केन्द्राध्यक्षकै मिलेमतोमा कार्यालय सहयोगी नियुक्त गरी सुनसरीको बर्जुस्थित नेपाल राष्ट्रिय माविको परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने नक्कली परीक्षार्थीसहित दुई जना मङ्गलबार पक्राउ परेका छन्। नेरामाविका कार्यालय सहयोगी दिवस चौधरीका छोरा ०१००९८१६ बी सिम्बोल नम्बरका परीक्षार्थीका नाममा पुष्पा पण्डितले परीक्षा दिइरहेका बेला भेटिएपछि दुवै जना पक्राउ परेका हुन्। दुवैजनालाई मुद्दा चलाइएको छ।
घटनाक्रमअनुसार पुष्पा सोही नेरामावि कक्षा १२ उत्तीर्ण छात्रा हुन्। कार्यालय सहयोगी दिवसका छोराको परीक्षा दिनका लागि एसइईको सुरुवातदेखि नै उनलाई केन्द्राध्यक्ष हबिब मन्सुरीले कार्यालय सहयोगी नियुक्त गरी परीक्षा दिन लगाएको रहस्य खुलेको छ। शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीका प्रमुख खगेन्द्र सुवेदीले अभिभावकबाट स्थानीय अभिभावकबाट सूचना पाएर परीक्षा केन्द्रमा पुग्दा पुष्पालाई कार्यालय सहयोगी नियुक्त गरी पछाडिको कुनामा एउटा डेक्समा तीन जना राखेर उत्तरपुस्तिकामा लेखिरहेका बेला भेटिएको हो।
उनका अनुसार अरू सबै डेक्समा दुई–दुई जना विद्यार्थी भए पनि त्यो एउटा डेक्समा भने कार्यालय सहयोगी चौधरीका छोरासहित तीन जना भेटिए। कार्यालय सहयोगीका छोरा त्यत्तिकै बस्ने र उनको उत्तरपुस्तिकामा पुष्पाले लेखिरहेको भेटिएको सुवेदीले बताए। ‘पुष्पालाई कार्यालय सहयोगी नियुक्त गरी सोझै कक्षाकोठामा प्रवेश गराएर परीक्षा लेखाउने गरेको भेटियो,’ उनले भने, ‘पक्राउपछि पुष्पासँग सोधखोजी गर्दा सुरुवातदेखि नै परीक्षा दिएको स्वीकार गरेकी छन्।’
कार्यालय सहयोगी चौधरीका छोरा नेरामाविमा पढ्दै आए पनि कक्षा १० को फाराम भर्ने क्रममा नजिकै रहेको विद्यालय जनकल्याण माविबाट फाराम भरेर त्यसरी मिलेमतोमा परीक्षा दिन लगाइएको खुलेको छ। ‘कार्यालय सहयोगी चौधरीका छोरालाई त्यसरी मिलेमतोमा परीक्षा दिनका लागि दुवै विद्यालयका प्रधानाध्यापक (नेरामावि र जनकल्याण मावि) को संलग्नता हुनुपर्छ,’ शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सुवेदीले भने। उनका अनुसार सो परीक्षा केन्द्रमा सुरुवातदेखि नै कार्यालय सहयोगी चौधरीका छोरा रहेको कक्षाकोठामा खटिएका निरीक्षक शशिकला चौधरी, पूर्णिमा चौधरी, विनय चौधरी र वनवारी सरदारलाई पनि निष्कासन गरिएको छ। चारैजनालाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले तारेखमा छाडेका छन्।
यस्तै केन्द्राध्यक्ष हबिब मन्सुरी र कार्यालय सहयोगी चौधरीलाई पनि निष्कासन गरिएको छ। दुवैलाई तारेखमा छाडिएको छ। अहिले तत्काल दुई जनाविरुद्ध मुद्दा चलाए पनि अनुसन्धान भइरहेकाले पछि अरूलाई पनि मुद्दा चलाउन सक्ने सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताए। सुनसरीमा विभिन्न परीक्षा केन्द्रमा भएका बेथिति र गलत कार्यविरुद्ध नियमनकारी निकायले सूक्ष्म ढङ्गले निगरानी गर्दै आएको छ। यसमा अहिलेसम्म भगवती माविको परीक्षा केन्द्रबाट विद्यार्थीलाई उत्तर चोराउने तीन जना शिक्षक पक्राउ परेका छन्।
नियन्त्रणमा लिएका तीनै जना निरीक्षकले ह्वाट्सएप ग्रुप बनाई प्रश्नपत्र बाहिर पठाएर सबै प्रश्नको उत्तर लेखाउने अनि विद्यार्थीलाई सिकाउने गर्दै गर्दा पक्राउ परेका थिए। इनरुवाकै बबिया माविको परीक्षा केन्द्रबाट दुई जना निरीक्षकलाई निष्कासनमा परेका छन्। दुहबी र गढीका दुईवटा परीक्षा केन्द्रबाट पनि चार जना निरीक्षकलाई निष्कासन गरिएको छ। सुनसरीमा विशेषगरी निजी विद्यालयका सञ्चालकको आर्थिक प्रलोभनमा निरीक्षक फस्ने गरेको खुलेको छ। यहाँ ५० परीक्षा केन्द्रमा १३ हजार पाँच सय ७३ परीक्षार्थी सहभागी छन्।
प्रकाशित: १३ चैत्र २०८१ ०९:०६ बुधबार