१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
शिक्षा

शिक्षाको पहुँचमा छैनन् ‘अपांग बालबालिका’

फाइल तस्बिर

शुभकालिका गाउँपालिका–५ की मिमकोसा घर्तीकी १२ वर्षीया छोरी अपांग छिन्। शारीरिक अपांगता भएकी छोरीको पढ्ने इच्छा अधिक छ। तर, उनी स्तरयुक्त शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्।

‘छोरी हिँडडुल गर्न सक्दिनन्। उनलाई पढ्ने इच्छा धेरै छ। नजिक उपयुक्त विद्यालय नहुँदा पढ्न गएकी छैनन्,’ आमा घर्तीले भनिन्, ‘साथीले पढेको देख्दा पढ्न खोज्छे। विद्यालय नजिक छैन।’ उनलाई केही समय पहिला घरमै पढ्ने व्यवस्थासमेत थियो। तर, अहिले किर्डाक नेपालको कार्यक्रम सकिएपछि विद्यालय लैजान नसकेको उनले बताइन्। यसरी नै कालिकोटका सबै स्थानीय तहमा अधिकांश अपांगता भएका बालबालिका विद्यालयबाहिरै छन्।  

कानुन र नीतिमा अपांगता भएका बालबालिकालाई अलग्गै कक्षाकोठामा छुट्याएर राख्नुपर्ने व्यवस्था छ। तर, दुर्गमका विद्यालय अपांगतामैत्री छैनन्। विद्यालयहरूले समावेशी शिक्षा दिनसक्ने गरी शिक्षकको व्यवस्था नहुँदा स्थानीय सरकारले अपांगता भएकाहरूको हकमा घरमै पढाउने, अपांगमैत्री विद्यालय बनाउनेजस्ता कार्य गर्न नसक्दा धेरै बालबालिका विद्यालयबाहिर रहेको शुभकालिका गाउँपालिकाका शिक्षा शाखाप्रमुख नवराज आचार्याले बताए।  

सानै उमेरमा शारीरिक अपांगता भएका तिलागुफा नगरपालिका–८ का शंकर न्यौपानेलाई पनि शिक्षादीक्षा लिन धेरै असहज छ। उनलाई पनि घरमै शिक्षा दिँदै आएको थियो। उनमा शिक्षा हासिल गनुपर्छ भन्ने इच्छा छ। अहिले घरमै बस्नुपर्ने भएको उनले बताए। शारीरिक अपांगता भएका शुभकालिकामा चारजना छन् भने सामान्य अपांगता भएका अन्य धेरै छन्। तिलागुफा नगरपालिकामा तीनजना बालबालिका रहेका छन्।  

पहिला किर्डाक नेपालले होम स्कुलको व्यवस्थापन गरेर पढाउने र लेखाउने गरेपछि धेरै राम्रो हुने गरेको तिलागुफाका स्थानीय धनबहादुर बुढाले बताए। उनले भने, ‘पहिला बालबालिकालाई धेरै सहज भएको थियो। अहिले समस्या थपिएको छ। उनीहरूको अवस्था दयनीय रहेको छ।’ उनका अनुसार ती बालबालिकालाई पढाउँदै आएको किर्डाक नेपालको कार्यक्रम सकिएपछि स्थानीय तहले घरमै अध्ययन गर्न चासो नदिँदा समस्या थपिएको छ।  

प्रायःजसो अपांगता भएकाहरूलाई फरक नजरले हेर्ने गरेको कारण पनि आफूहरूलाई विद्यालयमा गएर पढ्न समस्या थपिएको शुभकालिकाकी राधिका घर्तीले बताइन्। उनले भनिन्, ‘पढ्ने लेख्ने मन हो, विद्यालय गएपछि धेरैले फरक दृष्टिले हेर्ने गर्छन्, आफूलाई धेरै मानसिक तनाव हुन्छ।’ अपांगता भएका बालबालिकाको सिकाइ विधि नै फरक हुन्छ। नेत्रहीन, बहिरा व्यक्ति, सुस्त श्रवण भएका, बोलाइसम्बन्धी अपांगता भएका व्यक्तिको सिकाइ फरक हुन्छ, स्थानीय केशवराज देवकोटाले बताए। उनले भने, ‘यस्तो सिकाइको व्यवस्था विद्यालयमा नहुँदा बालबालिका बाहिर बस्न बाध्य छन्। अपांगता भएका बालबालिकाको हकमा स्थानीय तहले चासो लिनुपर्ने जानकारहरूले बताउने गरेका छन्।

राष्ट्रिय शिक्षा नीति २०७६ मा सबै प्रकारको अपांगता भएका व्यक्तिका लागि गुणस्तरीय शिक्षाको पहुँचको सुनिश्चितता गरी शिक्षाको माध्यमबाट मर्यादित जीवनयापन गर्न सक्षम र प्रतिस्पर्धी नागरिक तयार गर्ने विषय उल्लेख गरिएको छ। अपांगता भएका बालबालिका स्तरयुक्त र समावेशी शिक्षा प्राप्त गर्नमा गम्भीर व्यवधान बेहोरिरहेका छन्।  

बोली र शारीरिक अवस्थासमेतमा अपांगता भएका धेरै बालबालिका अहिले परिवारको संरक्षणमा छन्। कालिकोटको खाँडाचक्र नगरपालिका–२ का तीनजना शारीरिक तथा मानसिक रूपमा अपांगता भएका बालबालिकाको अवस्था अहिले जटिल बन्दै गएको छ। घरमा बुवाआमाको मृत्यृपछि उनीहरूलाई हेरचाह गर्ने आफन्त नहुँदा समस्या देखा परेको हो। अहिले उनीहरूको शरीरमा लगाउने कपडासमेत छैन। 

प्रकाशित: १४ चैत्र २०८० ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App