बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रा.डा. सञ्जीव शर्माले जिम्मेवारी पाएका छन्। डा. शर्मालाई स्वास्थ्य मन्त्रालयले निमित्त उपकुलपतिको जिम्मेवारी दिएको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले जानकारी दिए। उनले भने, ‘उहाँले मन्त्रालयबाट निमित्त उपकुलपतिको जिम्मेवारी पाएको पत्र पाउनुभएको छ।’ निमित्त उपकुलपतिको जिम्मेवारी पाउदै गर्दा केही अधिकार पनि दिइएको हुन सक्ने सहप्रवक्ता डा. पोखरेलले बताए।
सर्पदंश विशेषज्ञ तथा मुटु र मिर्गौला रोग विशेषज्ञ प्रा.डा. शर्मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चिकित्सक हुन्। उनलाई गत पुस पहिलो साता तत्कालीन स्वास्थ्यमन्त्री भवानी खापुङले शिक्षाध्यक्ष पदमा नियुक्त गरेका थिए। उपकुलपति डा. ज्ञानेन्द्र गिरी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि बरियतामा दोस्रो रहेका प्रा.डा. शर्मा स्वतः निमित्तको उपकुलपतिका हकदार हुन्। प्रतिष्ठानका उपकुलपति गिरीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका थिए। कुनै आधिकारिक निकायबाट प्राप्त नभएको प्रोफेसर पद उपकुलपति भएपछि प्रयोग गरेर दुरूपयोग गरेको भन्दै डा. गिरीलाई माघ ९ मा भ्रष्टाचार मुद्दा दायर भएको थियो।
प्रकाशित: २१ माघ २०७९ ०१:०० शनिबार





