२० वैशाख २०८१ बिहीबार
image/svg+xml
शिक्षा

हिसान सदस्य स्कुलमा ५० प्रतिशत भर्ना छुट

फाइल तस्वीर

जिल्लाका हिसानआबद्ध स्कुलले कक्षा ११ मा भर्ना गर्दा विद्यार्थीलाई शुल्कमा ५० प्रतिशत छुट दिने भएका छन्। प्याब्सन र एनप्याब्सनआबद्ध स्कुलहरूबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई छुट दिने भएका हुन्। यसका लागि हिसान र प्याब्सन तथा हिसान र एन प्याब्सन भक्तपुरबीच छुट्टाछुट्टै कार्यक्रम गरी सम्झदारीपत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा एन प्याब्सन जिल्ला अध्यक्ष सञ्जय खड्का र हिसान जिल्ला अध्यक्ष अनिल कसपाल तथा प्याब्सनका अध्यक्ष सुरेन्द्र श्रेष्ठ र हिसानका अध्यक्ष अनिल कसपाले हस्ताक्षर गरेका हुन्।

सम्झौतामा अन्य थप तीन बुँदा गरी कुल चार बुँदाहरू छन्। सम्झौतामा प्याब्सन सदस्य विद्यालयको प्रिन्सिपलको सिफारिस, विद्यार्थीको प्राप्त ग्रेड, प्रवेश परीक्षाको नतिजाको आधारमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई हिसान सदस्य विद्यालय कलेजहरूले आवश्यक थप छुट सहुलियत पनि दिने सम्झौता भएको छ। साथै दुई संस्थाले अध्ययनरत विद्यार्थीको व्यक्तित्व विकास, अध्यापन शिक्षकहरूको सिप अभिवृद्धि तथा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि हुने शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै जाने सहकार्यमा पनि सम्झौता भएको छ। साथै भक्तपुरका विद्यार्थीलाई भक्तपुरमा नै कक्षा ११ र १२ पढ्ने वातावरण बनाउन निर्माण गर्न तथा उच्च शिक्षा अध्ययनका लागि संयुक्त रूपमा कार्यक्रम गर्दै जाने सम्झौता भएको छ।

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा हिसान भक्तपुरका अध्यक्ष अनिल कसपालले भक्तपुरका विद्यार्थीलाई भक्तपुरमै अध्ययनको वातावरण बनाउन प्याब्सन, एनप्याब्सनबाहेक जिल्लाको संगठनहरूसँगै पनि यही प्रकारको सम्झौता गरी अगाडि बढ्ने जानकारी गराए।

जिल्लामा १२ वटा हिसान सदस्य रहेको कक्षा ११ र १२ आबद्ध स्कुलहरू छन्। यसबाहेक भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि देकोचा भक्तपुर तथा सरकारी स्तरमा सञ्चालित ११ र १२ अध्ययन हुने विभिन्न स्कुल छन्। जिल्लामा कुल ६ हजार विद्यार्थी एसइईमा सहभागी भएका थिए। तीमध्ये दुई हजार सात सय विद्यार्थी उत्तीर्ण भएका छन्। उत्तीर्ण विद्यार्थीमध्ये आधाभन्दा बढी विद्यार्थी भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि देकोचा भक्तपुरमा भर्ना गर्दै आएका छन्। ख्वपमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँचवटा संकायमा अध्यापन हुँदै आएको छ।

प्रकाशित: २४ असार २०८० ०१:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App