फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि इंग्ल्याण्डका मुख्य प्रशिक्षक थोमस टुचेलले फ्रान्सविरुद्ध हुने तेस्रो स्थानको खेल कुनै पनि टोलीले खेल्न नचाहने बताएका छन्।
इंग्ल्याण्डले सेमिफाइनलमा सुरुआती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा २–१ को हार बेहोर्नुपरेको थियो। अब इंग्ल्याण्डले शनिबार फ्रान्ससँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछ।
खेलअघि आयोजित पत्रकार सम्मेलनमा टुचेलले सेमिफाइनलको हारबाट बाहिर निस्कन अझै कठिन भइरहेको स्वीकार गरे।
‘हाम्रा कुनै पनि खेलाडी र कुनै पनि फ्रान्सेली खेलाडी यो खेल खेल्न चाहँदैनन्। सबैको लक्ष्य फाइनल खेल्नु हो। त्यसका लागि हामीले सबै कुरा दिएका थियौं,’ टुचेलले भने।
उनले फ्रान्सको तुलनामा इंग्ल्याण्डले एक दिन कम विश्राम पाएको उल्लेख गर्दै टोलीले व्यावसायिक रूपमा खेल्ने बताए। ‘फ्रान्सको तुलनामा हामीसँग एक दिन कम रिकभरी छ। तर हामी पूर्ण व्यावसायिकताका साथ मैदानमा उत्रिनेछौं,’ उनले थपे।
सेमिफाइनलमा अपनाइएको रक्षात्मक रणनीतिका कारण आलोचनामा परेका टुचेलले विश्वकपको अन्तिम चारमा पुग्नु आफैंमा ठूलो उपलब्धि भएको दाबी गरे।
‘हामीले अर्को विश्वकपका लागि चार वर्ष कुर्नुपर्नेछ। सेमिफाइनल पुग्नु आफैंमा उपलब्धि हो। धेरै ठूला फुटबल राष्ट्रहरू त्यसभन्दा अघि नै बाहिरिन्छन्। तर अहिले यो कुरा कसैले पनि सुन्न चाहँदैन, म आफैं पनि होइन,’ उनले भने।
अर्जेन्टिनाविरुद्ध एन्थोनी गोर्डनले सुरुआती गोल गरेपछि टुचेलले टोलीलाई पाँच रक्षकको प्रणालीमा रूपान्तरण गरेका थिए। यही निर्णयले इंग्ल्याण्डमाथि अनावश्यक दबाब सिर्जना गरेको भन्दै पूर्व कप्तान वेन रुनीसहितका पूर्वखेलाडी र विश्लेषकहरूले आलोचना गरेका थिए।
यद्यपि, टुचेलले आफ्नो रणनीतिक निर्णयको बचाउ गर्दै हारको सम्पूर्ण दोष आफूले लिन अस्वीकार गरेका छन्।
प्रकाशित: १ श्रावण २०८३ १७:१३ शुक्रबार





