रोङ गाउँपालिकाको कार्यपालिका बैठकमा प्रतिव्यक्ति एक रुपैयाँ बचत गरेर विद्यार्थीको भविष्यको पढाइलाई खर्च जोहो गर्नुपर्छ भन्ने प्रस्ताव आउँदा धेरैलाई अचम्म लाग्यो । एक रुपैयाँले कहिले कति रुपैयाँ जम्मा गर्न सकिएला र विद्यार्थीको भविष्य बन्ला, धेरैलाई अनौठो नलागेको होइन ।
तर, पोहोर मंसिरदेखि कार्यान्वयनमा आएको यो कार्यक्रमले वर्षदिन पार गर्दा एक रुपैयाँबाट ३१ लाख रुपैयाँ संकलन भएको छ, विद्यार्थीको खातामा । यहाँका ३० सामुदायिक विद्यालयका विद्यार्थीले प्रत्येक दिन एक रुपैयाँ बचत गर्दा कुल ३१ लाख १७ हजार रुपैयाँ पुगेको कार्यक्रमका पोकल पर्सन खगेन्द्र धमलाले जानकारी दिए । विद्यार्थी विद्यालयमा हाजिर भएको दिनको थप एक रुपैयाँ पालिकाले पनि थपिदिनेगरेको छ । विद्यार्थीले आफ्नो खातामा प्रतिदिन एक रुपैयाँभन्दा बढी पनि जम्मा गर्न पाउँछन् । प्रत्येक विद्यार्थीको खाता खोल्दा यो रकम जम्मा गरिने प्राइम बैंकले एक सय रुपैयाँ बचत गरिदिने गरेको छ ।
विद्यार्थीले पालिका तहमा पाइने शिक्षा लिइसकेपछि पालिकाकै सिफारिसमा बचत फिर्ता लिन पाउँछ । बीचैमा पालिकाभित्रको अर्काे स्कुल पढ्न जाने विद्यार्थीको बचत पनि सम्बन्धित स्कुलमै सार्ने व्यवस्था छ । पालिकाबाहिरको स्कुल गए त्यस दिनसम्म जम्मा भएको बचत विद्यार्थीले लैजान पाउने धमलाले जानकारी दिए । अहिले अभिभावकले सञ्चालन गर्नेगरी विद्यार्थीको नाममा बचत खाता खोलिएको छ । कुन विद्यार्थीले कुन महिना कति रकम जम्मा गरेको छ भन्ने विवरण राख्न र हेर्न पालिकाले छुट्टै सफ्टवेयर सञ्चालन गरिरहेको छ ।
अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत पालिकाले यो कार्यक्रम कार्यान्वयन गरिरहेको छ । अहिलेसम्म पालिकाका दुई हजार तीन विद्यार्थी बचत कार्यक्रममा सहभागी रहेको उनले जनाए । बढ्दो खर्चिलो शैक्षिक अवस्था मध्यनजर गर्दै बालबालिकाको उच्च शिक्षामा हुने खर्चलाई समाधान गर्न र अनावश्यक खर्च कटौती गरी बचत गर्ने बानी बढाउन यो कार्यक्रम लागु गरिएको पालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास)ले जानकारी दिए । ‘यसले वित्तीय साक्षरता अभिवृद्धि गर्न, विपन्न परिवारका बालबालिकाको शिक्षामा पहुँच बढाउन पनि सघाउने छ,’ उनले भने, ‘गाउँस्तरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर नबढाएसम्म शैक्षिक क्षेत्रमा सुधार हुने सम्भावना छैन ।’
उसो त पालिकाले अभिभावक शिक्षा, शिक्षकलाई सीप विकासलगायत कार्यक्रम पनि ल्याएको छ । प्रत्येक महिनाको अन्तिम शुक्रबार अभिभावक नै विद्यालयमा गइ अध्ययन गर्नुपर्ने बाध्यकारी व्यवस्था गाउँपालिकाले नीतिगत रूपमै कार्यान्वयन गरिरहेको छ । ‘सामुदायिक स्कुलको शिक्षा सुधारका लागि पालिकाले परिणाममुखी काम गर्न प्रयास गरिरहेको छ,’ अध्यक्ष स्याङ्बो भन्छन्, ‘तर, पालिकाको एक्लो प्रयासले सम्भव छैन, अभिभावक, विद्यार्थीलगायत सबै लाग्नुपर्छ ।’
प्रकाशित: ११ फाल्गुन २०८१ १४:४१ आइतबार





