अध्ययनका लागि युरोप जाने क्रम पछिल्लो समय तीव्र गतिमा बढ्दै गरेको देखिन्छ। अमेरिका, क्यानडा र अस्ट्रेलियामा विदेशी विद्यार्थीका लागि नीति परिवर्तन हुँदा पनि पछिल्लो केही वर्षयता युरोपियन मुलुक आकर्षक गन्तव्य बनेका हुन्। उमेर, सम्पत्ति विवरणको प्रमाणीकरण, जीपीए नम्बर, पढाइको ग्याप लगायत विषयमा युरोपका विश्वविद्यालयहरू केही लिबरल बन्ने भएकाले पनि नेपाली विद्यार्थीहरूका लागि युरोपियन देशहरू भरपर्दो गन्तव्य बन्न थालेका हुन्। पछिल्लो केही समययता भने क्यानडामा भिसा रिजेक्सन तथा अस्ट्रेलियामा सम्पत्ति विवरणको जटिल प्रक्रिया भइरहँदा युरोपका विश्वविद्यालयलाई नेपाली विद्यार्थीहरूले आफ्नो गन्तव्य बनाउँदै छन्।
कसरी जाने युरोप ?
ब्याचलर्स वा प्लस टुको पढाइ सम्पन्न गरिसकेपछि युरोपमा अध्ययनका लागि जान सकिन्छ। कलेजमा एप्लाइ गरिरहँदा आईईएलटीएस भने गरिसक्नु पर्ने हुन्छ। नेपाली कलेजको पढाइ, आईईएलटीएसको स्कोर र कार्य अनुभवसहित आफूले पढ्न चाहेको कलेजमा एप्लाइ गर्न सकिन्छ। सम्बन्धित कलेजले सम्पूर्ण डकुमेन्ट रिभ्यु गरिसकेपछि अफर लेटर पठाउनेछ।
यसबिचमा कलेजमा शुल्क पठाउनुपर्ने हुन्छ। त्यसपछि भने अफर लेटरसहित काठमाडौँस्थित एम्बेसीमा भिसा एप्लाइ गर्नुपर्ने हुन्छ। तुलनात्मक रूपमा अध्ययनका लागि युरोपका कलेजमा ट्युसन फि तथा अन्य शुल्क सस्तो नै हुने गर्छ।
कतिपय देशमा त पढाइ निःशुल्क नै हुन्छ। युरोप गइसकेपछि विदेशी विद्यार्थीले हप्तामा २० घण्टासम्म काम गर्न सक्छन्। यसबाहेक अमेरिका, क्यानडा र अस्ट्रेलियाको तुलनामा युरोप बसाइ कम खर्चिलो मानिन्छ।
कतिपय देश र पढाइको प्रकृति अनुसार भने सम्बन्धित देशको भाषा जानेको खण्डमा आईईएलटीएस आवश्यक पर्दैन। यसका अलावा सम्बन्धित देश र कलेजका मापदण्ड केही फरक हुन सक्छन्। आधारभूत रूपमा युरोपका अधिकांश देशमा लगभग उस्तै प्रक्रिया हुन्छ।
कुन–कुन देशमा उपयुक्त?
डेनमार्क, नेदरल्यान्ड्स, स्विडेन, नर्वे, फिनल्यान्ड, जर्मनी लगायतका देश युरोपका समृद्ध मुलुकमा पर्छन्। ती देशका कलेजले पछिल्लो समय नेपाली विद्यार्थीलाई पनि सजिलै स्वागत गरिरहेका छन्। पढाइ र त्यसपछिको सेटलमेन्ट सहज प्रक्रिया हुँदा यी देशमा नेपाली विद्यार्थीहरू धेरै जान थालेका हुन्। साथै खर्च, उमेर, जीपीए पनि मध्यम हुने भएकाले यी देश नेपाली विद्यार्थीहरूको पहिलो रोजाइ हुन थालेका छन्।
उदाहरणका लागि डेनमार्कको कुनै पनि कलेजले अफर लेटर पठाएको खण्डमा भिसा सम्भावना पक्का हुन्छ। र डिपेन्डेन्टलाई सुरुमै विना खर्च लैजान सकिन्छ।
युरोप नै किन?
विदेश पढ्न जानुअघि बारम्बार सोधिने र जान्न चाहने कुरा भनेको जिपिए एक्सेप्टेन्स, आईईएलटीएस एक्सेप्टेन्स, खर्च, उमेर, पढाइको ग्याप र डिपेन्डेन्ट नै प्रमुख हुन्। तर यी सबै कुरामा अमेरिका, क्यानडा र अस्ट्रेलियाको तुलनामा युरोप धेरै उदार रहँदै आएको छ। नेपालको कलेजमा तपाईँको रिजल्ट मध्यम छ र उमेर बढी भइसकेको छ वा फेल हुँदै पढाइमा ग्याप देखिएको छ भने पनि युरोपका कलेजहरूले कडा रूपमा त्यसैलाई नै रिजेक्सनको कारण बनाउँदैनन्। अर्थात् यस्तो अवस्थामा पनि तपाईँले भर्ना पाउन सक्ने सम्भावना हुन्छ।
जबकि अमेरिका, अस्ट्रेलिया र क्यानडामा तपाईँले ४० लाखभन्दा धेरै सम्पत्ति विवरणको कर बुझाएको हुनुपर्ने, फेल भएको हुन नहुने, ३० वर्ष नाघेको हुन नहुने, रिजल्ट राम्रो हुनुपर्ने जस्ता कुरालाई महत्वका साथ हेरिन्छ। क्यानडाको हकमा त पछिल्लो केही महिनायता ठुलो सङ्ख्यामा विद्यार्थीहरूले कलेजमा भर्ना गरिसक्दा पनि एम्बेसीले भिसा नदिएका उदाहरण थुप्रै छन्।
यस्तै युरोपका डेनमार्कसहितका कतिपय देशमा त सम्पत्ति विवरणको डकुमेन्ट नै देखाउन नपर्ने प्रावधान पनि छ। यसले गर्दा पनि मध्यम आय भएका नेपाली विद्यार्थीहरू आम्दानीको स्रोत देखाउने झन्झटबाट मुक्त हुन्छन्।
यस्तै पढाइपछिको सेटलमेन्टका दृष्टिले पनि युरोप सहज मानिन्छ। तपाईँले पढाइ सकेपछि उक्त देशमा कम्तीमा एक वर्ष स्वतन्त्र रूपमा काम गर्न पाउनुहुन्छ। त्यसबिचमा स्थायी बसोबासका लागि आवेदन दिन सक्नुहुनेछ। र यो सुविधा युरोपको कुनै एक देश मात्र नभएर सबै २७ वटै देशमा जहाँ पनि गएर सेटल हुन सकिन्छ।
खर्चको रूपमा पनि सस्तो। काम पाउन सहज। शान्त सहरहरू। हिंसात्मक गतिविधिहरू देख्नु नपर्ने। उच्च मानवअधिकारको उपभोग लगायत सुविधाले नै युरोपलाई आकर्षक गन्तव्य बनाउँदै छन्।
युरोप आफैँमा विविधताले भरिएको ठाउँ हो। मुलुक अनुसार फरक–फरक भाषा र संस्कृति छन्। त्यसैले युरोपका धेरैजसो देशमा अङ्ग्रेजी मातृ भाषा छैनन्। कतिपय विश्वविद्यालयले स्नातकोत्तर पढ्ने विद्यार्थीलाई नेपालमा अङ्ग्रेजी माध्यममा पढेको प्रमाण पेस गरेकै आधारमा भर्ना दिन्छन्।
धेरैजसोमा भने अङ्ग्रेजी परीक्षण आइईएलटिएस वा पिटिएमा तोकिएको न्यूनतम अङ्क ल्याएको प्रमाण पेस गरेपछि मात्र आवेदन गर्न सकिन्छ।
क्यानडा, युके, अमेरिका वा अस्ट्रेलियामा जस्तो अध्ययन सकिएपछिको ग्याप (अन्तराल) ले युरोप अध्ययन गर्न जाँदा खासै फरक पर्दैन। अझ आफ्नो कामको अनुभव पेस गर्दा विश्वविद्यालयबाट अफर लेटर आउने सम्भावना रहन्छ।
युरोपका इटली, जर्मनी लगायतका पब्लिक युनिभर्सिटीमा भर्ना पाएमा विद्यार्थीले ट्युसन फि नै तिर्नु पर्दैन। केही समय अघिसम्म नर्वे, फिनल्यान्ड लगायतका मुलुकमा पनि यस्तै सुविधा थियो। तर नर्वेमा अचेल फ्रि एजुकेसनको व्यवस्था छैन।
युरोपियन मुलुकहरूका शैक्षिक संस्थालाई व्यापार भन्दा पनि ज्ञानको केन्द्रको रूपमा कायम राख्न त्यहाँका सरकारहरूले विभिन्न नीति अवलम्बन गरेका हुन्छन्। यसर्थ जेहेन्दार नेपाली विद्यार्थीलाई कम खर्चमै अध्ययन गर्न युरोपमा प्रशस्त विकल्प छन्।
(लेखक विगत २ दशकदेखि शैक्षिक परामर्शदाताको रूपमा सक्रिय छन्। साथै उनी आउट स्टडी अब्रोड स्टडीका प्रबन्ध निर्देशक पनि हुन्।)
प्रकाशित: २९ माघ २०८० ११:५४ सोमबार