१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
शिक्षा

जाजरकाेट भूकम्प: ‘विद्यालय त खण्डहर छ, कहाँ बसेर पढ्नु?’

भूकम्पले क्षतिग्रस्त भेरी नगरपालिका–१, रिम्नाघाटस्थित भेरी त्रिवेणी मावि भवन। तस्बिर: अर्जुन/नागरिक

भूकम्पले विद्यालय भवन भत्केर ‘खण्डहर’ भएका छन्। केही बचेका भवन पनि चर्केर भित्र पस्न नसकिने अवस्थामा छन्। दसैं र तिहारको लामो बिदापछि विद्यालय खुल्ने दिन आइपुग्दा भेरी त्रिवेणी माध्यमिक विद्यालय रिम्नाघाटमा कक्षा १० मा पढ्ने पुष्पकमल रानामगर अन्योलमा परेका छन्।

पूर्वनिर्धारित समयअनुसार दसैं-तिहारको बिदापछि विद्यालय मंसिर ४ देखि खुल्नुपर्छ। तर बिदाको बीचमै भूकम्प आएर विद्यालय भवनमा क्षति पुर्‍याएका कारण उनी अन्योलमा परेका छन्।

भूकम्पपछि विस्थापित जीवन बिताइरहेका उनलाई अहिले पढाइको चिन्ता छ। ‘भूकम्पले हाम्रा विद्यालय भवन भत्केका छन्, अहिलेसम्म त दसैं–तिहार बिदाले बन्द थिए। अब कसरी विद्य पढाइ हुने हो? केही थाहा छैन,’ उनले भने।

भूकम्पले क्षति पुर्‍याएको आफ्नो घरबाट किताब–कापी निकाल्न भने उनी सफल भए। तर क्षतिग्रस्त विद्यालय भवन हेर्दा तत्काल पढाइ हुन सक्ने अवस्था नरहेको उनी बताउँछन्।

पुनर्निर्माण नहुँदासम्म वैकल्पिक तरिका अपनाएर भए पनि पढाइ सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ। ‘सरकारले हाम्रा घर र विद्यालय भवन चाँडोभन्दा चाँडो बनाइदिनुपर्‍यो,’ उनले भने, ‘हिउँदको समय भएकाले बाहिर चौरमा बसेर पनि पढ्न सकिन्छ।’

भूकम्पले क्षति पुर्‍याएका अधिकांश भवन र विद्यार्थीको अवस्था यस्तै छ। विद्यालय खुल्दै गर्दा भूकम्प प्रभावित जिल्लाका अधिकांश विद्यार्थीलाई अब कहाँ बसेर पढ्ने भन्ने चिन्ता छ। भेरी नगरपालिका–१ मा पर्ने उक्त विद्यालयका भौतिक संरचनामा भूकम्पबाट धेरै क्षति पुगेको छ। सहायक प्रधानाध्यापक निर्मलाकुमारी पुनका अनुसार पाँचवटा भवनमध्ये दुईवटामा पुरै क्षति पुगेको छ।

‘एउटा भवनका तीनवटा कक्षाकोठा ध्वस्त भएका छन्, अर्र्काे भवनको एकातिरको पर्खाल पूरै भत्किएको छ,’ उनले भनिन्, ‘तीनवटा पक्की भवनमध्ये एउटा भवन चर्केको छ।’

भूकम्पले शौचालयमा पनि क्षति गरेको छ। यस्तै ल्याब र कम्प्युटरमा पनि भूकम्पले क्षति गरेको सहायक प्रअ निर्मलाले बताइन्। उनका अनुसार विद्यालयमा कुल ४१५ विद्यार्थी भर्ना भएकोमा भूकम्पमा परी तीनजनाको मृत्यु भएको छ।

‘भूकम्पबाट धेरै विद्यार्थी प्रभावित भएका छन्, कतिपय विद्यार्थी उपचारपछि घर फर्केका छन्। कतिको अहिले पनि उपचार चलिरहेको छ,’ उनले भनिन्, ‘धेरैजसो विद्यार्थीका पाठ्यपुस्तक घरभित्रै पुरिएका छन्, घरमा पुरै क्षति भएकाले विस्थापित भएका छन्।’

भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले आफ्नो वडामा रहेका सातवटा विद्यालयका झन्डै तीन दर्जन भवन क्षतिग्रस्त रहेको बताए। ‘सबै विद्यालयका भवन पक्की थिएनन्, जुन ढुंगा र माटाले बनेका भवन थिए, ती सबैमा क्षति भएको छ,’ उनले भने, ‘पक्की भवनमा आंशिक क्षति भएको छ।’

दसैं–तिहारको बिदापछि खुल्ने तयारीमा रहेका विद्यालयमा वैकल्पिक व्यवस्था गरेर पठनपाठन सञ्चालन गर्ने सोच बनाएको रानाले बताए। भूकम्पले जाजरकोट र रुकुम पश्चिमका विद्यालयका भौतिक संरचनामा ठुलो क्षति पुर्‍याएको छ।

जाजरकोटका सातवटै स्थानीय तहमा भूकम्पले ठुलो क्षति गरेको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय जाजरकोटले जनाएको छ।

एकाइ प्रमुख रमेश मल्लका अनुसार भूकम्पबाट जिल्लाभरि २९३ वटा विद्यालय भवनमा पूर्ण र ४०८ वटा भवनमा आंशिक रूपमा क्षति पुगेको छ। ‘भूकम्पका कारण जिल्लाका सातवटै पालिकामा रहेका विद्यालय भवनमा क्षति पुगेको छ,’ उनले भने, ‘अधिकांश भवन चर्केका छन्, चर्केका भवनभित्र विद्यार्थी राखेर पढाउने अवस्था नै छैन।’ भूकम्पबाट जिल्लामा २१ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको एकाइ प्रमुख मल्लले बताए।

दसैं–तिहार बिदामा बन्द विद्यालय खुलाउने विषयमा शनिबार जिल्लामा सरोकारवालाबीच बैठक बसेर छलफल गरिएको उनले बताए।

‘भौतिक संरचनामा क्षति पुगेका विद्यालयको पठनपाठन वैकल्पिक माध्यमबाट भए पनि सञ्चालन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘जिल्लाका सबै विद्यालयको पठनपाठन पूर्वनिर्धारित समयअनुसार नै सोमबारबाट सञ्चालन गर्ने निर्णय भएको छ।’

भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटस्थित बारेकोट गाउँपालिकाले अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सञ्चालन गर्ने तयारी गरेको छ।

गाउँपालिकाका शिक्षा अधिकृत रामबहादुर मल्लले भूकम्पले क्षति गरेका भवन तत्काल पुनर्निर्माण हुन सम्भव नभएकाले अस्थायी सिकाइ केन्द्र स्थापना गर्न लागिएको बताए।

 उक्त गाउँपालिकामा समुदायमा आधारित बाल विकास केन्द्रसहित कुल ५३ वटा विद्यालय छन्। भूकम्पले विद्यालयका ६३ वटा कक्षमा पूर्ण र ३१ वटामा आंशिक क्षति पुगेको शिक्षा अधिकृत मल्लले सुनाए। 

प्रकाशित: ३ मंसिर २०८० ०५:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App