२७ आश्विन २०८१ आइतबार
image/svg+xml
शिक्षा

आत्मविश्वासी वेदप्रसाद

त्रिभुवन विश्वविद्यालयले स्थापना गरेको वेदप्रसाद लोहनी स्वर्ण पदक पुलचोक क्याम्पसमा एक कार्यक्रमबिच विद्यार्थी अश्विन ओलीलाई प्रदान गरियो। त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पुलचोक क्याम्पसमा एमएस्सी स्ट्रक्चरल इन्जिनियरिङमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई उक्त पदक दिने गरिन्छ।

पुरस्कार प्राप्त गर्ने ओली हाल उच्च शिक्षाका लागि अमेरिकामा अध्ययनरत रहेकाले उनका बुबा हिमराज ओलीलाई पदक तथा प्रमाणपत्र र आमा लक्ष्मी केसी ओलीलाई नगद ५० हजार रूपैयाँ इन्जिनियरिङ संकायका निमित्त डिन विनोदकुमार भट्टराईले हस्तान्तरण गरे।

कार्यक्रममा सिभिल इन्जिनियरिङ डिपार्टमेन्टका प्रमुख गोकर्णबहादुर मोत्र, वरिष्ठ स्ट्रक्चरल इन्जिनियर मनोहर राजभण्डारी, प्रा. भरत शर्मा र पूर्व डिन सुदर्शनराज तिवारीले वेदप्रसाद लोहनीको आँटिलो र निर्णायक देनबारे प्रकाश पारेका थिए।

शिक्षक, प्राविधिक, योजनाकार, उद्योगी, प्रशासक, आध्यात्मिक चिन्तकका साथै फोटोग्राफरका रूपमा परिचित लोहनीले २०१३-१४ सालमा राजा महेन्द्रको पूर्वपश्चिम भ्रमणका तस्बिर खिचेका थिए। उनले कलकत्ता गएर आफैंले संगीत भरेको गीतसमेत गाएका थिए। उनले हार्मोनियम र सितार राम्रोसँग बजाउँथे। उनीसँग ज्योतिष शास्त्रको समेत ज्ञान थियो।

उनी १९९८ सालमा खुलेको नेपाल इन्जिनियरिङ स्कुलका संस्थापकमध्येका एक थिए। उनी ज्यामितीको किताब नेपालीमा लेख्ने पहिलो नेपाली हुन्। २००२ सालमा सरस्वती सदनको निर्माणमा प्राविधिक संयोजन गरेर नेपाललाई सिमेन्ट-ढलान युगमा पुर्‍याउने व्यक्ति हुन् उनी।

त्यतिबेलाको समय र परिवेशलाई विचार गर्दा यो अत्यन्त ठुलो देन थियो। सिमेन्ट ढलान निर्माण प्रविधि नेपालमा ढिलोचाँडो आउँथ्यो नै, किनकि यो समयको माग थियो। यस कार्यमा लोहनीको योगदान ऐतिहासिक रह्यो।  

२००० सालमा श्री ३ जुद्ध शमशेरको चाहना सिमेन्टको भवन निर्माण गर्ने भयो। त्यति बेला मुलुकमा भएका ६ जना इन्जिनियरलाई बोलाइयो। त्यस्तो भवन निर्माण गर्ने आँट कसैले देखाउन सकेनन्। स्नातक उपाधिप्राप्त वेदप्रसाद लोहनीले आँट गरे।

लखनउको इन्स्टिच्युटमा पढेको विद्या र आफूले बम्बईमा स्वअध्ययनबाट आर्जन गरेको इन्जिनियरिङको ज्ञानमा उनलाई पूरा विश्वास थियो। उनले सरस्वती सदनको डिजाइन गरे। कहिल्यै त्यस्तो निर्माण नदेखेका कामदारलाई आफैंले काम गरेर सिकाए। अहोरात्र खटेर अन्ततः निर्माण सम्पन्न गरेर देखाए। त्यस भवनमा करिब १० किसिमका इन्जिनियरिङ तरिका प्रयोग गरिएका छन्।

सुरुमा मूल ढोकामाथिको १० फिटको क्यान्टिलिभर अर्थात् छज्जामुनिबाट भवन छिर्दा र बाहिर आउँदा उफ्रिएर भित्रबाहिर गर्थे भन्ने भनाइ छ। यो हावामा यसरी अडिनै सक्दैन र जुन बेला पनि खस्न सक्छ भन्ने डर थियो। यसबारे तर्क–वितर्क हुन्थ्यो। जनस्तरमा यो प्रविधि पुर्‍याउन सजिलो थिएन।

त्यतिबेला अलि फरक घर बनाउन पनि महाराजबाट अनुमति लिनुपथ्र्यो। झन् सिमेन्टको घरको त कुरै भएन। अनुमति लिनु नै पथ्र्यो। महाराजबाट अनुमति लिएरै उनले तत्कालीन आवश्यकताअनुसारको सिमेन्टका घरहरू बनाउन सुरु गरे।

प्राविधिकका रूपमा उनी भवन निर्माणमा मात्र सीमित थिएनन्। बालाजुमा निर्माण गरिएको नेपालको पहिलो पानी फिल्टरेसन उनले नै डिजाइन गरेका थिए। उनी सडक निर्माणमा पनि लागे। उनको योजना थियो काठमाडौंभित्रका मूल सडक सिमेन्ट-कंक्रिटका बनाउने। त्यसअनुरूप उनले पहिलो चरणमा भोटाहिटीदेखि एयरपोर्टसम्मको बाटोको परिकल्पना गरे र नेपालको पहिलो सिमेन्टर्‍कंक्रिटको सडक बनाए।

योजनाकारका रूपमा श्री ३ मोहन शमशेरको अध्यक्षतामा गठन भएको नेपालको पहिलो योजना आयोग, त्यति बेला बोर्ड भनिएको थियो, त्यसमा उनले सदस्य रहेर काम गरे। यसअघि २००१ सालमा आफ्नै छोराको नाममा उनले प्रकाश इन्जिनियरिङ कम्पनी खोले। त्यसमार्फत भारतको कलकत्तास्थित मार्टिन बर्नस लिमिटेडको नेपालका लागि डिस्ट्रिब्युटर बने।

त्यतिबेला नेपाल आएका फलामका सामग्री उनले नै भित्र्याएका थिए। बेलायतबाट रोयल इन्फिल्ड मोटर साइकल पनि उनले नै भित्र्याएका थिए। व्यापारबाट प्रशस्त पैसा कमाए। मुलुकको विकास गर्न सिमेन्ट नभई हुँदैन भन्ने ठहर गरेर उनले हेटौंडा सिमेन्ट कारखानाको परिकल्पना गरे।

त्यसको स्थापनाको सम्पूर्ण काम पूरा गरेपछि अमेरिकाको मिल्वाकेस्थित एलिस च्याम्बर कम्पनीलाई मेसिन बनाउन २००६ सालमै ६ लाख रूपैया पेस्की पनि पठाए। त्यतिबेला २०० रूपैयाँमा काठमाडौंभित्र १ रोपनी जमिन पाइन्थ्यो। यसका कागजातहरू अहिले पनि छन्। उनको यो परिकल्पना नै अहिलेको हेटौंडा सिमेन्ट फ्याक्ट्री हो।

राजा महेन्द्रको पूर्वपश्चिम भ्रमणका बेला उनी कार्यपालिकाका सचिव थिए। ८७ वर्षको उमेरमा निधन हुनु अगाडिको करिब ३० वर्ष उनले आध्यात्मिक चिन्तन गरेर बिताएका थिए।

यस क्रममा चतुर्मासभरि उनी कहिले देवघाट त कहिले बुढानीलकण्ठको मन्दिरमा श्रीमद्भागवत सुनाएर बस्थे। आफ्नो मुलुकलाई अत्यन्त माया गर्ने कर्मवीर र आध्यात्मिक व्यक्ति वेदप्रसाद लोहनीको जीवन आत्मविश्वास, आत्मसम्मान र संघर्षले भरिएको छ।

प्रकाशित: २२ भाद्र २०८१ ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App