४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको संख्या निकै कम थियो। त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो। पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।

औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज ढुङ्गानाले बताए। विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथ लगायत समस्याका बिरामी यहाँ आउने गरेका छन्। आयुर्वेद औषधिमा विश्वास कम गर्नेहरू पनि अब भने यहाँ आउन थालेका उनी बताउँछन्।

ढुङ्गानाका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेट सम्बन्धी समस्याका छन्। उनी भन्छन्, ‘आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढेको पाइएको छ।’

धौलागिरि आयुर्वेदिक अस्ताल  आउने बिरामीको तीन वर्षयताको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा सात हजार एक सय ५४, आव २०७७/७८ मा १२ हजार पाँच सय ८३ तथा आव २०७८/७९ मा १६ हजार दुई सय ४७ जनाले यहाँबाट सेवा लिएका छन्।

चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म सात हजार चार सय ३० बिरामीले सेवा लिएको ढुङ्गानाले बताए। सबैभन्दा बढी साउनमा एक हजार तीन सय २० बिरामीले सेवा लिएका छन्। भदौमा एक हजार ३६ जना, असोजमा नौ सय ६१, कार्तिकमा आठ सय ५१, मंसिरमा आठ सय ८३, पुसमा एक हजार १०, माघमा एक हजार आठ र फागुन दोस्रो सातासम्म तीन सय ६० जनाले सेवा लिएका छन्।

औषधालयबाट सबैभन्दा बढी अम्लपित्तका बिरामीले सेवा लिएका छन्। अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वास सम्बन्धी रोग, उच्च रक्तचाप लगायतका बिरामी दैनिक आउने गरेको धौलागिरि औषधालय बागलुङका प्रमुख डा.सरोजकुमार रायले बताए।

आयुर्वेदालयले आयुर्वेद तथा योग शिक्षा, जडीबुटी परिचयात्मक, स्वस्थ जीवन लगायत विषयमा कार्यक्रम गर्न थालेपछि आयुर्वेद औषधिमा बिरामीको आकर्षण बढेको उनी बताउँछन्।

पछिल्लो समय दैनिक ३०/३५ बिरामी औषधालयमा आउने गरेको डा रायको भनाइ छ। स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यहाँबाट २३ प्रकारका औषधि उपलब्ध गराउँदै आएको उनले बताए। उनी भन्छन्, ‘अरू औषधिको तुलनामा आयुर्वेद औषधिको ‘साइड इफेक्ट’ कम हुन्छ, चेतनाको वृद्धिका कारण आयुर्वेद्ध औषधि प्रयोग गर्ने बढेका छन्, सरकारले पनि यसलाई प्राथमिकता दिएको छ।’

जिल्लाको बडिगाड, ताराखोला र बरेङ गाउँपालिकामा समेत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा उपलब्ध गराइँदै आएको छ। रासस

प्रकाशित: १८ फाल्गुन २०७९ ०४:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App