सामुदायिक स्तरबाट इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले विदेशी दुईवटा प्रतिष्ठित विश्वविद्यालयसँग सम्झौता गरेको छ ।
जनता क्याम्पसले पहिलोपल्ट भारतको हरियाणमा रहेको बाबा मस्तनाथ र भारतकै राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग सम्झौता गरेको हो ।
बाबा मस्तनाथ विश्वविद्यालयसँग यही असार २४ गते जनता क्याम्पसको टोली त्यहाँ गएर सम्झौता गरेको हो । सो क्रममा बाबा मस्तनाथ विश्वविद्यालयका कुलपति प्रोफेसर डाक्टर एचएल बर्मा, रजिष्ट्रार प्रोफेसर डाक्टर विनोदकुमार, सहायक रजिष्ट्रारसहित अन्य विभागीय प्रमुख र जनता बहुमुखी क्याम्पसका तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसी खत्री नेतृत्वको टोली सहभागी रहेको सम्झौताबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा उल्लेख गरियो ।
पाँच वर्षे सम्झौतामा दुवै संस्थाबिच शैक्षिक, अनुसन्धान र सांस्कृतिक आदानप्रदानलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ । बाबा मस्तनाथ विश्वविद्यालय सन् २००२ मा स्थापित भएर प्राविधिक, चिकित्सा, मानविकी र सामाजिक विज्ञानका क्षेत्रमा स्नातक, स्नातकोत्तर तथा अनुसन्धानका कार्यक्रम हुँदै आएको छ ।
यस्तै, भारतको राजस्थानमा रहेको श्री जे जे टि विश्वविद्यालयसँग असार २५ गते पाँच वर्षे सम्झौता गरिएको जानकारी दिइयो । श्री जे जे टि विश्वविद्यालयमा विज्ञान, इन्जिनियरिङ्, व्यवस्थापन र समाजशास्त्र क्षेत्रमा स्नातक र स्नातकोत्तर कार्यक्रम उपलब्ध छ ।
भारतका दुईवटा कलेजसँग सम्झौता गरेसँगै अब अध्ययन अनुसन्धान र अन्तर्राष्ट्रिय समन्वयका माध्यमबाट गुणस्तरीय शिक्षामा थप अगाडि बढ्ने विश्वास रहेको जनता बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले बताए। उनका अनुसार जनता क्याम्पसले सम्झौता गरेसँगै अबको तीन महिनाभित्रमा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक सम्मेलन गर्ने भएको छ । यसका लागि आवश्यक बजेट स्थानीय सरकारसँग पहल गरिने भएको छ ।
प्रकाशित: ३० असार २०८२ १४:०२ सोमबार





