नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल अन्ततः सञ्चालन हुने भएको छ।
लामो अन्योल र विवादपछि दुवै टोली मैदान उत्रिन सहमत भएका छन्। नयाँ तालिकाअनुसार राति ९ बजे टस हुने र ९:१५ बजेबाट खेल सुरु हुने म्याच रेफ्री वेन्डल लाब्रोएले जानकारी दिएका छन्।
यसअघि वर्षाका कारण मैदान ओसिलो भएपछि अम्पायरहरूले खेललाई ५–५ ओभरमा छोट्याउने निर्णय गरेका थिए।
सो निर्णयअनुसार साँझ ७:२५ बजे टस र ७:४१ बजे खेल सुरु गर्ने तयारी थियो। तर, ५ ओभरको खेल खेलाउने अम्पायरको निर्णयप्रति सुदूरपश्चिम रोयल्सले असहमति जनाएपछि विवाद सुरु भएको थियो।
विवाद समाधानका लागि सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, मुख्य प्रशिक्षक मिसबाह उल हक, नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का, म्याच रेफ्री, अम्पायर र क्युरेटरबीच मैदानमै लामो छलफल चलेको थियो। उक्त छलफल निष्कर्षमा पुग्न नसकेपछि कप्तान दीपेन्द्रसहित सुदूरपश्चिमका खेलाडीहरू मैदान छाडेर बाहिरिएका थिए।
सुदूरपश्चिमका खेलाडी बाहिरिए पनि विराटनगरका खेलाडीहरू भने मैदानमै प्रतीक्षा गरिरहेका थिए।
अन्ततः क्यान पदाधिकारी, म्याच रेफ्री र टोली व्यवस्थापनबीच पुनः भएको छलफलपछि खेल सुरु गर्ने वातावरण बनेको छ।
प्रकाशित: १४ कार्तिक २०८३ २१:०९ शनिबार





