११ चैत्र २०८२ बुधबार
image/svg+xml
शिक्षा

'रेन्डम' सम्परीक्षण विधिले एसईई नतिजामा त्रुटि, सुधार गर्दै बोर्ड

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशनार्थ उत्तरपुस्तिका सम्परीक्षकले 'रेन्डम' उत्तरपुस्तिका परीक्षण गर्दा अत्यधिक त्रुटि हुने गरेको तथ्य फेला परेको छ। यो राष्ट्रिय परीक्षा बोर्डको अनुसन्धानले देखाएको हो। 

विगतमा एसईई  नतिजामा सम्परीक्षकहरूले २० प्रतिशत मात्र उत्तरपुस्तिका सम्परीक्षण गरी त्यसकै आधारमा अन्य उत्तरपुस्तिको पनि सम्परीक्षण भएको मान्ने विधिले धेरै विद्यार्थीहरू मर्कामा परेको देखिएपछि यस वर्ष बोर्डले सम्परीक्षण विधिमा परिमार्जन गरेको कक्षा १० का परीक्षा नियन्त्रक गणेश भट्टराईले बताए।

गत वर्षको नतिजामा पनि 'ए प्लस' ल्याउने धेरै विद्यार्थीहरू फेल भएको नतिजा प्रकाशन भएको थियो। यसले विद्यार्थीहरूमा अनावश्यक मानसिक तनाव देखिएको थियो।

‘यसकारण अब कोही पनि विद्यार्थीले अनावश्यक मानसिक तनाव खेप्न नपरोस् भन्ने उद्देश्यले यस पटक बोर्डले सम्परीक्षकलाई सबै उत्तरपुस्तिकाका सबै पानाहरू पल्टाएर सम्परीक्षण गर्न निर्देशन दिएको छ। उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण गर्न अभिमुखीकरण पनि गरियो,’ नियन्त्रक भट्टराईले नागरिकसँग भने।

उनका अनुसार गत वर्षसम्म एसईईको उत्तरपुस्तिका परीक्षण भएपछि सम्परीक्षण गर्दा २० प्रतिशत मात्र हेर्ने व्यवस्था थियो। 'यसले नै धेरै त्रुटि देखियो। यसकारण यस वर्षको नतिजालाई त्रुटिरहित बनाउन सम्परीक्षणमा पनि जोड दिएको छ। बोर्डले सबै उत्तरपुस्तिका पल्टाएर पाना-पाना हेर्नुपर्ने निर्देशन दिएको छ,' उनले भने।

नियन्त्रक भट्टराईले हाल देशभर ५० वटा केन्द्रहरूमा उत्तरपुस्तिका परीक्षणको कार्य सुरु भएको बताए। यसपटक कूल ५ लाख १७ हजार विद्यार्थीले एसईई परीक्षा दिएका थिए।

प्रकाशित: ७ जेष्ठ २०८२ १५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App