ्यांक छैन। दोरम्बा सैलुङका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुंगेलले भने, ‘दोरम्बा सैलुङमा तथ्यांक संकलनको तयारी गर्दैछौं।

लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन्। निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन्।

रोगबाट किसानले करोडौं रुपैयाँको क्षति व्यहोर्नुपरेको गोकुलगंगा गाउँपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक लोकप्रसाद फुँयालले बताए। रोगको संक्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ। गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ। किसानले आर्थिक व्ययभार व्यहोर्नुपरेको छ।

प्रकाशित: १२ श्रावण २०८० ०३:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App