प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले शैक्षिक सत्र २०८३ को विद्यार्थी भर्ना प्रक्रियालाई सहज बनाएको छ। परिषद्ले प्रवेश प्रक्रिया, भर्ना र रजिस्ट्रेसनसम्बन्धी कार्य सञ्चालन मार्गदर्शन २०८३ जारी गरेपछि सहजता आएको हो। विगतमा एसइई परीक्षापछि प्राविधिक शिक्षातर्फ भर्ना हुन रस्साकस्सी हुने र भर्ना प्रक्रिया झन्झटिलो थियो।
मार्गदर्शनले सम्बन्धित शिक्षालयलाई प्रवेश प्रक्रिया र भर्ना रजिस्ट्रेसनमा अधिकारसम्पन्न बनाएको परिषद्का उपाध्यक्ष मोहमद साफीउल्लाले बताए। उनले परिषद्ले विद्यार्थीलाई केन्द्रमा राखेर जारी गरेको मार्गदर्शनले विगतमा एसइईपछि प्राविधिक शिक्षातर्फ भर्ना र विषय छनोटको अन्योलतासमेत हटाएको बताए। ‘मार्गदर्शन अनुसार परिषद् र यसका प्रदेश कार्यालयहरूले प्रवेश परीक्षा, छनोट, भर्ना र सिफारिस कार्य गर्ने छैनन्’, उपाध्यक्ष मोहमद साफीउल्लाले भने, ‘अब एसइई परीक्षा नतिजा प्रकाशन भएको भोलिपल्ट नै देशभरिका शिक्षालयले भर्नाका लागि सार्वजनिक सूचना प्रकाशन गर्ने अधिकार पाएका छन्। प्रत्येक शिक्षालयलाई जिपिएका आधारमा प्रवेश प्रक्रियादेखि विद्यार्थी भर्ना कार्यमा अधिकारसम्पन्न बनाइएको छ।’
उनका अनुसार भर्ना प्रक्रिया तथा प्रशिक्षार्थी भर्ना कार्य असार मसान्तभित्र गरिसक्नुपर्ने मार्गदर्शनले व्यवस्था गरेको छ।
विगतमा परिषद् र यसअन्तर्गतका कार्यालयले एसइई सम्पन्न भएको महिना दिनपछि बल्ल भर्ना खुलाउने, सबैतिर भर्ना भएपछि, केही बिदेसिएपछि बचे–रहेका विद्यार्थी मात्र प्राविधिक शिक्षातर्फ जाने प्रवृत्ति अब अन्त्य भएको उनले जनाए। सरकारले सिपमूलक प्राविधिक शिक्षालाई प्रोत्साहन गर्ने नीतिअन्तर्गत परिषद्ले सोहीअनुसार नीति अगाडि सारेको हो। ‘सामुदायिक विद्यालयमा कक्षा ९ र १० मा जुनसुकै धार वा जुनसुकै विषय अध्ययन गरेकालाई पनि परिषद्अन्तर्गत प्राविधिकतर्फका सबै विषय अध्ययन गर्न बाटो खोलिदिएको छ’, उपाध्यक्ष साफीउल्लाहले भने। उनले परिषद्को नयाँ व्यवस्थाले राज्यलाई आवश्यक पर्ने सिपमूलक दक्ष जनशक्ति उत्पादन गर्नमा जोड दिएको दाबी गरे।
हाल नेपालभरि परिषद् (सिटिइभिटी) अन्तर्गत ६७ आंगिक, सामुदायिक विद्यालयमा सञ्चालन ‘टेक’ कार्यक्रमअन्तर्गतका ८६० र सम्बन्धन प्राप्त शिक्षालयहरू ४५० गरी १३७७ शिक्षालय सञ्चालनमा छन्। यी शिक्षालयमा स्वास्थ्य शिक्षा र प्राविधिकतर्फ गरी ७५ हजार सिट कोटा निर्धारण रहे पनि बर्सेनि भर्ना प्रक्रिया झन्झटिलो हुँदा ५० प्रतिशत मुस्किलले भर्ना हुन्थे।
स्वास्थ्य तथा प्रविधि विज्ञान मञ्चका महासचिव निर्मल सापकोटाका अनुसार शिक्षालयका प्रमुखको अध्यक्षतामा विद्यार्थी प्रवेश प्रक्रिया तथा भर्नासम्बन्धी कार्यटोली गठन गरिएको छ। यो टोलीले मापदण्डकै आधारमा भर्ना तथा छात्रवृत्तिसम्मको छनोटमा अधिकारसम्पन्न बनाएर प्राविधिक शिक्षामा विद्यार्थीको पहुँच सुनिश्चित गरेको छ।
मापदण्ड अनुसार डिप्लोमा तहका स्वास्थ्य कार्यक्रममा भर्ना हुन विद्यार्थीले एसइईमा न्यूनतम २.० जिपिए अर्थात् ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्ने आधार मार्गदर्शनले तय गरेको छ। यसैगरी अन्य डिप्लोमा तहका कार्यक्रमका लागि न्यूनतम १.६ जिपिए प्राप्त गरेको हुनुपर्ने छ।
प्रकाशित: २५ वैशाख २०८३ १०:२३ शुक्रबार





