प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा. दीपक अर्याललाई नियुक्त गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा रहेको सिफारिस समितिले असार २३ गते प्रा डा. खड्ग केसी, प्रा डा. दीपक अर्याल र प्रा डा. बिनिल अर्यालको नाम सिफारिस गरेको थियो। प्रधानमन्त्रीले कुलपतिको हैसियतले बुधबार दीपक अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।
त्रिवि ऐनअनुसार शिक्षा मन्त्रीको संयोजकत्वमा तीन सदस्य छनोट समिति गठन गरी उपकुलपति खोज्ने काम गरिएको थियो।
निवर्तमान उपकुलपति केशरजंग बरालले चैत १५ गते पदबाट राजीनामा दिएपछि नयाँ उपकुलपति नियुक्त हुन सकेको थिएन। हालसम्म त्रिविका शिक्षाध्यक्ष प्रा डा. खड्ग केसीले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका छन्।
चार वर्षको कार्यकालका लागि नियुक्त भएका बरालले १३ महिनामै राजीनामा दिएका थिए। कुलपति ओलीले चैत २८ गते बरालको राजीनामा स्वीकृत गरेका थिए। त्यसपछि वैशाख २ गते शिक्षाध्यक्ष केसीलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका थिए।
निवर्तमान उपकुलपति बरालको पालामा अधिकांश समय त्रिविमा तालाबन्दीमै बितेको थियो। आंशिक र करारका शिक्षकले विभिन्न माग राखेर तालाबन्दी र कार्यालय घेराउ गरेपछि बराललाई विश्वविद्यालयमा आफ्नो कार्यकक्षमा बसेर काम गर्न सास्ती खेप्नुपरेको थियो।
उपकुलपति रिक्त भएमा तीन महिनाका लागि उपकुलपतिको जिम्मेवारी दिन सकिने प्रावधानअनुसार केसीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो।
कुलपति एवं प्रधानमन्त्री ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए।
प्रकाशित: २५ असार २०८२ १३:३३ बुधबार





