१५ पुस २०८२ मंगलबार
image/svg+xml
शिक्षा

काठमाडौं विश्वविद्यालय उपकुलपति माकाजु

काठमाडौं, मंसिर २९ (नागरिक) - काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा डा. रामकण्ठ माकाजु श्रेष्ठ नियुक्त भएका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईले बिहीबार माकाजुलाई उपकुलपति नियुक्त गरेका हुन्। उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ।  

श्रेष्ठलाई दिउँसो फोनमार्फत् प्रधानमन्त्री कार्यालयबाट उपकुलपति नियुक्तिको जानकारी आएको स्कुल अफ हेल्थ साइन्सका प्रशासक दीपक दाहालले जानकारी दिए। 'पत्र आइपुगेको छैन, नियुक्तिको जानकारी मात्र आएको छ,' दाहालले भने।

२१ वर्षसम्म काठमाडौं विश्वविद्यालयका उपकुलपति रहेका सुरेशराज शर्माले कात्तिक २४ गते राजिनामा दिएपछि उक्त पद खाली थियो। नयाँ मेडिकल कलेजको सम्बन्धनलगायत विषयमा दबाब आएपछि शर्माले राजीनामा दिएका थिए। श्रेष्ठ एमाओवादीको लबिङबाट उपकुलपति नियुक्त भएका हुन्।
यसअघि मंसिर २४ गते सहकुलपति शिक्षामन्त्री दीनानाथ शर्मा संयोजक, सिनेट सदस्यहरू डा. लोकविक्रम थापा र दमननाथ ढुंगाना सदस्य रहेको समितिले श्रेष्ठको नाम सिफारिस गरेको थियो। धुलिखेल अस्पताललाई सफल र सामुदायिक स्वास्थ्य सेवामा नमुना संस्था बनाउने श्रेय उनलाई जान्छ। स्रोतका अनुसार आफूभन्दा वरिष्ठ डिनहरूको सहयोग लिएर काम गर्नु र नयाँ मेडिकल कलेजका लागि भइरहेको चलखेल रोक्नु उनका लागि प्रमुख चुनौती हुनेछन्।

'नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नमानेकाले शर्माले पद त्याग्नुपर्‍यो, शिक्षा मन्त्रीको चाहना थप कलेजलाई सम्बन्धन दिनुपर्छ भन्ने थियो,' स्रोतले भन्यो, 'कलेजलाई जथाभावी सम्बन्धन दिए श्रेष्ठको प्राज्ञिक छवि गुम्छ, यही सरकारले नियुक्त गरेकाले मन्त्रीको चाहनाविरुद्ध निर्णय गर्न उहाँलाईसजिलो छैन।'

मेहनती र संस्थाका लागि सहयोग जुटाउनसक्ने छवि बनाएका श्रेष्ठले अस्पताललाई यहाँसम्म ल्याइ पुर्‍याउन आफूले अध्ययन गरेको देश अस्ट्रियाबाट सहयोग जुटाएका थिए। उनले छात्रवृत्तिमा अस्ट्रियाबाटै एमबिबिए, डिए, र सर्जरीमा सुपरस्पेसियालिटी तहको कोर्स पूरा गरेका छन्। उनले १९९२ देखि १९९४ सम्म अस्ट्रियामै पूर्णकालीन सर्जन भएर काम गरेका थिए। त्यसक्रममा धुलिखेल नगरपालिकाका तत्कालीन मेयर बेलप्रसाद श्रेष्ठको आग्रहमा उनी नेपाल फर्किएर सन् १९९४ देखि धुलिखेल अस्पतालमा आबद्ध भएका थिए।
समुदाय तथा दातृनिकायबाट सहयोग जुटाएर उनले अस्पताललाई गुणस्तरीय र नमूना बनाएका छन्। सन् १९९४ देखि अस्पतालको नेतृत्व गरिरहेका छन्।

सन् २००१ देखि केयुले मेडिकल कलेज सुरु भएपछि त्यसमासमेत उनी आबद्ध छन्। सन् २००६ मा केयुअर्न्तगत पनि स्कुल अफ मेडिकल साइन्सेसलाई उनले स्वायत्त बनाए। उनी केयु सिनेट सदस्य, हेल्थ साइन्स एजुकेसन काउन्सिलका तर्फबाट सहायक डिनसमेत हुन्।

प्रकाशित: २८ मंसिर २०६९ २१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App