७ माघ २०८२ बुधबार
image/svg+xml
शिक्षा

कोभिडका कारण विदेशमा उच्च शिक्षा पूरा गर्न नसकेकालाई मन्त्रालयले सम्बोधन गर्दै

विदेशमा उच्च शिक्षा हासिल गरिरहेका नेपाली विद्यार्थीहरु कोभिड महामारीका कारण पढाई बीचैमा छाडेर नेपाल फर्कनु परेको थियो। त्यसयता बन्दाबन्दीका कारण उनीहरु अझै फर्कन पाएका छैनन्।

एकातिर विद्यार्थी अधुरै शिक्षा लिएर नेपालमा बाध्यतावश बस्नु परेको छ भने अर्को तर्फ विदेशी शैक्षिक संस्थालाई बुझाइसकेको शिक्षण शुल्कहरु खेर गइरहेको अवस्था छ। साथै बन्दाबन्दीका कारण नेपालमा रोकिनु परेका विद्यार्थीहरुको शैक्षिक सत्र पनि अघि बढेको अवस्था छ।  

विशेष गरी चीन, जापान, बेलायतलगाएतका देशहरुमा कोभिड महामारीको जोखिम बढ्दै गएपछि त्रासपूर्ण वातावरणमा पढाई अगाडि बढाउन नसकेर विद्यार्थीहरु नेपाल फिर्ता भएका थिए। ति विद्यार्थीहरुको विशेष गरी मेडिकल, आइटी, इन्जिनियरिङ तर्फका हुन्। यस्ता विद्यार्थीहरुको पढाई सम्बन्धित देशमै पूरा गराउने र पीडित विद्यार्थीहरुको समस्या समाधानको लक्ष्यसहित सहजीकरण वातावरण तयार पार्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पहल गरेको छ। जसको लागि मन्त्रालयले चैत २५ गतेभित्र अध्ययन पूरा गराइदिने व्यवस्था सम्बन्धमा पीडित विद्यार्थीहरुबाट आवेदन मागसहितको सूचना सोमबार जारी गरेको छ।  

अब पीडित विद्यार्थीले आफ्नो नाम, ठेगाना, पासपोर्ट नम्बर, इमेल, सम्पर्क नम्बर, विश्वविद्यालय वा सम्बन्धित शैक्षिक संस्थाको नाम स्पष्ट उल्लेख गरी पढाई पूरा गराइदिनेबारे स्पष्ट आवेदन दिनुपर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए। यसका साथै पीडित विद्यार्थीले विश्वविद्यालयको ठेगाना, अध्ययनरत तह, शैक्षिक कार्यक्रम, अध्ययन अवधि, भाषा अध्ययनका लागि भर्ना भएको साल, मूल शैक्षिक कार्यक्रम अध्ययन सुरु भएको साल र अध्ययन पूरा हुने सालबारे स्पष्ट उल्लेख गर्नुपर्ने उनले बताए।  

‘विशेष गरी कोभिडको अवधिमा चीनलगाएतका देशहरुमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरु कोभिड महामारी अवधिमा नेपाल फर्किआएका थिए,’ प्रवक्ता शर्माले भने, ‘त्यसलगत्तै बन्दाबन्दी भयो। विद्यार्थी सम्बन्धित देश र शैक्षिक संस्थामा जान पाएनन्। विशेष गरी चीनमा मेडिकल शिक्षा हासिल गरेका विद्यार्थीहरुले अध्ययन पूरा गर्न नपाएको गुनासा मन्त्रालयमा प्राप्त भएको छ।’ उनले थपे, ‘पीडित विद्यार्थीले समस्या उजागर हुने गरी दिएको निवेदनको आधारमा मन्त्रालयले समस्या पहिचान गर्ने छ। अवस्था हेरेर समस्याको समाधान गर्न सहजीकरण गर्ने मन्त्रालयको लक्ष्य हो।’

विदेशी शैक्षिक संस्थालाई शुल्क वापत रकम पहिल्यै बुझाएका र जसोतसो गरी बैंकबाट ऋण लिएर विदेशी शैक्षिक निकायहरुमा उच्च शिक्षा हासिल गर्न व्यवस्था गरेका तर महामारी तथा बन्दाबन्दीकै कारण पढाई पूरा गर्न नसकेका विद्यार्थीहरुलाई आर्थिक, सामाजिक र मानसिक तनाव रहेको गुनासाहरु मन्त्रालयमा आएको उनले उल्लेख गरे। मेडिकलमा त प्रयोगात्मक पढाई नगरी डाक्टरी मान्यता पाउँदैन। चीनमा मेडिकल अध्ययन गरी प्रयोगात्मक पढाई गर्न नपाएका थुप्रै नेपाली विद्यार्थी कोभिडकै कारण नेपाल फर्किएका छन्।

प्रकाशित: २२ चैत्र २०७८ ०७:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App