अध्यात्मवादीहरू प्रायः भन्छन्, विज्ञानले हाम्रा पाँच ज्ञानेन्द्रियले देख्न, सुन्न, छुन, सुँघ्न वा स्वाद लिन सक्ने कुराहरू मात्र बुझ्न सक्छ । तर अध्यात्मले ध्यान, जप, तपस्या र साधनामार्फत इन्द्रियभन्दा परका सत्यहरू पनि बुझ्न सक्छ । त्यसैले विज्ञान अपुरो छ र अध्यात्म विज्ञानभन्दा माथि छ भन्ने उनीहरूको तर्क हुन्छ । यसका साथै उनीहरू हाम्रा प्राचीन शास्त्रहरूले क्वान्टम फिजिक्सदेखि ब्रह्माण्डका रहस्यसम्मका कुरा हजारौं वर्षअघि नै बुझिसकेको दाबी पनि गर्छन् ।
तर यो तर्कको आधार नै कमजोर छ । विज्ञान पाँच ज्ञानेन्द्रियले प्रत्यक्ष अनुभव गर्न सक्ने कुरामा मात्र सीमित छैन । बरु, हाम्रा इन्द्रियहरूको सीमिततालाई पार गरेर प्रकृतिका अदृश्य र सूक्ष्म पक्षहरू बुझ्ने विधि नै विज्ञान हो । हामीले आँखाले देख्ने प्रकाशका तरंगहरू वास्तवमा विद्युत् चुम्बकीय तरंगहरूको एउटा सानो अंश मात्र हुन् । पराबैजनी किरण, अवरक्त किरण, एक्स-रे, गामा किरण र रेडियो तरंगहरू हाम्रा आँखाले देख्न सक्दैनन् । त्यस्तै, मानिसले सुन्न सक्ने ध्वनिको आवृत्तिभन्दा बाहिर पनि ध्वनि तरंगहरू हुन्छन् । तर विज्ञानले यस्ता तरंगहरूको अस्तित्व पत्ता लगाएको मात्र छैन, तिनलाई नाप्ने, उत्पादन गर्ने, नियन्त्रण गर्ने र उपयोग गर्ने प्रविधिसमेत विकास गरेको छ ।
आज हामी रेडियो सुन्छौं, टेलिभिजन हेर्छौं, मोबाइल फोन चलाउँछौं, इन्टरनेट प्रयोग गर्छौं र रिमोटबाट उपकरणहरू सञ्चालन गर्छौं । यी सबै प्रविधिको आधारमा हाम्रो आँखाले देख्न नसक्ने विद्युत् चुम्बकीय तरंगहरूको वैज्ञानिक ज्ञान छ । प्रश्न उठ्छ, यदि विज्ञान पाँच ज्ञानेन्द्रियले अनुभव गर्न सक्ने कुरामा मात्र सीमित हुन्थ्यो भने यी प्रविधिहरू कसरी सम्भव भए ? विज्ञानले नदेखिने कुरालाई पनि उपकरण, गणितीय विश्लेषण, प्रयोग र प्रमाणका माध्यमबाट बुझ्न सक्छ भन्ने यो एउटा प्रत्यक्ष उदाहरण हो ।
विज्ञान र अध्यात्मबीचको अर्को आधारभूत भिन्नता ज्ञान प्राप्त गर्ने विधिमा छ । विज्ञानले कुनै कुरा छ भन्दैमा त्यसलाई तुरुन्तै सत्य मान्दैन । त्यसको अस्तित्व के आधारमा स्वीकार गर्ने, त्यसका विशेषता के हुन्, त्यसले कसरी काम गर्छ र त्यसको प्रभाव कसरी नाप्न सकिन्छ भन्ने प्रश्न गर्छ । कुनै दाबी गरिएको छ भने त्यसलाई परीक्षण गर्न सकिने आधार खोज्छ । प्रमाण पुगेन भने त्यसलाई सत्यको दर्जा दिँदैन । विज्ञानले थाहा नभएको कुरालाई थाहा छैन भन्न पनि सक्छ । यो कमजोरी होइन, वैज्ञानिक इमानदारी हो ।
उदाहरणका लागि गुरुत्वाकर्षणलाई हेरौं । गुरुत्वाकर्षणलाई हामी आँखाले देख्न सक्दैनौं, हातले छुन सक्दैनौं र कानले सुन्न पनि सक्दैनौं । तर वस्तुहरू पृथ्वीतर्फ खस्नु, ग्रहहरू सूर्यको वरिपरि परिक्रमा गर्नु र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्नुजस्ता घटनाहरूको अध्ययनबाट यसको प्रभाव बुझ्न सकिन्छ । वैज्ञानिकहरूले गुरुत्वाकर्षणका नियमहरू पत्ता लगाएका छन् र तिनलाई गणितीय रूपमा व्याख्या गर्न सकेका छन् । आइन्स्टाइनले गुरुत्वाकर्षणलाई अन्तरिक्ष र समयको वक्रतासँग जोडेर अझ गहिरो व्याख्या गरे । यसरी प्रत्यक्ष देख्न नसकिने घटनालाई पनि वैज्ञानिक अध्ययनबाट बुझ्न सकिन्छ ।
त्यस्तै, डार्क म्याटर र डार्क इनर्जीका विषयमा वैज्ञानिकहरू अनुसन्धान गरिरहेका छन् । यी दुवैलाई प्रत्यक्ष रूपमा देख्न वा सामान्य उपकरणले छुन सकिँदैन । तर आकाशगंगाहरूको गति, ब्रह्माण्डको विस्तार र अन्य खगोलीय अवलोकनबाट प्राप्त प्रमाणहरूले तिनको अस्तित्वसम्बन्धी परिकल्पनालाई बल दिएका छन् । वैज्ञानिकहरू तिनको वास्तविक प्रकृति पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेका छन् । यहाँ ध्यान दिनुपर्ने कुरा के हो भने विज्ञानले कुनै कुरा नदेखिएकै कारण अस्वीकार गर्दैन, तर त्यसको अस्तित्व स्वीकार गर्न परीक्षणयोग्य प्रमाण र तर्क खोज्छ ।
अध्यात्मवादीहरूले आत्मा, परमात्मा, ब्रह्म वा भौतिक जगतभन्दा परको कुनै परमसत्य ध्यान र तपस्याबाट अनुभव गर्न सकिने दाबी गर्छन् । तर ती कुरा वास्तवमा के हुन्, तिनको अस्तित्व कसरी प्रमाणित गर्ने र तिनले कसरी काम गर्छन् भन्ने प्रश्नमा उनीहरू प्रायः स्पष्ट उत्तर दिन सक्दैनन् । एक व्यक्तिले ध्यानमा शान्ति अनुभव गर्नु वा कुनै विशेष अनुभूति प्राप्त गर्नु उसको व्यक्तिगत अनुभव हुन सक्छ । तर त्यही अनुभवलाई ब्रह्माण्डको सार्वभौमिक सत्यको प्रमाण मान्न मिल्दैन । फरक धर्म, परम्परा र साधनाका मानिसहरूले एकअर्कासँग नमिल्ने आध्यात्मिक अनुभूति र निष्कर्षहरू पनि सुनाउँछन् । यदि ती सबै सत्य हुन् भने तिनको विरोधाभास कसरी समाधान गर्ने ? यदि कुनै एउटा मात्र सत्य हो भने त्यसलाई छुट्याउने आधार के हो ?
व्यक्तिगत अनुभूति र वस्तुगत प्रमाणबीचको भिन्नता बुझ्नु आवश्यक छ । सपना देख्नु वास्तविक अनुभव हो, तर सपनामा देखिएको घटना वास्तविक संसारमा पनि घटेको थियो भन्ने प्रमाण होइन । त्यस्तै, ध्यानमा कुनै दृश्य देखिनु वा कुनै अलौकिक शक्तिको अनुभूति हुनु त्यसको बाह्य अस्तित्वको प्रमाण होइन । मानिसको मस्तिष्कले भावना, स्मृति, अपेक्षा, विश्वास र वातावरणका आधारमा असाधारण अनुभूतिहरू सिर्जना गर्न सक्छ । त्यसैले अनुभूति हुनु र त्यसको व्याख्या सत्य हुनु दुई फरक कुरा हुन् ।
विज्ञानले पनि सबै कुरा जानिसकेको छैन । ब्रह्माण्डको उत्पत्ति, चेतनाको प्रकृति, जीवनको सुरुवात र डार्क म्याटरको वास्तविक स्वरूपजस्ता अनेकौं प्रश्न अझै अनुसन्धानकै क्रममा छन् । तर विज्ञानले कुनै प्रश्नको उत्तर थाहा छैन भन्दैमा त्यसको ठाउँमा आफूखुसी कुनै अदृश्य शक्ति वा परमसत्यको कल्पना गरेर त्यसलाई उत्तर मान्दैन । बरु, प्रश्नलाई खुला राख्छ र उत्तर खोज्ने प्रयास जारी राख्छ । विज्ञानको शक्ति नै यही हो । विज्ञान कुनै अन्तिम र पूर्ण ज्ञानको संग्रह होइन, निरन्तर परीक्षण, संशोधन र सुधार हुँदै जाने ज्ञान प्राप्तिको विधि हो ।
अब प्राचीन शास्त्रहरूले आधुनिक विज्ञानका सबै रहस्य पहिल्यै पत्ता लगाइसकेका थिए भन्ने दाबीतर्फ जाऔं । यस्तो दाबी गर्नेहरूले प्रायः विज्ञानले कुनै नयाँ तथ्य पत्ता लगाएपछि त्यससँग मिल्दोजुल्दो अर्थ लाग्ने शास्त्रीय वाक्य खोज्न थाल्छन् । तर विज्ञानले त्यसको व्याख्या गर्नुअघि नै शास्त्रका आधारमा कसैले त्यो तथ्य पत्ता लगाएर परीक्षणयोग्य रूपमा प्रस्तुत गरेको उदाहरण भने देखाउन सक्दैनन् । यसरी नयाँ वैज्ञानिक तथ्यलाई पछाडि फर्केर पुरानो ग्रन्थसँग जोडजाड पार्ने प्रवृत्तिलाई Retrospective Fitting भनिन्छ ।
उदाहरणका लागि, शास्त्रमा उल्लेख भएका 'सबै कुरा एकै हुन्', 'ऊर्जा नै ब्रह्म हो' वा 'सम्पूर्ण ब्रह्माण्ड एउटै चेतनाको अभिव्यक्ति हो' जस्ता दार्शनिक वा काव्यात्मक अभिव्यक्तिलाई क्वान्टम इन्टेङ्गलमेन्ट, ऊर्जा संरक्षणको नियम वा आइन्स्टाइनको प्रसिद्ध समीकरण E=mc² सँग जोड्ने गरिन्छ । तर शब्दहरू सुन्दा मिल्दोजुल्दो लाग्दैमा तिनले एउटै वैज्ञानिक अर्थ बोकेका हुँदैनन् । क्वान्टम इन्टेङ्गलमेन्ट एउटा निश्चित गणितीय आधार भएको भौतिक अवधारणा हो । त्यसलाई 'सबै कुरा एकअर्कासँग जोडिएका छन्' भन्ने सामान्य दार्शनिक भनाइसँग तुलना गरेर शास्त्रले क्वान्टम फिजिक्स बुझिसकेको थियो भन्न मिल्दैन ।
यदि प्राचीन शास्त्रहरूले आधुनिक विज्ञानका रहस्यहरू वास्तवमै पत्ता लगाएका थिए भने तिनमा इलेक्ट्रोनको चार्ज, प्रकाशको गति, परमाणुको संरचना, गुरुत्वाकर्षणको गणितीय नियम वा कुनै नयाँ रासायनिक तत्व पत्ता लगाउने स्पष्ट विधि किन भेटिँदैन ? ती ज्ञानका आधारमा नयाँ औषधि, खोप, कम्प्युटर, हवाईजहाज वा अन्तरिक्षयान किन विकास हुन सकेनन् ? यी प्रश्नहरूको उत्तर दिनुको सट्टा शास्त्रमा सबै कुरा पहिल्यै थियो भनेर सामान्य र प्रतीकात्मक वाक्यहरूको अर्थ आफूअनुकूल व्याख्या गर्नु बौद्धिक इमानदारी होइन ।
हिजोआज अध्यात्मवादीहरूले विज्ञानलाई आफ्नो प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढेको छ । एक कमजोर प्रतिद्वन्द्वीको हैसियतमा विज्ञानले यो गर्न सक्दैन, त्यो बुझ्न सक्दैन, विज्ञानको ज्ञान अध्यात्मको अगाडि नवजात शिशुजस्तै छ भन्नेजस्ता अभिव्यक्ति सुनिन्छन् । तर विडम्बना के छ भने, आफ्नो श्रेष्ठता प्रमाणित गर्नुपर्दा अध्यात्मवादीहरु फेरि नासाका वैज्ञानिक, पश्चिमा विद्वान् वा कुनै प्रसिद्ध वैज्ञानिकको नाम र भनाइको सहारा लिन पुग्छन् । अझ कतिपय अवस्थामा यस्ता भनाइहरू वैज्ञानिकले वास्तवमै भनेका हुँदैनन्, तर उनिहरुको नाम जोडेर प्रचार गरिन्छ । प्रश्न उठ्छ, यदि विज्ञानको आधार नै कमजोर छ र अध्यात्म विज्ञानभन्दा यति माथि छ भने आफ्नो श्रेष्ठता स्थापित गर्न वैज्ञानिककै प्रमाणपत्र किन चाहियो ? अध्यात्म वास्तवमै विज्ञानभन्दा श्रेष्ठ छ भने त्यसको पुष्टि आफ्नै स्वतन्त्र विधिका आधारमा हुनुपर्ने होइन र ? विज्ञानलाई कमजोर देखाउन पनि वैज्ञानिक ज्ञानकै सहारा लिने र अध्यात्मको महिमा गाउन पनि वैज्ञानिककै नाम भजाउने यो दोहोरो मापदण्ड आफैँमा विचारणीय छ ।
अन्ततः विज्ञान अपुरो छ भन्ने कुरा स्वीकार गर्नु र अध्यात्मले विज्ञानभन्दा परका सत्य प्रमाणित गरिसकेको छ भन्नु दुई अलग कुरा हुन् । विज्ञानले सबै कुरा जानिसकेको छैन, तर नजानेका कुरा पत्ता लगाउन परीक्षण, अवलोकन, तर्क र प्रमाणमा आधारित विधि विकास गरेको छ । कुनै कुरा रहस्यमय, गहिरो वा सुन्दर सुनिँदैमा त्यो सत्य हुँदैन । सत्य प्रमाणित हुन त्यसको आधार चाहिन्छ । विश्वास गर्न सजिलो हुन सक्छ, तर प्रमाण खोज्नु र आफ्नै धारणालाई समेत प्रश्न गर्न सक्नु नै वास्तविक ज्ञानको खोजी हो । विज्ञानलाई अपुरो देखाएर अप्रमाणित दाबीलाई सत्य स्थापित गर्न सकिँदैन ।
प्रकाशित: १४ कार्तिक २०८३ २०:३२ शनिबार





