प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा प्राध्यापक डा. दीपक अर्याललाई नियुक्त गरेका छन्। त्रिवि जलविज्ञान तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक अर्यालले उपकुलपति पदको शपथ लिएसँगै ‘विश्वविद्यालयलाई सबैको विश्वविद्यालय’ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘मेरो नियुक्ति निकै कठिन अवस्थामा भएको छ। त्रिविका प्राध्यापक तथा विद्यार्थी आन्दोलनमा हुनुहुन्छ। मलाई थाहा छ त्रिविमा चुनौतीका चाङ छन्’, प्रधानमन्त्री निवास बालुवाटारबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले नागरिकसँग भने, ‘तर म आन्दोलनरत प्राध्यापक र विद्यार्थी संघसंगठनहरूसँग छलफल र वार्ताबाटै समस्या समाधान गरी अघि बढ्ने छु। सबैको अपनत्व महसुस हुनेगरी विश्वविद्यालय बनाउने छु।’
२०५२ सालमा त्रिविको प्राध्यापन सेवामा प्रवेश गरेका अर्याल चर्चित हास्यव्यंग्यकार एवं साहित्यकार भैरव अर्यालका जेठा छोरा हुन्। उनी त्रिवि सेवामा प्रवेश गरेदेखि जल तथा मौसम विज्ञान केन्द्रीय विभागमा कार्यरत छन्। ‘पारिवारिक पृष्ठभूमि र घरको माहोल साहित्य र हास्य रहे पनि मेरो सानैदेखिको रुचि विज्ञानमा थियो। यसमा परिवारको साथ पनि पाएँ र अघि बढें’, उनले भने।
जसका कारण आज म त्रिविको उपकुलपति भएँ,’ अर्यालले सुनाए, ‘जल तथा मौसम विज्ञानमै त्रिविबाटै विद्यावारिधि गरेको हुँ। जापानको नागोया विश्वविद्यालयबाट हाइड्रस्फेरिक एट्मोस्पेरिक साइन्समा स्नातकोत्तर अध्ययन गरी नेपाल फर्केर पुनः आफ्नो कार्यक्षेत्रमै रमाएँ।’
उनले पहिलो चरणमा त्रिविका समस्या अध्ययन गरी समाधानका लागि पहल गर्ने बताए। उनले भने, ‘पहिलो चरणमा त्रिविका समस्या पहिचान गर्ने छु। समस्या समाधानका लागि सरोकारवाला शिक्षक, प्राध्यापक र विद्यार्थीसँग छलफल गरी रायसुझाव लिने छु। शैक्षिक गुणस्तर सुधार गर्दै जाने लक्ष्य छ। मुख्य रुपमा म आफैं अनुसन्धानकर्ता भएकाले त्रिविलाई अनुसन्धानमुखी बनाउन मेरो जोड हुन्छ।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तको संयोजकत्वमा बनेको सिफारिस समितिले उपकुलपतिका लागि यही असार २३ गते प्राध्यापक डा. खड्ग केसी, प्राध्यापक डा.दीपक अर्याल र प्राध्यापक डा. बिनिल अर्यालको नाम सिफारिस गरेको थियो।
प्रधानमन्त्री ओलीले विश्वविद्यालयको कुलपतिको हैसियतले बुधबार सिफारिस तीनजनामध्येबाट दीपक अर्याललाई उपकुलपति नियुक्त गरेका हुन्। त्रिवि ऐनअनुसार शिक्षामन्त्रीको संयोजकमा तीन सदस्य छनोट समिति गठन गरी उपकुलपतिका लागि नाम सिफारिस गरिएको थियो।
कुलपति एवं प्रधानमन्त्री ओलीले गत जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए।
यसअघिका उपकुलपति केशरजंग बरालले गत चैत १५ गते पदबाट राजीनामा दिएका थिए। लगत्तै नयाँ उपकुलपति नियुक्त हुन नसकेपछि शिक्षाध्यक्ष प्राध्यापक खड्ग केसीले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए। बरालको करिब एक वर्षको कार्यकाल आंशिक शिक्षक तथा विद्यार्थीको तालाबन्दीमै बित्यो। अझै पनि त्रिविमा तलाबन्दी कायमै छ। उपकुलपति कार्यालयमा तालाबन्दी रहेकै अवस्थामा नयाँ उपकुलपतिमा अर्यालको नियुक्ति भएको छ। यस अवस्थामा उनलाई कार्यकक्षमा गएर काम गर्न त्यति सहज छैन।
एक प्रतिष्ठित जलवायुविद्को रूपमा उनीसँग चरम मौसमी घटनाहरू र वायु प्रदूषण गतिशीलताको जटिल क्षेत्रहरूमा व्यापक विशेषज्ञता छ। ‘एमएससी. पास गरेदेखि लगभग तीन दशकसम्म फैलिएको मेरो अनुसन्धान यात्रा ज्ञानको खोजीमा नै बितेको छ,’ नवनियुक्त उपकुलपति अर्यालले अनुभव सुनाए, ‘अग्रणी अन्तर्राष्ट्रिय र राष्ट्रिय जर्नलहरूमा मेरा योगदान छन्। ती जर्नलमा मेरा ३५ भन्दा बढी प्रकाशनहरू छन्।’
उनले अगाडि थपे, ‘मेरा अनुसन्धानले पहाडी क्षेत्रहरूमा संवहनका जटिल घटनाहरू, वायु प्रदूषक परिवहन र रूपान्तरणको बहुआयामिक प्रक्रियाहरू समेट्छन्। कठोर अनुसन्धान र अन्तर्दृष्टिपूर्ण विश्लेषणहरूमार्फत मैले जटिल मौसम विज्ञान र वातावरणीय प्रणालीहरूको हाम्रो बुझाइलाई निरन्तर अगाडि बढाएको छु।’ उनलाई नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) ले एक शिक्षाविद्को रूपमा सम्मान गरेको छ।
विश्वव्यापी मञ्च अमेरिकी भूभौतिक संघ, युरोपेली भूविज्ञान संघ (इजियु), जापान भूविज्ञान संघ–जेपिजियु), विश्वव्यापी ऊर्जा र पानी आदानप्रदान र विभिन्न एसिया ओसिनिया भूविज्ञान समाजका बैठकहरूसहित अन्तर्राष्ट्रिय सम्मेलनमा अनुसन्धान निष्कर्षहरू प्रस्तुत गर्ने विशेषाधिकार उनले पाएका छन्।
‘यी प्लेटफर्महरूले मलाई अग्रणी दिमागहरूसँग संलग्न हुन, विचारहरू आदानप्रदान गर्न र हाम्रो वैज्ञानिक बुझाइको सामूहिक प्रगतिमा योगदान पुर्याउन सहयोग गरेका छन्’, उनले भने, ‘विगतका अनुभवलाई समेटेरै मैले त्रिविमा अनुसन्धानमूलक र शैक्षिक गुणस्तर सुधार क्षेत्रमा काम गर्ने छु।’ त्रिविको समग्र सुधारमा लाग्ने छु।’
चार वर्ष कार्यकालका लागि नियुक्त भएका यसअघिका उपकुलपति बरालले १३ महिनामै राजीनामा दिएका थिए। कुलपति ओलीले चैत २८ गते बरालको राजीनामा स्वीकृत गरेका थिए।
प्रकाशित: २६ असार २०८२ ०६:५७ बिहीबार