३ पुस २०८२ बिहीबार
image/svg+xml
शिक्षा

दस दिनदेखि पढाइ ठप्प भएपछि इन्जिनियरिङका विद्यार्थी आन्दोलनमा

सुन्दा पनि आश्चर्य लाग्ने। शिक्षकले पढाउने र विद्यार्थीले पढ्नुपर्ने वातावरण बन्नुको साटो त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थी पढ्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रनुपर्ने विडम्बना छ।

आइतबार पुल्चोक अध्ययन संस्थानका विद्यार्थीले विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरे। पठनपाठन सुचारु गराउनुपर्ने विभिन्न नारासहितको प्लेकार्ड बोकेका विद्यार्थीले उपकुलपति दीपक अर्यालको कार्यालय केहीबेर घेराउ गरेका थिए।

उपकुलपति अर्यालको कार्यकक्षअगाडि पुगेर कक्षाकोठा खुलाइदिन र पठनपाठन सुरु गराइदिन सन्देश लेखिएका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका ती विद्यार्थीको एउटै माग छ, ‘कक्षाको ढोका खोलाइदेऊ सरकार !’, ‘क्लास कहिले हुन्छ ?’ ‘परीक्षा कहिले हुन्छ ?’ ‘त्रिवि, हामी टुलुटुलु हेर्दैनौं।’

१० दिनदेखि ठप्प रहेको कक्षाकोठाको पठनपाठन तत्काल सुचारु गराइनुपर्ने एक मात्र माग बोकेर ती विद्यार्थी आन्दोलनमा उत्रिएका छन्।

संस्थानअन्तर्गतका पुल्चोक इन्जिनियरिङ कलेज, थापाथली इन्जिनियरिङ कलेज, पोखरा इन्जिनियरिङ कलेज, चितवन इन्जिनियरिङ कलेज र धरान इन्जिनियरिङ कलेज गरी पाँच कलेजका साढे दुई सय शिक्षक संस्थानको स्वायत्तताको माग गर्दै १० दिनयता आन्दोलनमा उत्रिएका छन्।

त्रिविले २०५५ सालदेखि स्वायत्तता प्रदान गरेको उक्त संस्थानलाई २०८० सालमा स्वायत्तता खारेज गरिदिएपछि चालु आर्थिक वर्षमा त्यहाँ कार्यरत प्राध्यापक तथा पदाधिकारीमाथि बेरुजु थपियो। यसकारण संस्थानअन्तर्गतका प्राध्यापकहरू स्वायत्तताको माग गर्दै १० दिनदेखि कक्षाकोठा ठप्प पारेर आन्दोलनमा उत्रिँदा संस्थानअन्तर्गतका १० हजार विद्यार्थीको भविष्य नै चौपट बनेकाले आइतबारदेखि विद्यार्थी आन्दोलनमा उत्रिएका हुन्।

संस्थानका शिक्षकले गत १९ असारदेखि आन्दोलन सुरु गरेका थिए। त्रिविले माग सम्बोधन नगरेपछि असार २५ देखि पठनपाठन बन्द गरेका छन्। आइतबार दिउँसो विद्यार्थी विभिन्न नारा लगाउँदै कीर्तिपुर पुगेका थिए। स्वायत्तता र पठनपाठनको माग राखेर उपकुलपतिको कार्यालयमा गएको उनीहरूको भनाइ छ।

संस्थानका सहायक डिन सुरज लामिछानेका अनुसार त्रिविले २०८० सालमा संस्थानलाई प्रदान गरेको २७ वर्षको स्वायत्तता खारेज गरेपछि आर्थिक एवं प्रशासनिक व्यवस्थापनमा चुनौती थपिएको छ। ‘२०५५ सालमा त्रिविले पहिलोपटक इन्जिनियरिङ अध्ययन संस्थानलाई आफैं आत्मनिर्भर बन्ने गरी विनियमअनुसार स्वायत्तता प्रदान गरेको थियो।

सोहीअनुसार संस्थानले शिक्षक व्यवस्थापन, आर्थिक व्यवस्थापन र प्रशासनिक व्यवस्थापन आफैं गर्दै आएको थियो’, सहायक डिन लामिछानेले नागरिकसँग भने, ‘तर अन्य संकाय र संस्थानमा स्वायत्ततामाथि केही समस्या आयो। यसको मारमा इन्जिनियरिङ अध्ययन संस्थानलाई पारियो। स्वायत्तता खारेज गरेपछि २०८० यता अतिरिक्त कक्षाको पारिश्रमिक लिएका प्राध्यापक बेरुजुमा पर्नुभो।’

नियमअनुसार हप्ताको १५ पिरियड अनिवार्य पढाउनुपर्नेमा मेहनत गरेर २० पिरियडसम्म पढाउनुपरेको उनले बताए। उनी भन्छन्, ‘जसले मेहनत गर्‍यो उनीहरू नै बेरुजुमा पर्नुभयो। राम्रो काम गर्नेलाई पुरस्कारको साटो दण्ड पो दिइयो। यसकारण शिक्षकहरू आन्दोलनमा उत्रनुभएको छ।’

क्याम्पसका शिक्षकहरू २०८० देखि नै आन्दोलन गर्दै आएका छन्। यसपटक भने शिक्षकहरूले पठनपाठन नै रोकेका छन्। संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि गरिने कुनै पनि प्रकारको हस्तक्षेप तुरुन्त खारेज गर्नुपर्ने माग विद्यार्थी र शिक्षकहरू आन्दोलनमा उत्रनुपरेको सहायक डिन लामिछानेले बताए।

उनका अनुसार संस्थानलाई स्वायत्तता प्रदान गरी त्रिविले निकास दिनुपर्छ। ‘क्याुल्क उठाएर आत्मनिर्भर भएर चलेका छन्’, उनले भने, ‘यसले गर्दा विद्यार्थीको कक्षाकोठाको शिक्षण सिकाइ, अतिरिक्त कक्षाले थप गुणस्तर बनाएको छ।’

उनले थपे, ‘संस्थानलाई त्रिविले स्वायत्तता दिनुपर्छ।’ उनका अनुसार संस्थानमा ३५ कार्यक्रम चल्छ। ३५ कार्यक्रममा ३५ संयोजक छन्। ती सबैको विभिन्न खर्चसमेत बेरुजु छ।

कलेज स्ववियु सभापति स्वयं श्रेष्ठले त्रिविले इन्जिनियरिङ अध्ययन संस्थानलाई शैक्षिक निकासको बाटो दिनुपर्ने बताए। ‘मुख्य रूपमा हाम्रा कक्षाकोठा खुल्नुपर्‍यो, पठनपाठन र परीक्षा समयमै हुनुपर्‍यो’, सभापति श्रेष्ठले आन्दोलन स्थलबाटै नागरिकसँग भने, ‘इन्जिनिरिङ अध्ययन संस्थानको गुणस्तर कायम राख्न स्वायत्तता दिनुपर्‍यो।’

त्रिविका प्रवक्ता यमनसिंह बोहराले त्रिवि, शिक्षक र विद्यार्थीबिच वार्ता भइरहेको र वार्ताबाटै समाधान खोजी गरिने जनाए।

प्रकाशित: ५ श्रावण २०८२ ०८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App