बाजुरा जिल्ला अस्पताल फेरि विवादित बनेको छ। अस्पतालमा कार्यरत डाक्टर सरुवाको विषयलाई लिएर अस्पताल फेरि विवादित बनेको हो। कार्यालय प्रमुख समेत रहेका डाक्टर प्रेरित देवकोटालाई सरुवाका लागि स्वयम व्यवस्थापन समिति नै सक्रिय भएको आरोपपछि विवाद बाहिरिएको हो।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष मानबहादुर कार्कीसहितको टोलीले स्वास्थ्य सचिवलाई समेत भेटेर कार्यालय प्रमुख देवकोटालाई सरुवा गर्न दबाब दिएको श्रोतको दाबी छ। डाक्टर देवकोटा विशेषज्ञ डाक्टर हुन्। उनी बाजुरामा लामो समयपछि पौष महिनामा आएका थिए।
करिब दुई महिना अघि पौष १४ गते मात्र बाजुरा जिल्ला अस्पतालमा आइपुगेका डाक्टर देवकोटाले पौषको २२ आमा बिरामी भएको बताउँदै गृह जिल्ला सिन्धुलीमै सरुवाका लागि निवेदन दिएका थिए।
दुर्गममा गर्नु पर्ने सेवाको अवधि पुरा गरेको दाबी सहित आमा बिरामीको कारण देखाएर उनले सरुवा माग गरेका थिए। तर मन्त्रालयले देवकोटालाई सरुवा नदिई पुनः काममै फर्किन भनेको थियो। त्यस बखत देवकोटाको सरुवा गरिएको भए बाजुरा बासीले बिशषेज्ञ सहितको स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुनुपर्ने थियो।
डाक्टर देवकोटा आएपछि तत्कालीन कार्यालय प्रमुख डाक्टर मिलन कुमार जोशी पदबाट हट्नु परेको थियो। जोशी तीनै डाक्टर हुन्, जसलाई एकीकृत समाजवादीका नेता एवं प्रतिनिधि सभा सदस्य भानुभक्त जोशीको संरक्षण रहेको आरोप छ। यस अघि पछि बिशषेज्ञ डाक्टर बझागबाट ल्याउन खोज्दा जोशीलाई नै कार्यालय प्रमुख बनाउने स्वार्थ सहित सांसद भानुभक्त जोशीले रोकेको आरोप लागेको थियो। तर आरोपित पक्षले कुनै संलग्नता नभएको भन्दै बचाउ गर्दै आएको।
अहिले पनि फेरि त्यही अवस्था आएको आरोप लागेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले समेत व्यवस्थापन समितिले सरुवाका लागि दबाब दिएको दाबी गरेका छन्। सञ्चार माध्यममै स्वास्थ्य सचिव पोखरेलले सरुवाका लागि राजनीतिक रूपमै दबाब दिने गरेको स्वीकार गरेका छन्।
तर अस्पताल व्यवस्थापन समितिले आफूहरूको कुनै संलग्नता नभएको दाबी गरेको छ। बर्षौपछि उपचार सेवाका लागि बाजुरा पुगेका डाक्टरलाई सरुवाका लागि लाग्नु पर्ने कुनै कारण नभएको र त्यो विवादित बनाउने षड्यन्त्र मात्रै रचिएको अध्यक्ष मानबहादुर कार्कीले बताएका छन्।
बाजुरा जिल्ला अस्पतालमा कार्यालय प्रमुख को बन्ने र कस्लाई ल्याउने भन्नेमा लामो समयदेखि विवाद भइरहने गरेको छ। डाक्टर मिलन कुमार जोशीले डाक्टर प्रेरित देवकोटा आइसकेपछि प्रदेश सरकारका मन्त्री र मन्त्रालयका सचिवसँग पनि आफूलाई नै कार्यालय प्रमुख बनाउन दौडधुप गरेको श्रोतको दाबी छ।
बाजुरामा आफू निकटका मान्छेहरूलाई समेत प्रयोग गरेर कार्यालय प्रमुख हुन सेवाका लागि आएका डाक्टरहरू नै अस्वाभाविक रूपमा सक्रिय हुने गरेको अवस्था छ। कार्यालय प्रमुख को बन्ने, अस्पताल व्यवस्थापन समितिलाई काम गर्न सहज को बन्दा हुने मै विवाद बढी हुने गरेको श्रोतको दाबी छ। आफू अनुकूल हाकिमको खोजीकै कारण विवाद बढेको आरोप छ।
अस्पताल भित्र कर्मचारीले पाउनु पर्ने थप काम गरे बापतको रकम समेत महिनै देखि पाएका छैनन्। आमा सुरक्षा कार्यक्रमको रकम समेत कर्मचारी र व्यवस्थापन समितिको मिलेमतोमा हिनामिनाको प्रयास भएको अस्पताल भित्रकै कर्मचारीको दाबी छ।
कर्मचारी र व्यवस्थापन समितिको स्वार्थकै कारण विवाद भएको दाबी छ। सेवा गुणस्तरको विषयमा प्रश्न उठिरहेको बेला बिशषेज्ञ डाक्टरको सरुवाको दबाब र आर्थिक हिनामिनाको विषय प्रति जिम्मेवार निकाय नै गैर जिम्मेवार देखिएका छन्। प्रदेश सरकारका मन्त्री, केन्द्रित स्तरमा राजनीति गर्ने दलका नेता र स्वयम डाक्टरहरूको टिम समेतको सरुवाका विषयमा स्वार्थ सहितको संलग्नता देखिएको छ।
यता कार्यालय प्रमुख समेत रहेका बिशषेज्ञ डाक्टर प्रेरित देवकोटाले भने सरुवा बारे कुनै जानकारी नभएको बताएका छन्। आमा बिरामी हुँदा सरुवा मागे पनि हाल सेवाका लागि लागि परेको बताएका छन्।
'म सेवा गर्न आएको हुँ, मलाई कामबारे थाह छ। बाँकी विवाद बारे कुनै चासो र सरोकार छैन, तर जबरजस्ती काम नगर्ने वातावरण निर्माण हुँदै गएकोमा दु:खी छु' डाक्टर देवकोटाले भने।
अस्पताल भित्रको विवादका विषयलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध गरिएको छ। जिल्लामा स्वास्थ्य कर्मचारीलाई बस्ने वातावरण नबनाएको र स्वार्थ पुरा नभएपछि सरुवा समेत गर्न लागि परेकोमा आक्रोश पोखिएको छ।
हाल जिल्ला अस्पतालमा दरबन्दी बाहेकका ६ जना चिकित्सक कार्यरत छन्। ती मध्ये २ जना विशेषज्ञ छन्। अस्पतालमा दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन नहुँदा करार कर्मचारीकै भरमा चलिरहेको छ।
प्रकाशित: ९ फाल्गुन २०७९ १३:२७ मंगलबार





