३ चैत्र २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

बाजुरामा १८ सय किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध यहाँका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर यही माघ २७ देखि फागुन ३ गतेसम्म नियमित खोपका रूपमा पाठेघर मुखको क्यान्सरविरुद्ध खोप अभियान सञ्चालन हुने छ।

स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख लालबहादुर खड्काले यस वर्ष जिल्लामा कक्षा ६ मा अध्ययनरत एक हजार  ७८१ र विद्यालय बाहिर रहेका २५ गरी एक हजार ८०६ जना किशोरीलाई उक्त खोप दिइने जानकारी दिए। विद्यालय बाहिर बुढीगङ्गामा १६, बडीमालिकामा छ र त्रिवेणी नगरपालिकामा एक गरी २५ किशोरी रहेका छन्।

गत वर्ष जिल्लामा अभियानका रूपमा सात हजारभन्दा बढी किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइएको थियो। यो वर्ष नियमित खोपअन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरी र विद्यालय बाहिर रहेका किशोरीलाई पनि खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ।

जिल्लाका नौवटै स्थानीय तहका विद्यालयमा स्थापना गरिएका खोप केन्द्रमार्फत खोप सेवा प्रदान गरिने छ भने स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सकिने व्यवस्था गरिएको छ। खोप अभियान गौमुल गाउँपालिका तथा बुढीगङ्गा र त्रिवेणी नगरपालिकामा माघ २७ गते, स्वामीकार्तिक खापर, जगन्नाथ, खप्तड छेडेदह गाउँपालिका र बडिमालिका नगरपालिकामा माघ २८ देखि तथा हिमाली गाउँपालिकामा माघ २९ गतेदेखि सञ्चालन हुने निमित्त प्रमुख खड्काले बताए।

स्वास्थ्य कार्यालयका अनुसार किशोरीहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप अत्यन्तै प्रभावकारी भएकाले यस अभियानलाई विशेष प्राथमिकता दिइएको हो। गत वर्ष जिल्लाभर ९८ प्रतिशत किशोरीले पाठेघरको क्यान्सरविरुद्ध खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ। रासस

प्रकाशित: २० माघ २०८२ ०७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App