९ पुस २०८२ बुधबार
image/svg+xml
सम्पादकीय

दाउन्नेको दिक्दारी

नारायणगढ–बुटवल खण्डको दाउन्ने यतिबेला विकास निर्माणमा भएका ढिलाइको नमूना बनेको छ। तीन वर्षअघि नै सम्पन्न हुनुपर्ने यो मार्ग आज त्यसको दोब्बर अर्थात ६ वर्ष बित्दा पनि उस्तै सास्तीमय छ। जसले बटुवालाई मात्र हैन, सवारीमा यात्रा गर्नेलाई समेत हैरान पारिसकेको छ। अझ खुला सवारीमा यात्रा गर्नेले त यो बाटो पार गर्दा कपडा र जिउ छोप्ने ‘कभर’ बोक्नुपर्ने बाध्यता छ। त्यसैले यतिबेला दाउन्नेको बाटो हुँदै यात्रा गर्ने खबरले नै यात्रुको दिमाग भाउन्न हुन्छ।

कुन मार्ग वा काम कति समयमा निर्माण सम्पन्न भइसक्नुपर्छ भन्ने ठेक्का लाग्दा नै तय भएको हुन्छ। कुनै कारणवस काम सम्पन्न नभएमा मनासिब कारणसहित समय थपमा केही सोचविचार गर्न सकिएला। तर धेरैपटक म्याद थप्नु, त्यो पनि उचित कारण दिन नपर्नु तथा अझ उल्टै पैसा थपिदिनु नेपाली सन्दर्भमा सामान्य विषय बनिसकेका छन्। यस्तो अवस्थाले न ठेकेदारले बेलैमा काम सक्नुपर्ने बाध्यता आइलाग्छ न त काम सम्पन्न गराउने जिम्मेवारीमा बसेका कर्मचारी नै कसैप्रति उत्तरदायी हुनुपर्छ।

दाउन्नेको कुरा गर्ने हो भने तेस्रोपटक म्याद थपिसकिएको छ। जसअनुसार २०८२ साउन ८ गतेभित्र यो सडक खण्डको काम सकिनुपर्छ तर दुःखका साथ भन्नुपर्छ, तेस्रोपटकको अन्तिम अवधिसम्म पनि काम सकिने छाँटकाँट छैन किनकि अहिलेसम्म ६३ प्रतिशत मात्र काम सकिएको छ। त्यसैले निर्धारित अवधिमा बाँकी काम सकिने आशा गर्न सकिए पनि भरै पर्न सकिने अवस्थाचाहिँ देखिन्न। जसलाई यो कार्यमा लागिरहेका सरकारी कर्मचारीसमेत स्वीकार गर्छन्।

वास्तवमा दाउन्ने सडक खण्डको करिब १३ किलोमिटर सडक वर्षौँदेखिको सकस खुवाइरहेको छ सर्वसाधारणलाई। जसबाट पैदल यात्रु र सवारी यात्रु मात्र हैन, चालकहरूसमेत हैरान छन्। पानी पर्दा हिँलो र घाम लाग्दा धुलोले उत्तिकै सताउँछ। निर्माणका क्रममा बाटो साँघुरो बनाइएकाले सरर अघि बढ्नसमेत पाइन्न। सवारीको झ्याल लगाउँदा गर्मीले सताउँछ र अक्सिजनसमेत कमी भई स्वास्थ्य समस्या सिर्जन्छ भने सिसा नलगाउँदा मुठीका मुठी धुलो निल्नुपर्ने र कपडा धुलाम्मे पार्नुपर्ने हुन्छ। जसका कारण यो खण्डको सडक वर्षौँदेखि त्रासदिको अर्को नाम बन्न पुगेको छ।

उचाइमा रहेको, गर्मी याममा केही शितलता प्रदान गर्ने र नारायणगढ र बुटवल दुवैतिरबाट आउँदा आरामका लागि पनि उपयुक्त क्षेत्र भएकाले र हरियालीसमेत कायम रहेका कारण यहाँ होटलहरू पनि निकै खुलेका छन्। अहिले यो क्षेत्रमा सवारी रोक्ने वातावरण नै नभएका कारण यसको सोझो मार ती होटल व्यवसायीलाई पनि प्रत्यक्ष परेको छ। कतिपय होटलवाला त व्यवसायका लागि लिएको ऋणको सावाँ र ब्याज तिर्न नसकेर पलायनसमेत भइसकेका छन्। यसरी हेर्दा दाउन्ने शब्द यतिबेला सबै क्षेत्रका लागि दिक्दारी दर्शाउने पर्याय हुन पुगेको छ।

नेपालमा सबै सरकारी काम ठेक्कामा लगाउने प्रचलन छ। र, यही ठेक्कामा काम गराउनकै लागि विभिन्न सरकारी निकाय गठन भएका छन्। तिनमा इन्जिनियर, ओभरसियर जस्ता प्राविधिकदेखि प्रशासनिक तहका हाकिमसम्म रहन्छन्। यिनको मुख्य काम यस्तै निर्माण गराउने हो तर विडम्बना नै भन्नुपर्छ, अर्कालाई काम लगाउनसमेत यस्ता ‘हाकिम’ हरू सक्षम देखिएका छैनन्। जसको असर सर्वसाधारणले भोगिरहनुपरेको छ। आखिर उनीहरूले त काम सम्पन्न गराउन नसके पनि तलव सुविधा पाउँछन् नै।

कुरा दाउन्नेको मात्र हैन, नेपालका सयौँ निर्माणका काम यतिबेला दाउन्नेकै नियति भोगिरहेका छन्। टाढा जानै पर्दैन, काठमाडौँको मुटुबाट मात्र ३० किलोमिटर टाढाको धुलिखेल–खावा सडक खण्ड बिल्लीबाठ भएर अलपत्र बनेको वर्षौँ बितिसकेको छ। त्यसैले नयाँ निर्माणका नाममा भएका संरचना भत्काउनु तथा तिनलाई समयमै सम्पन्न गर्न नसक्नु नेपालको निकै ठूलो रोग हो। अझ योभन्दा पनि ठूलो रोग न काम सम्पन्न गर्न नसक्नेलाई कारबाही हुने न त सम्पन्न गराउन नसक्नेलाई नै सजाय हुनु हो। त्यसैले यो रोगको सही उपचार अपनाएसम्म दाउन्ने रोग सरुवा बनेर अन्यत्र झनै फैलिनेमा शंका छैन।  

प्रकाशित: ५ वैशाख २०८२ ०५:५४ शुक्रबार

Download Nagarik App
Download Nagarik App