८ वैशाख २०८१ शनिबार
शिक्षा

घोराही उपमहानगरमा शिक्षकको दरबन्दी मिलान कि ‘पायक’ मिलान?

घोराही उपमहानगरपालिकास्थित माबि ढिकपुरमा कार्यरत शिक्षक गिरीराज धिताललाई उपमहानगरपालिकाले दरबन्दी मिलानका क्रममा ‘अपायक’ सरुवा गरिदियो। उनि आफ्नो घर पायक भन्दा टाढा रहेको गंगा आधारभुत बिद्यालय सवारीकोटमा सरुवा भए। 

०७६ माघमा सरुवा पत्र पाएका उनि चैत देखि सवारीकोटमा हाजिर भए। तर अपायक थलोमा सरुवा गरिएको भन्दै उनले उच्च अदालत तुलसीपुरमा मुद्दा हाले। अपायकमा सरुवा हुँदा मर्कामा परेको भन्दै हालिएको मुद्दामाथिको कारबाही चल्दै थियो। तर उपमहानगरपालिका यो मुद्दामामिलामा फस्न चाहेन। उसले अपायकमा सरुवा गरिएका धिताललाई पुनः पहिलेकै बिद्यालयमा फर्काएर अदालती मुद्दाबाट मुक्ती पाउने निधो गर्यो। 

फलतः उसले धिताललाई अहिले पुनः पुरानै बिद्यालयमा बिद्यालयमा सरुवा फिर्ता गरेको छ। ‘अवायक सरुवाका कारण मर्कामा पर्यौँ भनेर हामीहरुले मुद्दा हालेका थियौँ,’ शिक्षक धितालले भने ‘तर अहिले उपमहानगरले पुनः पहिलेकै बिद्यालयमा सरुवा गरिदिएको छ।’ दसैँ अघि सरुवा गरिएका उनि दसैँपछि घर पायक रहेको माबि ढिकपुरमा हाजिर भैसकेका छन्।  

आफ्नो सरुवा घरपायकमा भएपछि शिक्षक धितालले मुद्दा पनि फिर्ता लिएका छन्। उपमहानगरको शिक्षा शाखाले उनलाई मुद्दा फिर्ता लिएको भनेर कागजै गराएको छ। यो कागजमा हस्ताक्षर गराएर मात्रै उपमहानगरले सरुवा पत्र थमाईदिएको छ। ‘सरुवा पायक परेका कारण मुद्दा फिर्ता लिएको छु भन्ने कागजमा हस्ताक्षर गराईएको हो,’ शिक्षक धितालले भने ‘यो कागज पछि मलाई सरुवा पत्र दिईएको हो।’

धितालसंगै अपायक सरुवा भएका माबि ढिकपुरका शिक्षक पृथ्वी चौधरीले पनि उपमहागनर विरुद्ध हालेको मुद्दा फिर्ता लिईसके। अपायकबाट पायक सरुवा गरिदिएको उपमहानगरले उनलाई पनि मुद्दा फिर्ता लिने कागजमा सहि गराईसकेको छ। उपमहानगरले शिक्षक दरबन्दी मिलानका क्रममा गंगा मावि रामपुरमा सरुवा गरिदिएको थियो। 

त्यसपछि उनि धर्ना स्थित जनता प्राबिमा सरुवा भए। अपायक भनेर उनले पनि मुद्दा हालिसकेका थिए। उपमहानगर उनको मुद्दा पनि सहजै सल्ट्याउने पक्षमा गयो। अनि उनलाई पनि घर पायक पर्ने त्रिवेणी प्रावि कर्मटियामा सरुवा गरिदियो। ‘मुद्दा फिर्ता लिने कागज गरेर मलाई सरुवा पत्र दिईएको हो,’उनले भने ‘तर बिद्यालयले मेरो पत्र बुझ्न भने मानिरहेको छैन।’ उनका अनुसार यो बिद्यालयका प्रधानाध्यापकले आफूलाई दबाब रहेको भन्दै उनको सरुवा पत्र बुझ्न मानेका छैनन्। ‘मलाई दबाब छ, मैले तपाईको पत्र बुझ्न सक्दैन भनेर मेरो पत्र प्रधानाध्यापकले बुझेका छैनन्,’ उनले भने ‘पत्र नबुझ्दा म हाजिर हुन भने पाएको छैन, तर मेरो सरुवा चाहिँ भैसकेको छ।’

अपायकमा सरुवा गरिएको तथा नीति उलंघन गरेको कारण देखाएर झण्डै १८ शिक्षकले उपमहानगर विरुद्ध मुद्दा हालेका थिए। शिक्षक सरुवाका कारण अदालती मुद्दा झेलेको उपमहानगरले यस सम्बन्धी परेका ५ शिक्षकको मुद्दा गराईसकेको छ। फलतः उसले दरबन्दी रिक्त नहुँदै शिक्षकहरुलाई सरुवा गर्ने निर्णय गरेको छ।

घर पायकमा सरुवा मिलाईदिएर केहि शिक्षकको मुद्दा फिर्ता गराईसकेको उपमहानगरले सबै शिक्षकहरुको मुद्दा फिर्ता लिने प्रयास गरिरहेको छ। तर पायक सरुवा नभएका शिक्षकहरुले भने मुद्दा फिर्ता सम्बन्धी उपमहानगरले तयार पारेकोसम्झौता पत्रमा हस्ताक्षर गरेका छैनन्। ‘तपाईलाई पनि पायकमै सरुवा गर्छौँ, मुद्दा फिर्ता लिनुस् भनेर मलाई हस्ताक्षर गर्न अनुरोध गरेका थिए,’मुद्दा हालेका मध्यका एक शिक्षकले भने ‘तर मैले मेरो सरुवा पायकमा छैन, कसरी सहि गर्ने भनेर मानेन।’

अदालतमा परेको मुद्धा फिर्ता लिनका लागि पायकमा सरुवा गर्ने उपमहानगरको योजनाको फाईदा भने शिक्षक संघ संगठनहरुले लिए। उनिहरुले कोटा बाँडेरै अन्य शिक्षकहरुको समेत दरबन्दी मिलानको निर्णय गरेका थिए। फलतः उनिहरुले सरुवा हुनुपर्ने ७१ जना शिक्षकको सुची तयार पारे। अनि उपमहानगरलाई बुझाए। उपमहानगरले यो सुचीलाई सदर गरिदियो। शिक्षक महासंघका एक पदाधिकारीका अनुसार कांग्रेस निकट नेपाल शिक्षक संघ तथा एमाले, माओबादी केन्द्र तथा बिप्लव नेतृत्वको नेकपा निकट शिक्षक संगठनका पदाधिकारीहरु बसेर भागबण्डामा शिक्षक सरुवाको निर्णय लिएका थिए। उनका अनुसार यो सुचीमा सबै भन्दा बढि कांग्रेस निकट शिक्षकहरु छन्।

त्यसपछि क्रमशः एमाले, माओबादी केन्द्र, र बिप्लव समुह निकटका शिक्षकहरु सुचीमा छन्। ‘शिक्षकहरुको अपायक सरुवाका बिषयमा मुद्दा परेपछि यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा शिक्षक संघसंगठनका साथीहरु बसेर निकास खोज्नु भएको हो,’ शिक्षक महासंघका ति पदाधिकारीले भने ‘अनि अपायक सरुवा गरिएका शिक्षक संगसंगै अरु शिक्षकहरुलाई पनि पायकमै सरुवा गर्ने भनेर उहाँहरुले निर्णय गर्नुभएको हो।’ यि बाहेक उपमहनगरसंगको निकटस्थ बनेका थुप्रै शिक्षकहरु पायकमा सरुवा भएका छन्।

प्रकाशित: २८ कार्तिक २०७८ १०:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App