coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

दुई किसिमको पढाइ भएको भन्दै विद्यार्थीले गरे प्रदर्शन

रौतहटको सदरमुकाम गौरस्थित जुद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरुले सोमबार विद्यालय प्रशासनविरुद्ध प्रदर्शन र तोडफोड गरेका छन्।

अँग्रेजी माध्यमका विद्यार्थीसित विद्यालयले चर्को शुल्क उठाएको र गरिब विद्यार्थीलाई अहिलेसम्म पाठ्यपुस्तक उपलब्ध नगराएको भन्दै विद्यार्थीहरुले प्रदर्शन र तोडफोड गरेका हुन्।

विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक चन्देश्वर राउतविरुद्ध चर्का नाराबाजी गर्दै तोडफोड गर्न थालेपछि प्रअसहित केही शिक्षक तथा कर्मचारीहरु विद्यालय छोडेर फरार भएका छन्। देशकै चौथो पुरानो विद्यालयमा पर्ने सो विद्यालयमा केही समयदेखि प्रदर्शन र तोडफोड हुँदै आएको छ।

सो विद्यालयमा अँग्रेजी र नेपाली माध्यम गरी दुई धारमा संचालन हुँदै आएको छ। अँग्रेजी माध्यममा पढ्ने विद्यार्थीसित विद्यालयले चर्को शुल्क असुल्दै आएको छ। दुई किसिमको पढाइ भएको भन्दै विरोध हुँदै आएको र चर्को शुल्क असुल गर्न नपाइने भन्ने आवाज उठ्दै आएको छ।  

निजी स्रोतबाट शिक्षक राखेर अँग्रेजी माध्यम संचालन गरिरहेको भन्दै विद्यालयले शुल्क उठाउँदै आएको छ। करिब एक दशक पहिले विद्यालयको स्रोत नभएको तथा स्थानीय सरकार नभएको समयमा अभिभावकहरुको भेलाले अँग्रेजी माध्यमको पढाइ गर्ने र शुल्क लागू गर्ने निर्णय गरेको थियो तर स्थानीय सरकार गठन भएर शिक्षाको सम्पूर्ण अधिकार स्थानीय सरकारमा आएपछि विद्यालयले शुल्क लिन नपाउने भन्दै विरोध हुँदै आएको छ।

गौर नगरपालिकाको कार्यालयले पनि विद्यार्थीसित कुनै किसिमको शुल्क लिन नपाउने भनी सूचना जारी गरिसकेको छ। नगरपालिकाको सूचना र निर्देशनविपरीत विद्यालयले शुल्क उठाएको भन्दै विरोध भएको हो। अनेरास्ववियुका केन्द्रीय सदस्य रवि मिश्रले विद्यालयका केही गरिब विद्यार्थीले अहिलेसम्म पाठ्यपुस्तक नपाएको र विद्यालयले नपाको निर्देशन विपरीत चर्को शुल्क उठाइरहेको बताउँदै विद्यालयले दुई किसिमको शिक्षा प्रदान गरिरहेको बताएका छन्।

प्रधानाध्यापक राउतको कारण विद्यालयको शैक्षिक र प्रशासनिक वातावरण पूर्ण रुपमा खल्बलिएको आरोप विद्यार्थीहरको रहेको छ। सोमबार विद्यार्थीहरुले गरेको प्रदर्शन र तोडफोडको क्रममा खानेपानीका ट्यांकीहरुमा क्षति पुगेको छ। यसै गरी केही बेन्च डेस्कमा पनि तोडफोड भएको छ।

प्रकाशित: २९ कार्तिक २०७८ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App