मधेश प्रदेश सरकार अन्तर्गतको पर्यटन कार्यालय रौतहटमा दुईजना कार्यालय प्रमुख (हाकिम) खटिएपछि त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राही अन्योलमा परेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय जनकपुरले फरक-फरक मितिमा दुई फरक व्यक्तिलाई कार्यालय प्रमुखको जिम्मेवारी तोकेर पठाएपछि गौरस्थित कार्यालयमा द्विविधा उत्पन्न भएको हो।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले गत माघ २ गते छैटौं तहका इन्जिनियर कमलेशकुमार मिश्रलाई पर्यटन विकास कार्यालय, गौरको प्रमुखको जिम्मेवारी तोकेको थियो।
तर, मन्त्रालयको निर्णय भएको दुई दिन नबित्दै माघ ४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्को निर्णय गर्दै राजेश काफ्लेलाई सोही कार्यालयको प्रमुखको जिम्मेवारी तोक्यो।
हाल मिश्र र काफ्ले दुवैजना कार्यालयमा उपस्थित भई आफूलाई आधिकारिक प्रमुख दाबी गरिरहेका छन्।
दुई फरक मन्त्रालयबाट पत्र आएपछि कुन पत्रलाई आधिकारिक मान्ने भन्ने विषयमा विवाद देखिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव रोहितकुमार कोइरालाले राजेश काफ्ले नै कार्यालय प्रमुख भएको दाबी गरेका छन्।
यता, पर्यटन मन्त्रालयले भने काफ्लेको तीन महिनाको काज अवधि सकिएकाले प्रक्रियागत रूपमै इन्जिनियर मिश्रलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको प्रष्ट्याएको छ।
प्रदेश सरकारका दुई मन्त्रालयबीच समन्वय नहुँदाको प्रत्यक्ष असर कार्यालयको दैनिक कार्यसम्पादनमा परेको छ। एउटै कार्यालयमा दुई प्रमुख भएपछि मातहतका कर्मचारीहरू कसको निर्देशन मान्ने र फाइल सदर कसले गर्ने भन्ने विषयमा अलमलमा छन्।
कर्मचारीतन्त्रको यो विवादका कारण कार्यालयमा पुग्ने सेवाग्राहीले भने सास्ती भोग्नुपरेको छ।
प्रकाशित: २८ माघ २०८२ २१:११ बुधबार





