१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

‘मतदाता शिक्षाले नै चुनावी परिणामलाई वास्तविक आकार दिन्छ’

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले निर्वाचनमा मतदाता शिक्षाको महत्वपूर्ण भूमिका रहने बताएका छन्।

नेपाल रिपब्लिक मिडियाद्वारा आयोजित क्रियटर्स च्याम्पियन सिजन ३ अन्तर्गत ‘म नागरिक, म बनाउँछु नेपाल’ कार्यक्रममा वरिष्ठ अधिवक्ता ज्ञवालीले सो कुरा बताएका हुन्।

मत हाल्नु मात्रै पर्याप्त नभई कस्ता प्रतिनिधि छान्दा जनतालाई धोका दिँदैनन् भन्ने चेतना नागरिकमा हुनुपर्नेमा उनले जोड दिए।

‘निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो तर नागरिक सचेत नभएसम्म प्रतिनिधिमूलक व्यवस्था प्रभावकारी हुन सक्दैन’, उनले भने।

वरिष्ठ अधिवक्ता ज्ञवालीले प्रतिनिधिलाई आफ्नो अधिकार प्रत्यायोजन गर्दा त्यसको प्रभाव देशको शासन प्रणालीमा प्रत्यक्ष रूपमा पर्ने भएकाले मतदाता शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

उनले योग्य र सक्षम उम्मेदवारको छनोटले मात्रै सुशासन, विकास र लोकतन्त्रलाई मजबुत बनाउने बताए। ‘मतदाता शिक्षा भनेको मतपत्रमा सही ढंगले छाप लगाउनु एउटा पाटो भयो तर मतदाता आफूले छानेको उम्मेदवारका बारेमा जानकार हुनुपर्छ, सचेत रहनुपर्छ। यसमा निर्वाचन आयोग र स्थानीय सरकारले पनि सहयोग पुर्‍याउनुपर्छ।’

कतिपय सन्दर्भमा मतपत्रमा उल्लेख भएका चिन्ह पहिचानमा समस्या हुने र उम्मेदवारले समेत भ्रममा पार्ने सम्भावना रहने उनको भनाइ छ।

अहिलेको अवस्थामा मतदाता शिक्षा जरुरी रहेकाले यसमा निर्वाचन आयोग जिम्मेवार हुनुपर्ने ज्ञवालीले बताए।

‘बदर मत संख्या घट्नु मतदाता शिक्षा नभई मतदातालाई निर्वाचनको महत्त्व बुझाउनु र इच्छाएको उम्मेदवारलाई मत दिन सक्षम बनाउनु मतदाता शिक्षा हो। यसका अतिरिक्त मतदाता शिक्षाले चुनावी परिणामलाई वास्तविक आकार दिनका लागि उत्प्रेरकको भूमिका निर्वाह गर्न सक्छ’, ज्ञवालीले भने।

कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले नयाँ पुस्ताको आवाज सकारात्मक र स्वागतयोग्य रहेको बताउँदै मतदान गर्ने बेलामा मतदाताले विचार पुर्‍याउनुपर्ने बताइन्।

उनले परिवर्तन जथाभावी मतदान गर्नु नभई विवेकका आधारमा दिनुपर्नेमा बताइन्।

‘स्थानीय स्तरमा मतदाता शिक्षामा केही कमजोरी हुन सक्छन्, तर स्थानीय सरकार मतदाता शिक्षाका लागि निर्वाचन आयोगसँग सहकार्य गर्न तयार छ। यसका निम्ति विभिन्न कार्यक्रम बनाउनुपर्छ। यसमा छलफल चलिरहेको छ। मतदातामा जागरण भएन, चेतना आएन भने असल जनप्रतिनिधि छान्नबाट बञ्चित हुनुपर्नेछ’, उपमेयर थापाले भनिन्।

उनले सुशासनप्रति युवाको बढ्दो मागलाई राम्रो संकेतका रूपमा व्याख्या गरिन्। उनले भनिन्, ‘नयाँ युवाको आवाज राम्रो छ। त्यो आवश्यक पनि हो तर निर्णय भावनाले भन्दा विवेकले गर्नुपर्छ।’

उनले लोकतन्त्रमा जनता नै जनार्दन भएको उल्लेख गर्दै नागरिक नै राज्यको मूल शक्ति भएको बताइन्। ‘जनता जनार्दन हुन्, नागरिक नै राज्य हुन्, तर नयाँ विकल्प खोज्दा पुराना राजनीतिक दलका सकारात्मक पक्ष, भिजन, योजना र मिसनलाई पूर्णरूपमा नकार्न हुँदैन। पुरानाहरू स्थापित पार्टी हुन्। उनीहरूका कमजोरी होलान् तर राम्रा भिजन र योगदान पनि हुन्छन्’, उनले भनिन्।

जेनजी प्रतिनिधि भावना राउतले युवाहरू मतदानका लागि उत्साहित छन् तर मतदान प्रक्रियाका जटिलता र असहयोगी संरचनाले उनीहरूलाई मताधिकार प्रयोग गर्नबाट बञ्चित गरिरहेको बताइन्।

‘युवामा मतदानप्रति उत्साह छ, तर विदेशमा रहेका र अन्तरजिल्लामा बसोबास गर्ने युवाका लागि मतदान प्रक्रिया अझै सहज बन्न सकेको छैन। अहिलेको निर्वाचन प्रणालीले सहजता प्रदान गरेको छैन। हामी चाहन्छौं विदेशमा बस्ने नेपाली नागरिकले मतदान गर्न पाएनन् भने पनि अन्तरजिल्ला मतदान गर्ने व्यवस्था गर्नुपर्छ, जुन निर्वाचन आयोगले व्यवस्था गर्न सकेको छैन’, राउतले भनिन्।

भावनाका अनुसार वैदेशिक रोजगारी, अध्ययन वा रोजगारीका कारण जिल्ला बाहिर रहेका लाखौं युवा मतदानका दिन मतदाता सूचीमा नाम भए पनि भौगोलिक कारणले मतदान गर्न असमर्थ हुन्छन्।

उनले युवालाई परिवर्तनको संवाहक भन्ने गरे पनि व्यवहारमा प्रणालीले उनीहरूलाई समेट्न नसकेको टिप्पणी गरिन्। ‘अहिलेको मतदाता शिक्षा जरुरी छ, खासगरी अघिल्लो पुस्ताले के दियो, अहिलेको पुस्ता के खोजिरहेको छ भन्नेबारेमा बुझ्नु–बुझाउनुपर्ने आवश्यकता छ। यसैगरी पहिलोपटक मतदान गर्ने पुस्ता अहिलेको अवस्थामा निर्णायक हो। त्यसकारण पनि मतदाता शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ’, राउतले भनिन्। 

प्रकाशित: २८ माघ २०८२ २१:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App