इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहार बिग्रिएपछि अभिभावकले निगरानी गरे। थाहा भयो, उनले लागुऔषध प्रयोग गर्न थालेका रहेछन्। ‘विद्यालय बन्द हुँदा साथीहरू भेला भएर फुटबल खेल्न गएँ भन्नेमा भर परियो। तर, नानी त कुलतमा फसिसकेको रहेछ,’ बालककी आमाले भनिन्, ‘विद्यालय जाँदा यस्तो थिएन, अहिले छुट्टीले साथीसङ्गतले बिगारेको छ।’
वैशाखमा नयाँ शैक्षिक सत्र सुरु भए पनि सामुदायिक विद्यालयमा भर्ना हुन सकेको छैन। विद्यालय बन्द छन्, विद्यार्थी घरमै छन्। शिक्षकलाई सरकारले माग पूरा गर्छ कि गर्दैन भन्ने चिन्ता छ, तर अभिभावकलाई बालबालिका बिग्रने पिरलो छ।
सूर्योदय नगरपालिका–७ का गणेश भट्टराईले विद्यालय नखुले बालबालिकालाई असर पर्ने बताए। ‘सहरका मात्र होइन, गाउँका बच्चा पनि गलत काममा लाग्न थालेका छन्। विद्यालय नहुँदा घरमा काम छैन, खराब सङ्गत र स्वतन्त्रताले धेरै बिग्रिए। यो विषय गम्भीर छ।’
जिल्लाका बजार र गाउँमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बढिरहेको सरोकारवालाले बताए। मानवअधिकार मञ्च नेपालका कार्यकारी निर्देशक देवेन्द्र विश्वकर्माले बालबालिकालाई लागुऔषधको कुलतबाट जोगाउन गाह्रो भइरहेको बताए। ‘बालबालिका कुलतमा फसिरहेको देखे वा थाहा पाए सचेत नागरिकले जिल्ला प्रशासन र प्रहरीलाई खबर गर्नुपर्छ। अभिभावक झन् सचेत हुनुपर्छ।’
हिमालय माध्यमिक विद्यालय, सूर्योदय नगरपालिका–१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले सरकारले शिक्षकका माग सम्बोधन गरी विद्यालय खोल्ने वातावरण बनाउनुपर्ने बताए। ‘यति दिनदेखि शिक्षक सडकमा हुँदा बालबालिका बिचल्लीमा परेका छन्। हामीलाई उनीहरूको चिन्ता छ। सरकारले हाम्रा माग पूरा गरेर विद्यार्थीप्रति संवेदनशील हुनुपर्छ,’ उनले भने।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले लागुऔषध नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम भइरहेको बताए। ‘लागुऔषधबाट बालबालिकालाई जोगाउन प्रहरीले विद्यालय र अन्य ठाउँमा चेतनामूलक कार्यक्रम गरिरहेको छ। जिल्लामा बाहिरबाट लागुऔषध भित्रिन र प्रयोग हुन नदिन प्रहरी सधैं सक्रिय छ,’ उनले भने। रासस
प्रकाशित: ९ वैशाख २०८२ ०८:४८ मंगलबार





