हिमाली जिल्ला मनाङमा भीषण पहिरो खसेपछि मर्स्याङ्दी नदीमा लेदोसहितको बाढी आउने उच्च जोखिम बढेको छ।
विपद्को जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका सम्पूर्ण नागरिकलाई तत्काल उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार भीषण पहिरो खसे पनि मर्स्याङ्दी नदी नै पूर्ण रूपमा थुनिएको भने छैन। तर, पहिरोका कारण नदीमा ठूलो मात्रामा लेदो मिसिएकाले तल्लो तटीय क्षेत्रमा बाढीको खतरा उच्च बनेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘पहिरोले मर्स्याङ्दी नदी नै थुनिएको त छैन, तर लेदोसहितको बाढी आउने खतरा छ। त्यसैले नदी किनार तथा तटीय क्षेत्रमा रहने सबै जनाले उच्च सतर्कता अपनाउनुहोला।’
प्रशासनले नदी किनारमा अनावश्यक आवतजावत नगर्न र सुरक्षित स्थानमा रहन सर्वसाधारणलाई सचेत गराएको छ।
प्रकाशित: ११ आश्विन २०८३ १७:२६ आइतबार





