१५ चैत्र २०८० बिहीबार
शिक्षा

सरकारी विद्यालयले चर्को शुल्क असुल्दै

सरकारी विद्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेको पाइएको छ। दैलेखको दुल्लुनगर पालिकास्थित श्री विजया माध्यमिक विद्यालयले विद्यार्थीबाट विभिन्न बहानामा शुल्क असुल्ने गरेको पाइएको हो।

विद्यालयले भर्ना शुल्क, मासिक शुल्क, प्रयोगात्मक शुल्क, परीक्षा आवेदन शुल्क, रजिस्ट्रेशन शुल्कको नाममा विद्यार्थीबाट चर्को शुल्क असुल्ने गरेको पाइएको छ। नेपाल सरकारले सरकारी विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरेपनि यहाँका प्राय विद्यालयहरुले विभिन्न बहानामा अभिभावकबाट पैसा असुल्ने गरेको पाइएको हो।

अंग्रेजी माध्यमबाट पढाउने भनेपनि विजया माविमा पढाइ राम्रो हुन नसकेको अभिभावकहरु बताउँछन्। विजया माध्यमिक विद्यालयले कक्षा ६ देखी १२ सम्म विभिन्न बहानामा मासिक शुल्क उठाउने गरेको पाइएको हो। कम्तीमा ५ सयदेखी मासिक शुल्क विद्यालयले लिने गरेको अभिभावकहरुको भनाइ छ।

विभिन्न नाममा शुल्कहरु उठाउने गरेको दुल्लुनगर नगरपालिका–५ का रनुखानाका अभिभावक शुसिल रिजालले गुनासो गरे। ‘भर्ना शुल्क १५ सय, ८ सय मासिक शुल्क र परीक्षा शुल्क भनेर ६० रुपैयाँ बिना रसिद दिएको छु।’ अभिभावक शुसिल रिजालले भने, सरकारी विद्यालयमा मजदुरी गरेर कमाएको पैसा छोरा नाती पढाउन खर्च गर्नुपरेको छ।’

विजया माध्यमिक विद्यालय दुल्लु दैलेखले लिँदै आएको मासिक शुल्कको रसिद।  

विपन्न, पीछाडिएका र गरिब परिवारका छोराछोरीहरु शुल्क असुल्न थालेसँगै विद्यालयमा पढ्नै नसक्ने अवस्था आएको अभिभावकहरु बताउँछन्। ५ देखी ७ वटा शीर्षकमा शुल्कहरु विद्यार्थीबाट उठाएर नेपाल सरकारलाई बुझाउनुपर्ने भए पनि निजी श्रोतका शिक्षक र कर्मचारी व्यवस्थापनका लागि मासिक शुल्क उठाएको विजया माध्यामिक विद्यालयका दुल्लुका प्रधानाध्यापक केशव भण्डारीले स्वीकार गरे।

‘माध्यामिक तह निःशुल्क भनेपनि परीक्षा शुल्क प्रश्न पत्र तयार पार्नका लागि खर्च हुन्छ।’ प्रधानाध्यापक भण्डारीले भने, मासिक शुल्क निजी तहका शिक्षक र कर्मचारी व्यवस्थापन गर्न न्यूनतम उठाएको हो।’ ६ देखी १० कक्षासम्म अंग्रेजी माध्यम पढाउन विद्यालयले शुल्क लिने गरेको छ भने ११ देखि १२ कक्षामा चर्को मासिक शुल्क असुल्ने गरेको पाइएको हो।

प्रकाशित: ५ आश्विन २०७९ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App