१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

रोङ गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’

इलामको रोङ गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको बैंक खातामा दैनिक एक रुपैयाँ बचत अभियान सञ्चालन गरेको छ। गाउँपालिकामा ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’ अन्तर्गत अनिवार्य बैंक खाता खोलेर बचत गर्न थालिएको हो।

यसका लागि ‘विद्यालयमा आधारित उद्यमशिलता कार्यक्रमको कार्यविधि २०८०’ तयार गरेर विद्यार्थीले अनिवार्य रुपमा बैंकमा खाता खोल्नुपर्ने प्रावधान ल्याइएको छ। पालिकाभित्रका विद्यार्थीले बैंक खाता खोलिसकेको बताइएको छ।

विद्यार्थीलाई बचत गर्ने बानी विकास गर्न सो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए। उनका अनुसार हाल कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थी सो कार्यक्रममा सहभागी भएका छन्।

गाउँपालिकाले प्राइम कमर्सियल बैंकसँग सम्झौता गरेर काम अगाडि बढाएको हो। विद्यार्थीको सम्पूर्ण विवरण संकलन गरेर बैंक खाता विद्यालयबाट नै खोलिएको जनाइएको छ। माछा मारेर खुवाउनुभन्दा माछा मार्न सिकाउनु ठूलो कुरा रहेको गाउँपालिका अध्यक्ष स्याङ्बोको भनाइ छ। उनले भने, ‘सानो उमेरदेखि नै बचत गर्ने बानी विकास गराउन कार्यक्रम ल्याइएको हो। उसबाट बचतको संस्कार एवं वित्तीय साक्षरताको समेत विकास हुनेछ।’  

विद्यार्थीको हाजिरी हेरेर उपस्थित भएको दिनको मात्र रकम जम्मा गरिने गाउँपालिकाले जनाएको छ। यसले विद्यार्थीलाई विद्यालयमा उपस्थित हुनसमेत हौसला मिल्ने अपेक्षा लिइएको छ। यसमा विद्यार्थीले समेत बचत गर्नुपर्ने व्यवस्था छ।

यसमा विद्यार्थीको तर्फबाट समेत दैनिक एक वा सोभन्दा बढी रकम बचत गर्ने व्यवस्था मिलाइएको छ। बचत पासबुकमार्फत रकम जम्मा गरिने प्रावधान मिलाइएको छ। दैनिक रुपमा बचत गर्न चाहे पनि व्यवस्था मिलाइएको र मासिक बचत एकैपटक गर्न चाहे सोको व्यवस्थासमेत मिलाइएको छ।  

कार्यक्रमबाट विद्यार्थीमा बचत गर्ने बानीको विकाससँगै बचत भएको पैसाले उच्च शिक्षामा समेत सहज हुने अपेक्षा गरिएको छ। कार्यक्रमका लागि प्राइम कमर्सियल बैंकले समेत दुई लाख ५० हजार रुपैयाँ बढी सहयोग गरेकोे छ।

प्रत्येक विद्यार्थीको खाता खोल्दा बैंक खातामा एक सय रुपैयाँका दरले जम्मा गर्ने गरी गाउँपालिकासँग सम्झौता भएको छ। पालिकाभित्र ३० सामुदायिक विद्यालय छन्। कार्यक्रममा दुई हजार पाँच सय विद्यार्थी सहभागी भएको बताइएको छ। –रासस

प्रकाशित: २६ पुस २०८० ०३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App