१ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

मिटरब्याज पीडितसँग सरकारले गर्‍यो सात बुँदे सहमति

आन्दोलनमा उत्रिएका मिटरव्याज पीडित । फाइल तस्बिर

आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीचको वार्ता सहमतिमा पुगेको छ। दुवै पक्षबीच भएको सहमतिलाई औपचारिकता दिँदै केहीबेरमै ७ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको वार्तामा सहभागी स्रोतले जनाएको छ।

सिमरामा सरकारी टोली र पीडित पक्षबीच भएको मौखिक सहमतिलाई लिखित रूप दिन आज बिहानदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वार्ता जारी थियो। हिजो भएको छलफलका आधारमा आज अन्तिम सहमति जुटेको जनाइएको छ।

यसअघि पनि बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै पक्षबीच वार्ता भएको थियो। त्यही वार्ताबाट बनेको सहमतिको आधारमा आज औपचारिक सम्झौतामा पुगिएको हो।

जनकपुरबाट काठमाडौंतर्फ पैदल मार्च गर्दै आएका मिटरब्याज पीडितलाई सरकारले बीच बाटोमै रोकेर वार्ताका लागि आह्वान गरेको थियो। त्यसपछि सुरु भएको संवाद अन्ततः सहमतिमा पुगेको हो।

वार्ता टोलीमा को–को थिए?

सरकारी वार्ता टोलीको नेतृत्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटाले गरेका थिए। टोलीमा गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली र भूमि व्यवस्था विभागका महानिर्देशक योगेन्द्रप्रसाद दुलाल सदस्यका रूपमा सहभागी थिए।

पीडित पक्षको वार्ता टोलीको संयोजन नवलपरासी (सुस्ता पूर्व)का अवधेश कुसवाहले गरेका थिए। टोलीमा सिराहाका मनोज पासवान, गोरखाका रिजन रानामगर, भोजपुरकी लक्ष्मी घिमिरे, बर्दघाट पश्चिमका किरण परियार तथा कैलालीका निर्गराज जैसी सदस्य रहेका थिए।

सम्झौताका सात बुँदाको विस्तृत विवरण भने हस्ताक्षरपछि सार्वजनिक भएको छैन।

प्रकाशित: १ श्रावण २०८३ १७:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App