५ वैशाख २०८२ शुक्रबार
image/svg+xml ६:८ पूर्वाह्न
शिक्षा

पानी खानकै लागि भेरी नदी झर्नुपर्ने विद्यार्थीको बाध्यता हट्यो

सुर्खेतको भेरीगंगा नगरपालिका – २ मोहटीस्थित सामुदायिक माध्यमिक विद्यालयका विद्यार्थीहरू एक महिनादेखि विद्यालयमै पानी खान पाउदैनथ्ये। पानी खानै परे १ घण्टा टाढा घर जानुपर्थ्यो । विद्यालयमा खानेपानी नहुँदा कतिपय विद्यार्थी नजिकै रहेको भेरी नदीमा तिर्खा मेटाउन समेत पुग्र्थे ।

तर, अहिले त्यो खानेपानीको समस्या हटेको छ । विद्यालयमै पहिलो पटक खानेपानी ल्याइएपछि समस्या हटेको हो । त्यति मात्र होइन सुविधा सम्पन्न छात्र र छात्राहरूका लागि छुट्टा/छुट्टै शौचालय समेत बनाइएपछि विद्यार्थीहरूमा खुसी छाएको छ । उक्त विद्यालयमा १ देखि २ घण्टा टाढाबाट विद्यार्थीहरू पढ्न आउने गर्दछन् । शौचालय र खानेपानी अभावले प्रायः छात्राहरू महिनावारी भएको समयमा नजाने समस्या उस्तै थियो ।

विद्यालयमा पानी ल्याउन नजिकै खानेपानीको मुहानहरू छैनन्। जसका कारण विद्यालय हाताभित्रै ९ लाख रकम खर्चेर बोरिङ हालेपछि खानेपानी आएको हो। पानी आएपछि शौचालय सम्मलाई सहयोग पुगेको छ।

विद्यालयमा पढ्न आउँदा खानेपानी नभएर निकै गाह्रो हुने गरेकोमा अहिले त्यो समस्या समाधान भएको विद्यार्थी विनिता शाहीले बताइन् । ‘विद्यालयमा खानेपानी नहुँदा गर्मी समयमा निकै समस्या हुने गर्दर्थे ।’ विद्यार्थी विनिता शाहीले भनिन्, विद्यालयभित्रै खानेपानीको सुविधा र शौचालय बनेपछि पठनपाठनमा धेरै कुराले सहज भएको छ ।’

खानेपानीमा ९ लाख र शौचालय बनाउन १३ लाख रकम दातृ निकायको सहयोगमा खर्चिएको एकीकृत विकासका लागि कर्णाली नेटवर्कका कार्यकारी निर्देशक नारायण गिरीले बताए । 

‘विद्यालयमा खानेपानीको निकै समस्या भएको नगरपालिका मार्फत खबर आएपछि आफूहरूले वल्र्डशेयर कोरियाको सहयोगमा शौचालय र खानेपानी बनाएको हो ।’ कार्यकारी निर्देशक गिरीले भने, खानेपानी र शौचालय बनेपछि विद्यार्थीहरूमा खुसी छाएको छ।’

विद्यालय र बस्तीमा खानेपानीको निकै समस्या भएको बेला संस्थाले शौचालय र खानेपानी विद्यालयलाई हस्तान्तरण गरेर निकै राम्रो काम गरेको भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताए । ‘विगतमा यहाँ आउँदा प्यासले विद्यार्थीहरुको आँखामा आशु झर्ने गरेको थियो ।’ नगर प्रमुख ढकालले भने, नगरपालिकासँगको समन्वयमा संस्थाले शौचालय र खानेपानी व्यवस्थापन गरेर राम्रो काम गरेको छ ।’  

प्रकाशित: २६ फाल्गुन २०८१ १८:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App