२२ पुस २०८२ मंगलबार
image/svg+xml
शिक्षा

विद्यार्थीको कप्तान र भाइस कप्तान छान्न चुनाव

इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा विद्यार्थीको कप्तान र भाइस कप्तान तथा हाउस कप्तान चयन गर्न शुक्रबार मतदान भएको छ । मतदानमा ६४२ जना अर्थात ८० प्रतिशत मत खसेको छ । 

विद्यार्थीबिचको चुनावी प्रतिस्पर्धा प्रक्रिया कुनै आवधिक वा स्थानीय तहको निर्वाचनको झझल्को दिने किसिमको थियो। निर्वाचनमा १२ पदका लागि ३९ जना विद्यार्थीबिच प्रतिस्पर्धा भएको हो । विद्यार्थीहरूले चार वटा मतदान केन्द्रमार्फत मतदान गरे ।

चुनावी प्रतिस्पर्धामा विद्यालयका कप्तान छात्र तर्फको प्रतिस्पर्धामा चार जना उम्मेदवार रहेका र छात्रातर्फ दुई जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत शिक्षक युवराज काफ्लेले बताए । उनका अनुसार सहायक कप्तानका लागि छात्रछात्रा तर्फ तीन–तीन जना उम्मेदवार रहेका छन् ।

यस्तै, हाउस कप्तान अन्तर्गत ग्रिन हाउसको कप्तानमा तीन र भाइस कप्तानमा दुई जनाबिच प्रतिस्पर्धा भएको छ । ग्रिन हाउसतर्फ १४८ मत खसेको छ । रेड हाउसतर्फ कप्तानमा आठ जना र भाइस कप्तानमा दुई जनाबिच प्रतिस्पर्धा भएको छ । रेड हाउसतर्फ १८८ मत खसेको छ ।

यस्तै, ब्लु हाउसमा कप्तानमा चार जना र भाइस कप्तानमा तीन जनाबिच प्रतिस्पर्धा भएको मुख्य निर्वाचन अधिकृत काफ्लेले जनाए । बुलु हाउसतर्फ १७१ मत खसेको छ ।  चुनावी प्रतिस्पर्धामा यल्लो हाउसतर्फ कप्तानका लागि दुई जना र भाइस कप्तानका लागि तीन जनाबिच प्रतिस्पर्धा भएको छ ।  यल्लो हाउसतर्फ १३५ मत खसेको छ ।

नेपालमा हुने निर्वाचन प्रक्रिया प्रणाली सिकाउन कक्षा ६ देखि १० सम्मका विद्यार्थीबिच चुनावको अभ्यास गराएको विद्यालयका प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अनुसार चुनावी प्रतिस्पर्धाले विद्यार्थीलाई पाठ्यक्रममै भएका विषयवस्तु निर्वाचन शिक्षा, नेतृत्व चयन र चुनावी प्रक्रियाबारे प्रयोगात्मक ज्ञान भएको छ ।

चुनावी प्रतिस्पर्धा अघि  उम्मेदवारी घोषणा, मनोनयन दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, चुनाव प्रचारप्रसार, मौन अवधि जस्ता आधारभूत क्रियाकलाप सबै पूरा गरिएको विद्यालयका सहायक प्रधानाध्यापक यमूना बस्नेतले बताइन् ।

उम्मेदवार बनेका विद्यार्थीले मत माग्ने, आफ्ना एजेन्डा प्रस्तुत गर्ने र मौन अवधिको नियमलाई कडा रुपमा पालना गरेको अर्का सहायक प्रधानाध्यापक लक्ष्मी सुवेदीले बताए ।

चुनाव बिहान १० बजेदेखि सुरु भएर २ बजेसम्म भएको र त्यसपछि मतगणना भएर शुक्रबार साँझसम्म अन्तिम नतिजा सार्वजनिक गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्कीले बताए ।

प्रकाशित: २३ जेष्ठ २०८२ १५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App