५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

भावी सरकारको ‘रोडम्याप’ कोर्दै रास्वपाका ‘हाई कमान्ड’

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनको प्रक्रिया र भावी कार्ययोजनालाई तीव्रता दिएको छ।

२७५ सदस्यीय संसद्‌मा १८२ सिटसहित झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको रास्वपाको ‘हाई कमान्ड’ यतिबेला भावी सरकारको ‘रोडम्याप’ र मन्त्रिपरिषद्लाई अन्तिम रूप दिन निर्णायक छलफलमा जुटेको छ।

बिहीबार पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता तथा भावी प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उपसभापतिद्वय डोलप्रसाद (डिपी) अर्याल तथा डा. स्वर्णिम वाग्लेबीच निर्णायक छलफल भइरहेको छ।

भर्खरै आफ्ना सांसदहरूलाई दुई दिने अभिमुखीकरण तालिम दिएको रास्वपाले सरकार सञ्चालनको स्पष्ट खाका कोर्ने तयारी गरेको हो।

चुनावअघि नै वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका रूपमा अघि सारेर अभूतपूर्व सफलता हासिल गरेको रास्वपाले मन्त्रिपरिषद् गठनमा पनि उनकै निर्णयलाई अन्तिम मान्ने समझदारी गरेको छ।

छलफलमा नेता शाहले आफ्नो मन्त्रिपरिषद्‌मा रहने सदस्यहरू आफैंले छान्न पाउनुपर्ने अडान राखेका छन् भने पार्टी संगठन र सञ्चालनमा सभापति लामिछानेलाई पूर्ण जिम्मेवारी छाडिदिने समझदारी भएको छ।

पहिलो चरणमा बढीमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने र विषय विज्ञलाई मात्र मन्त्री बनाउने रास्वपाको तयारी छ। संसद्‌मा धेरैजसो विषय विज्ञ नै निर्वाचित भएर आएकाले एउटै मन्त्रालयमा पाँच जनासम्मको दाबी परेको छ।

यद्यपि, सरकारको कोर टिमका रूपमा उपसभापति डिपी अर्याललाई गृह मन्त्रालय र डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने लगभग टुंगो लागिसकेको रास्वपाका एक नेताले जानकारी दिए।

संविधानको धारा ७६ (१) बमोजिम रास्वपाले अब आफ्नै नेतृत्वमा एकल बहुमतको सरकार बनाउनेछ। यसका लागि रास्वपाले बालेन शाहलाई संसदीय दलको नेता चयन गर्नुपर्नेछ। दलको नेता चयनलगत्तै राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्नेछन्।

संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीका अनुसार धारा ७६ (१) अन्तर्गत बनेको बहुमत प्राप्त दलको सरकारले संसद्‌मा विश्वासको मत लिइराख्नु पर्ने बाध्यकारी व्यवस्था छैन।

‘राष्ट्रपतिले निर्वाचन परिणाम प्राप्त गरेपछि बहुमत प्राप्त दलसँग दलको नेताको नाम माग्नुपर्छ र सोही आधारमा प्रधानमन्त्री नियुक्त गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो संविधानले बहुमत प्राप्त दलको नेताले विश्वासको मत लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छैन।’

यद्यपि, प्रधानमन्त्रीले चाहेमा जुनसुकै बेला विश्वासको मत लिन भने सक्छन्।

यसअघि बिहीबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरूले शितल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको अन्तिम प्रतिवेदन बुझाएका थिए।

प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले कठिन र जटिल परिस्थितिमा पनि स्वतन्त्र र भयरहित रूपमा निर्वाचन सम्पन्न गराएको भन्दै आयोग र सम्बद्ध सबै पक्षलाई धन्यवाद दिएका थिए।

आयोगले प्रतिवेदन बुझाएसँगै संसद् सचिवालयले चैत १२ गते बिहान ११:३० बजे नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण समारोह तय गरेको छ।

निर्वाचन आयोगका अनुसार ७८ वर्षीय अर्जुननरसिंह केसी संसद्‌कै सबैभन्दा ज्येष्ठ सदस्य रहेका छन्। सुरुमा उनले राष्ट्रपतिबाट शपथ लिनेछन् र त्यसपछि अन्य सांसदहरूलाई शपथ गराउनेछन्।

शपथलगत्तै रास्वपाले दलको बैठक राखेर बालेनलाई संसदीय दलको नेता चयन गर्नेछ।

लगत्तै सरकार गठनको प्रक्रिया पूरा गरी चैत १६ गते संघीय संसद्को पहिलो अधिवेशन आह्वान गर्ने अनौपचारिक तयारी राष्ट्रपति कार्यालयले गरिसकेको छ।

 

यो पनि पढ्नुहोस्

मन्त्रीको नाम टुंगो लगाउन शुक्रबार रास्वपाको निर्णायक बैठक

 

प्रकाशित: ५ चैत्र २०८२ १९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App