मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने हिमलुङ हिमालमा हिमपहिरो जाँँदा १० जना नेपाली सम्पर्कविहीन भएका छन। नार्पाभूमि गाउँपालिका–५, फू मा पर्ने ७ हजार १ सय २६ मिटर अग्लो हिमालमा आरोहण लागि आएका विदेशीका लागि तयारी गर्न गएको नेपाली सहयोगीको समूह हिमपहिरोमा परेको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन सारु मगरका अनुसार समुन्द्री सतहदेखि ५ हजार मिटर उचाईमा उनीहरु हिमपहिरोमा परेका हन्। मगरका अनुसार विदेशीको आरोहणको तयारीका लागि दुईवटा समूहमा २८ जना नेपाली सहयोगी त्यहाँ पुगेका थिए। एउटा समूहमा २२ र अर्काे समूहमा ६ जना गरि २८ जना रहेको उनले बताए।
‘हाम्रो जानकारीमा २८ जना थिए। ती मध्ये १० जना सम्पर्कविहीन भएको जानकारी पाएका छौं,’ मगरले भने, ‘तर विस्तृत विवरण आएको छैन।’ उनका अनुसार हराएका व्यक्तिको खोजी र उद्दारका लागि हेलिकप्टर गईसकेको छ। आधारशिविरमा रहेका अरु सहयोगीहरु तल फर्किन थालेको र उनीहरु फर्किसकेपछि मात्र विस्तृत विवरण थाहा हुने उनले बताए।
मगरका अनुसार हिमलुङ हिमाल आरोहणका लागि विदेशीको समूह आउँदै रहेको र उनीहरुको बसोबास तथा खानपिनका लागि नेपाली सहयोगीको टिम अग्रिम रुपमा त्यहाँ पुगिसकेका थिए। तिनै सहयोगीमध्ये १० जना हिमपहिरोमा परेको उनले बताए।
‘आरोही पुग्नु अगावै सहयोगीहरु त्यहाँ पुगेर तयारी गर्छन। खानपिनको व्यवस्थापन देखि आरोहणका लागि आवश्यक अरु प्राविधिक तयारी पनि उनीहरुले नै गर्ने हुन। तिनै समूहका नेपाली हिमपहिरोमा परेको जानकारी पाएका छौं,’ उनले भने।
नार्पाभूमि गाउँपालिाक–५ का वडासचिव विवेक देवकोटाका अनुसार हिमपहिरो क्षेत्रमा रोकिएका केही नेपाली गाइड र सहयोगी तल झरिरहेका छन्। उनीहरु आएपछि मात्र क्षतिको विवरण थाहा हुने उनले बताए। ‘एकपटक हेलिकप्टर आएर माथि (घटनास्थल) गएर फर्केको छ। सबै विवरण हामीसम्म पनि आएको छैन’ उनले भने।
मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले पनि हिमलुङमा हिमपहिरो आएको र १० जना नेपाली सहयोगी वेपत्ता भएको बारे जानकारी पाएपछि विस्तृत विवरण नआएको बताए। ‘काठमाडौंदेखि नै एउटा हेलिकप्टर चामे आएर माथि गएको हो उद्धारको प्रयासका लागि हेलिकप्टर गएको छ। बाँकी जानकारी आएको छैन,’ उनले भने, ‘उद्धारका लागि एउटा टिम लिएर हेलिकप्टर गएको हो।’
प्रकाशित: ११ आश्विन २०८३ १७:११ आइतबार





