त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभाग र विश्वविद्यालय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले विद्यार्थीका लागि मनोपरामर्श इकाइ स्थापना गर्ने समझदारी भएको छ।
शुक्रबार विभागका विभागीय प्रमुख सन्जेश श्रेष्ठ र स्ववियुका सभापति दिपक राज जोशीले समझदारीपत्रमा हस्ताक्षर गर्दै मनोपरामर्श इकाइ स्थापना गर्ने घोषणा गरेका हुन्।
समझदारीअनुसार मनोविज्ञान विषय अध्ययनरत विद्यार्थीहरूले अन्य विभागमा अध्ययनरत विद्यार्थीहरूलाई पनि मनोवैज्ञानिक परामर्श सेवा प्रदान गर्नेछन्। बढ्दो मानसिक तनाव, चिन्ता, अवसाद तथा अन्य मनोसामाजिक समस्यालाई मध्यनजर गर्दै त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई सहज रूपमा मनोपरामर्श सेवा उपलब्ध गराउने उद्देश्यले इकाइ स्थापना गरिएको स्ववियु सभापति जोशीले बताए।
समझदारीपत्रमा त्रिवि मनोविज्ञान केन्द्रीय विभाग, कीर्तिपुरमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै परामर्श कार्यक्रम सञ्चालनका लागि स्ववियु कार्यालय परिसरमा रहेको एउटा कोठा प्रयोग गर्ने उल्लेख गरिएको छ। साथै, स्ववियुले सबै विभागमा मनोपरामर्श सेवा सञ्चालन भएको जानकारी गराउने समन्वयकारी भूमिका निर्वाह गर्ने सहमति पनि भएको छ।
विद्यार्थीहरूको मानसिक स्वास्थ्य प्रवर्द्धन, समस्या पहिचान, समयमै मनोपरामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरूको शैक्षिक, व्यक्तिगत र सामाजिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा पूर्व विभागीय प्रमुख डा खेमराज भट्ट, फ्याकल्टी पदमराज जोशी, प्रशासन प्रमुख नोदनाथ त्रिताल तथा तेस्रो र चौथो सेमेस्टरका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रकाशित: १ श्रावण २०८३ १२:४१ शुक्रबार





