१६ चैत्र २०८० शुक्रबार
शिक्षा

मेयर हमालले १० लाखको शैक्षिक सामग्री विपन्न विद्यार्थीलाई वितरण गर्ने

फाईल तस्बिर

धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागी आफ्नो पारिश्रमिक रकमबाट बिपन्न विद्यार्थीलाई १० लाख बराबरको शैक्षिक सामग्री दिने घोषणा गरेका छन। कक्षा ८ को परीक्षामा धनगढी उपमहानगरपालिकाका १७ सामुदायिक विद्यालयको नतिजा शून्य आएको थियो। उक्त १७ सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार गर्ने बिषयमा शुक्रवार प्रधानाध्यापक, शिक्षक विद्यालय व्यवस्थापनका अध्यक्षहरू सँग छलफल गरिएको थियो।

छलफलमा सामुदायिक विद्यालयमा प्रायजसो सबै विद्यार्थी आर्थिक अवस्था कमजोर भएका परिवारका रहेकोले शैक्षिक सामग्रीको अभावका कारण समस्या भएको कुरा उठ्यो। विपन्न विद्यार्थीलाई कापी, पुस्तक लगायतका शैक्षिक सामग्रीको अभाव हुदाँ पठनपाठनको समस्या हुने गरेको  र शैक्षिक स्तर सुधार गर्न चुनौती भएको कुरा सुनेपछि कार्यक्रममा सहभागी मेयर हमालले आफूले उपमहानगरपालिका बाट पाउने एक वर्षको पारिश्रमिक र त्यसमा थप गरेर १० लाख बरावरको शैक्षिक सामग्री विद्यालयलाई दिने घोषणा गरेका हुन।

बिद्यार्थीहरुले शैक्षिक सामग्री नै नपाएर विद्यालयको नतिजा कमजोर आएको भनेर प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले भनेकाले मैले आफ्नो पारिश्रमिकबाट १० लाख बराबरको शैक्षिक सामग्री सहयोग गर्ने भनेको हुँ’मेयर हमालले भने,‘भोलि बाट नै शैक्षिक सामग्री वितरण गर्न सुरु गरिने छ’। पुस्तक, कापी, कलम, डट्पेन लगायतका शैक्षिक सामग्री खरिद गरेर विद्यालयलाई उपलब्ध गराउने उनले बताए।

मेयर हमालले विपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराउन पारिश्रमिकबाट १० लाख सहयोग गर्ने घोषणा गरेपछि अभिभावक खुसी भएका छन। मेयर हमालले सहयोग गर्ने घोषणा गरेपछि सामाजिक सन्जालमा स्थानीय र अभिभावकले प्रशंसा गरेका छन। हमालले मेयर निर्वाचित भएदेखि उपमहानगरपालिकाबाट पाउने पारिश्रमिक, सेवा , सुविधा लिएका छैनन्। मेयले चढ्ने गाडी वडा क्लिनका लागी प्रयोग गरिएको छ भने हमालले निजी गाडी प्रयोग गर्दै आएका छन।

विद्यार्थीहरूलाई विद्यालयमा टिकाउने र राम्रो नतिजा ल्याउन सबै पक्षले लाग्नुपर्ने उल्लेख गर्दै शैक्षिक सामग्रीको अभावमा पठनपाठन कमजोर हुन नदिन उपमहानगरले सबै किसिमका सहयोग गर्ने उनले बताए। ‘शैक्षिक गुणस्तर सुधार गर्न उपमहानगरले आगामी आर्थिक वर्षमा ठोस योजना र कार्यक्रम ल्याउने छ’उनले भने।

प्रकाशित: २२ वैशाख २०८० १५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App