२३ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

१४ वर्षमा साढे १७ खर्बका परियोजना स्वीकृत

लगानी बोर्डले १४ वर्षमा साढे १७ खर्ब रुपैयाँ लगानीका ठूला परियोजना प्रस्ताव स्वीकृत गरेको छ।

बोर्डमा २०६९ सालदेखि २०८२ सालसम्ममा उक्त रकम बराबरका ठूला परियोजनाको प्रस्ताव स्वीकृत भएको हो।

स्वीकृत प्रस्तावमध्येका परियोजनाहरू २०७९ फागुन ६ गतेदेखि २०८२ असार ८ गतेसम्मका प्रस्तावित परियोजना रहेको लगानी बोर्डको कार्यालयले जनाएको छ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार चार वर्षमा १७ खर्ब १६ अर्ब ५२ करोड रुपैयाँ बराबरको लगानीका ठूला परियोजना प्रस्ताव स्वीकृत भएको हो। यस लगानीको ५५ वटा परियोजनाको प्रस्ताव स्वीकृत भएको अधिकृत ज्ञवाली बताउँछन्।

बोर्डमा सबैभन्दा धेरै लगानी प्रस्ताव ऊर्जा क्षेत्रमा आएका छन्। ऊर्जा क्षेत्रका ४० परियोजनाका लागि १३ खर्ब ९४ अर्ब ५६ करोड रुपैयाँ लगानी परियोजनाको प्रस्ताव स्वीकृत भएको छ भने सबैभन्दा कम लगानीको लागि ठोस फोहोर मैला व्यवस्थापन सम्बन्धी परियोजनाको प्रस्ताव स्वीकृत भएको छ।

तीन वटा फोहोर मैला व्यवस्थापनका लागि पाँच अर्ब ९० करोड रुपैयाँको लगानी स्वीकृत भएको छ। 

यसैगरी, सिमेन्ट उद्योग क्षेत्रका सात वटा उद्योगमा दुई खर्ब १६ अर्ब ६७ करोड रुपैयाँको लगानी प्रस्ताव स्वीकृत भएकोमा अटोमोबाइलको एउटा क्षेत्रमा १० अर्ब ५४ करोड रुपैयाँको लगानी स्वीकृत भएको लगानी बोर्डको तथ्याङ्कमा उल्लेख छ।

यस्तै, खाद्यान क्षेत्रको एउटामा नौ अर्ब ६८ करोड लगानीको स्वीकृत भएकोमा औद्योगिक पूर्वाधार पार्क एउटाका लागि ६४ अर्ब ९० करोड रुपैयाँ लगानी स्वीकृत भएको छ भने केबलकार एउटामा ५७ अर्ब ७४ करोड रुपैयाँ र एउटा होटलमा १३ अर्ब ९८ करोड रुपैयाँ लगानी स्वीकृत भएको बोर्डले जनाएको छ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार विगतका वर्षहरूमा ऊर्जा क्षेत्रमा बढी लगानीको प्रस्ताव आउने गरेको भए पनि अहिले विभिन्न क्षेत्रमा लगानीको प्रस्ताव आउने गरेको छ।

लगानीकर्ताले आयोजनाहरूमा लगानीको रुचि राखेर आएका प्रस्तावहरू रहेका छन्। प्रस्ताव स्वीकृत आयोजनाहरू विभिन्न चरणमा रहेकाले केही आयोजनाको सम्झौता भएर कार्यान्वयनमा रहेको बताउँदै अधिकृत ज्ञवालीले केही आयोजना अध्ययनको क्रममा रहेको र केही आयोजनाको सम्झौता भएको बताउँछन्।

स्वीकृत सबै आयोजना बहु वर्षीय आयोजना रहेका छन्। प्रस्तावित आयोजनामा अधिकांश विदेशी लगानीका आयोजना रहेको अधिकृत ज्ञवालीले बताए।

प्रणाली सुधार र तत्काल देखिने कामलाईसँगै अघि बढाउने प्रयास भइरहेको अधिकृत ज्ञवालीको भनाइ छ। अधिकृत ज्ञवालीले मुख्य तीन काम आफ्नो विशेष प्राथमिकतामा रहेको समेत बताएका छन्।

अधिकृत ज्ञवालीका अनुसार ४० वर्षदेखि छलफलमै सीमित रहेको कृषि मल कारखाना अब ठोस रूपमा अघि बढाउन मेहनत भइरहेको छ।

यसका लागि अन्तर्राष्ट्रिय कम्पनीहरू लगानी गर्न इच्छुक देखिएका छन् र यसलाई सफल बनाउने दिशामा बोर्ड सक्रिय रूपमा लागेको ज्ञवालीले बताए।

सुक्खा याममा बिजुली अभाव टार्न र वर्षा याममा बाढी नियन्त्रण गर्न स्टोरेज जलविद्युत् आयोजनालाई प्राथमिकतामा राखेर काम भइरहेको ज्ञवालीले बताए। यस्ता आयोजनाबाट सिँचाइ र खानेपानीमा समेत ठूलो राहत पुग्ने बोर्डले जनाएको छ।

रोजगारी सिर्जनाका लागि सूचना प्रविधि पार्क र भविष्यको ऊर्जाका रूपमा हरित हाइड्रोजनमा ध्यान केन्द्रित गरिएको छ।

नेपाललाई लगानीका लागि क्षेत्रीय रूपमा प्रतिस्पर्धी बनाउन कानुनी संरचना र काम गर्ने प्रक्रिया छिटो र सरल बनाउनै पर्ने आवश्यकता रहेको ज्ञवालीको भनाइ छ।

यसका लागि सरकारी कर्मचारी र बाहिरका विज्ञको संयोजनमा लगानीकर्तालाई छिटो सेवा दिने संयन्त्र तयार पार्ने योजना रहेको ज्ञवाली बताउँछन्।

प्रकाशित: २९ पुस २०८२ २१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App